वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठको प्रश्नः न्यायाधीशले घूस खान्छन् हामी खुवाउँछौं भन्नेलाई अवहेलना नलाग्ने ?

काठमाडौं, २२ वैशाख । वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले न्यायाधीशले घूस खान्छन् र हामी घूस खुवाउँछौं भन्नेलाई अदालतको अवहेलना नलाग्ने भन्दै गम्भीर प्रश्न उठाएका छन् । आइतबार समाचार लेखेवापत् अदालतको अवहेलनाको मुद्दा लागेका नेपाली पेनका प्रधानसम्पादक डा. दीपेश केसीको पक्षमा बहस गर्दै उनले यस्तो प्रश्न उठाएका हुन् ।
‘सर्वोच्चका न्यायाधीशले घूस खान्छन् हामी घूस खुवाउँछौं भन्नेलाई अदालतको अवहेलना मुद्दा नलाग्ने ? प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको खबर लेखेकै कारण डा. दीपेश केसीलाई अवहेलना मुद्दा लाग्ने ?’ श्रेष्ठले प्रश्न गरे । उनले अदालतको अवहेलनाको विषय गम्भीर भएको भन्दै मुद्दा नियोजित तरिकाले लगाइएको टिप्पणी गरे ।
हामीभित्र समस्याहरु छन् । हामी कस्ता छौं हामीले हामीलाई चिन्नुपर्छ, वरिष्ठ अधिवक्ता श्रेष्ठले बहसमा भने, ‘बाघले नचिनेको बन होइन र बनले नचिनेको बाघ होइन । हामीभित्र पाँचवटा रिपोर्ट छन् जुन रिपोर्टले न्यायाधीश र वकिलहरु विकृतिजन्य कार्यमा छन् भन्ने तथ्य उजागर गरेको छ ।’ अदालतको मान जोगाउन रिपोर्ट नै लुकाइएको भन्दै आफूलाई चिनेर सुधार गर्नुपर्नेमा उल्टै टिप्पणी गर्नेमाथि अवहेलना गर्नु झन् कमजोरी उजागर गर्नु हो भने ।
नेपाली पेनमा प्रकाशित समाचारमा झण्डै दुई वर्ष अघि दायर मुद्दामा केही व्यक्तिहरुको स्वार्थ गाँसिएको बताए । उनले मुद्दा दायर गर्नेहरुमा बदनियतपूर्ण उद्देश्य रहेको समेत तर्क गरे । अदालतले पुरानो मुद्दामा अहिले आएर म्याद बुझ्न लगाउनुलाई खराब नियत भएको उनको भनाई थियो ।
न्यायालभित्रको कमी कमजोरी उजागर गर्नु पत्रकारको कर्तव्य हो भन्दै लेखेकै भरमा अवहेलना लगाइएकोमा प्रश्न गरे । उनले प्रकाशित समाचार हटाउन लगाएर अदालतले संवैधानिक अधिकार खोस्न खोजेको टिप्पणी गरे ।