२ बैशाख २०८२, मंगलबार | April 15, 2025

नववर्षारम्भसम्बन्धि शास्त्रोक्त चिन्तन


4.5k
Shares

-श्याम खनालः वेद र वैदिक सनातन विद्याबाट प्रकट भएका अवधारणाहरू खोज्न नेपाल जानुपर्दछ भनी महर्षि महेश योगी नेपाल आई यहाँका प्रत्येक नेपाली भगवान्का अवतार हुन् भन्ने उद्‌घोष गर्नुभएको थियो । यस्तै अवधारणाहरूमध्ये वैशाख १ गते नववर्ष मनाउने परम्परा पनि एक हो ।

यसै प्रसङ्गमा भारतमा लगभग लुप्त भएको तर पनि त्यहाँ स्थित नेपालीहरूले मनाउँदै आएको नववर्ष आजदेखि प्रारम्भ भएको छ । यो नववर्ष हामी सनातनीहरूले किन मनाउने त भन्ने सिलसिलामा मैले यहाँ केही कुराहरू संक्षिप्त रूपमा राख्ने प्रयास पनि गरेको छु ।

आजकै सौर दिन सृष्टिको आरम्भ भएको थियो । राशिका क्रमले मेष राशि पहिलो राशि भएकाले सूर्य १२ राशि पुरा गरी आजै मेष राशिको आदि बिन्दुमा पुग्दछन् । नक्षत्रका हिसाबले पनि आज सूर्य २७ वटा नक्षत्र पुरा गरी अश्विनी नक्षत्रको आदि बिन्दुमा पुग्दछन् ।

सूर्य आजकै दिन सुमेरुमा उदित हुन्छन् । अर्थात् ९० अंश अक्षांश भएको देवताहरूको देशमा ब्रह्ममुहूर्तकाल केही अगाडिबाट लागेको भए तापनि आजबाट बल्ल सूर्योदय हुन्छ । वातावरणका हिसाबले पनि हामीले आजबाट केही परिवर्तनको अनुभूति पनि गर्ने गर्दछौँ । यो शुद्ध नेपाली सनातन वैदिक परम्परा हो ।

अन्त्यमा सृष्टिको पहिलो दिन निरयणमेषसङ्क्रान्ति, सायनमेषसङ्क्रान्ति, चैत्रशुक्लप्रतिपदा, आइतवारको योग परेको थियो । तर सूर्य र चन्द्रको गति भिन्न भएकाले निरयणमेषसङ्क्रान्ति र चैत्रशुक्लप्रतिपदा हाल भिन्न समयमा पर्ने भएका छन् । पृथ्वीको २४ अंशको ढल्काइको घुमाइका कारणले सायनमेषसङ्क्रान्ति र निरयणमेषसङ्क्रान्ति पनि फरक फरक दिन पर्ने भएका छन् ।

सात-सात दिनको हप्ता भएकाले रविवार र निरयणमेषसङ्क्रान्ति पनि फरक फरक दिन हुने भएका छन् । अधिमास परेपछि निरयणमेषसङ्क्रान्ति र चैत्रशुक्लप्रतिपदा अत्यन्तै नजिक हुन्छन् । मोटामोटी सात वर्षमा रविवार कै दिन निरयणमेषसङ्क्रान्ति पर्न सक्दछ । तर सायनमेषसङ्क्रान्ति र निरयणमेषसङ्क्रान्ति एकैदिन पर्न लगभग १८०० वर्ष कुर्न पर्दछ भनी हाम्रा शास्त्रकारहरूले बताएका छन् ।

यति ठूलो ब्रह्माण्डभित्र रहेका सूर्यादि ग्रहहरूको गनाइका लागि एउटा स्थिरबिन्दुको कल्पना हाम्रा आचार्यहरूले गरेका छन् । यही स्थिरबिन्दु नै वैशाख १ अर्थात् निरयणमेषसङ्क्रान्ति हो । श्रद्धासाथ, मनमा इर्ष्या नलिकन, ठूल्याइँ छोडेर पढ्नेले सजिलै यी कुराहरू बुझ्न सक्दछ । नभए जतिसुकै वैयाकरण या वैदिकलाई पनि यी कुराहरूले तिरिमिरि झ्याइँ पार्दछ ।

अन्त्यमा नेपाली वैदिक सनातन परम्पराबाट मानिँदै आएको नववर्ष २०८२ सालको सबै गन्यमान्य अग्रजहरू, समकालिक मित्रहरू एवम् अनुजहरूमा हार्दिक मङ्गलमय शुभकामना टक्र्याउँछु ।

प्रतिक्रिया