सानागाउँको जात्राको रौनक

ललितपुर, ३ वैशाख । अहिले सानागाउँ जात्रामा मस्त छ । ललितपुरको सुन्दर ठाउँ सानागाउँ अर्थात् सिद्धिपुरमा हरेक वर्ष चैत्रको मसान्तबाट सुरु भई ५ दिन चल्ने जात्राको छुट्टै विशेषता छ । जात्रा अनिवार्य दुईवटा वर्ष पारेर चैत्रको मसान्त एक दिन पारेर वैशाखको ४ दिन चलाइन्छ ।
सानागाउँको स्थानीय श्री महाकाली महाभैरव बालकुमारी दुवाल गुठीका अध्यक्ष रवीन्द्र नेम्कुलका अनुसार जात्रामा बालकुमारीको विशेष पूजा हुन्छ । गणेश कुमारी र भैरवका अलावा कालीमाईको पनि पूजा गरिन्छ ।
थकालीहरु कहाँ राखिने देवता निकालेर संस्कारसहित विराजमान गराइन्छ । गणेशलाई गणेशको मन्दिरमा र बाँकी भगवानलाई भैरवको मन्दिरमा विराजमान गराइने प्रचलन छ ।
मल्लकालबाट सानागाउँको जात्रा चल्दै आएको नेम्कुलले बताए । उनले जात्राको पहिलो दिनमै विभिन्न गुठीबाट बोका, थुमा जस्ता पशुबली दिइने प्रचलन रहेको जानकारी दिए । बलीपछि रातको समयमा समय बजी अर्थात् भोज चल्छ ।
सानागाउँको जात्रामा भैरव मन्दिर अगाडि भूत पन्छाउने पूजाको प्रचलन रहेको नेम्कुलले बताए । निकालिएको देवतालाई खटमा राखेपछि विशेष पूजा चल्छ । त्यसपछि विभिन्न चोकहरुमा लगेर देवतालाई खटमा राखी नचाएर राखिन्छ । जुन चोकमा देवता राखिन्छ त्यहींका बासिन्दाले विशेष तरिकाले जात्रा मनाएर भोज आयोजना गर्ने प्रचलन छ ।
जात्रामा सरकारी पूजा पनि हुन्छ । जनप्रतिनिधिले पूजा लाने प्रचलन छ । ४ वैशाखमा सिन्दुरे जात्रा गरेर देवता भित्राउने गरिन्छ । त्यसको अर्को दिन गहना सफा गरेर सुरक्षित तरिकाले राखिन्छ ।
सानागाउँ सुकुलका लागि प्रशिद्ध ठाउँ पनि हो । बहुसंख्यक ज्यापू समुदायको बसोबास रहेको सानागाउँमा श्रेष्ठलगायत नेवार समुदायको बाहुल्य छ । आधुनिकिकरण जतिसुकै भएपनि सानागाउँका बासिन्दाले स्थानीय जात्रालाई पुरानै शैलीमा निरन्तरता दिइरहेका छन् । यहाँको संस्कार र संस्कृतिमा नयाँ पीढीमा झन् आकर्षण देखिएको छ ।