मोदीको छिमेकमा चासो

डा. दीपेश केसीः डोनाल्ड ट्रम्पको आक्रामक कदमले विश्व राजनीति अनेपेक्षित तरंगित छ । ट्रम्प कहिले परम्परागत प्रतिष्पर्धी रुससँग निकटता बढाएर परम्परागत मित्रशक्ति पश्चिम यूरोपसँग टकराव बढाइरहेछन् त कहिले भारत र चीन जस्ता देशको उत्पादनमाथि कर बढाइरहेका छन् । एशियाको शेयर बजारमा झड्का पर्नेगरी ट्रम्पको पछिल्लो कदमले विश्व अर्थतन्त्रमा ठूलो असर परिरहेको छ । क्यानडाप्रति ट्रम्पको कडा नीति होस् या ग्रीनल्यान्डलाई अमेरिकाको बनाउने रणनीति नै किन नहोस् यसको असर विश्व राजनीतिमा परिरहेको छ । योसँगै विश्वका शक्तिशाली देशहरु छिमेकसँगको सम्बन्धमा बढी चासो दिन वाध्य भएका छन् ।
बेलायत र फ्रान्स जस्ता देश पनि छिमेक सम्बन्धमा बढी रुमल्लिन वाध्य भएका छन् अहिले । यूरोपेली युनीयनको सैन्य शक्ति वृद्धिका लागि ८०० अर्ब डलर लगानीको विषय गर्मागर्मी छ यूरोपमा । बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्पेन जस्ता देशहरु यूरोपको भविष्य सुरक्षित गर्न भन्दै सैन्य क्षेत्रमा बढी लगानीमा केन्द्रित हुन पुगेका छन् । यूरोपका शक्तिशाली देशहरु यूरापमै ध्यान केन्द्रित गर्न वाध्य भएका छन् । जसका कारण फ्रान्सले अफ्रिकामा प्रभाव गुमाउँदै गएको छ । यतिसम्मकी चीन पनि क्षेत्रीय राजनीतिमा बढी केन्द्रित हुन वाध्य हुन थालेको छ । भारतलाई त झन् दक्षिण एशियामा बढी केन्द्रित भइसक्यो ।
डोनाल्ड ट्रम्प र मोदीबीचको भेटपछि वासिङ्टनमा संयुक्त पत्रकार सम्मेलन हुँदा बँगलादेशको समस्याबारे सोध्दा ट्रम्पले मोदीतर्फ देखाइदिएका थिए । अमेरिकाले पनि क्षेत्रीय शक्तिसँगै समन्वय गरेर विश्व राजनीतिमा आफ्नो प्रभाव बढाउने रणनीति बनाएको देखिइसकेको छ । त्यसैले युक्रेन युद्ध अन्तमा पनि ट्रम्पले रुसलाई नै बढी सक्रिय बनाउनेगरी कदम चालेका छन् । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई पत्रकार सम्मेलन गरेरै झपारेर मूर्ख सम्म भने । यी सबै घटनाका पछाडि ट्रम्को आक्रामक नीतिले भूमिका खेलेका छन् ।
थाइल्यान्डको बैंककमा भएको बिमस्टेक सम्मेलनका दौरान देखिएका घटनाले पनि भारत दक्षिण एशियामा बढी केन्द्रित भएको स्पष्ट देखिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक देशका नेताहरुसँग साइडलाइन वार्ता गरे । जसमध्ये बँगलादेशका सरकार प्रमुख मुहम्मद युनुससँगको भेट बढी चासो बन्यो । युनुसले सेभेन सिस्टर्स भनिने उत्तरपूर्वी भारतका राज्यहरुलाई भूपरिवेष्ठित भनेका थिए । उनले चीनलाई बढी तान्न खोजे बँगलादेशमा । यसबाट भारत सशंकित भइरहेको थियो । स्थिति बिगार्ने कार्य नगर्न मोदीले युनुसलाई चेतावनी नै दिएको सार्वजनिक भयो । भारतले शेख हसिनालाई शरण दिइरहेकोमा युनुसको चासो देखियो । तर, भारत हसिनालाई सुपुर्दुगी गर्ने पक्षमा त छँदैछैन बरु युनुसको विकल्पबारे भारतभित्र विमर्श चलिरहेको खबरहरु आइरहेका छन् ।
मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ३५ मिनेट एक्लाएक्लै भेटवार्ता गरेको विषय उत्तिकै चासो बन्यो । पछिल्लोपटक प्रधानमन्त्री बनेपछि भारतले ओलीलाई निम्तो दिएको छैन । तर, तेस्रो देशमा दुई नेताबीच दुईपटक साइडलाइन वार्ता भइसकेको छ । ओलीको भारत भ्रमण मिलाउन परराष्ट्रमन्त्री आरजु देउवाले निकै प्रयास गरेकी छिन् । उनको प्रयासका बाबजुद सफलता हासिल हुन सकेको छैन । बरु मोदीसँग भेटपछि ओलीले स्वदेश फर्किएर मोदी सगरमाथा सम्मेलनमा आउन नभ्याउने अभिव्यक्ति दिएका छन् । न मोदी नेपाल आउने टुंगो छ न त ओली भारत जाने टुंगो लागेको छ । यद्यपि, मोदीसँगको वार्तापछि त्रिभुवन विमानस्थलमा ओर्लिएर ओलीले भारतप्रति लचिलो अभिव्यक्ति दिएका छन् । थाइल्यान्ड जानुअघि एमालेभित्रको बैठकमा भारतविरोधी अभिव्यक्ति ओलीले दिएको भन्ने हल्ला मच्चिदा महासचिव शंकर पोखरेलले त विज्ञप्ति निकालेर भारतसँग सुमधुर सम्बन्धको विषय नै उल्लेख गरेका थिए । भारतविरोधी एमाले राष्ट्रवाद ओलीले मोदीसँग भेट्नुअघि र भेटेपछि कहीं कतै देखिएन । ओली नेतृत्वको एमालेले भारतविरोधी अभिव्यक्ति र गतिविधि मात्र बार्गेनिङका लागि गरेको थियो भन्ने घटनाक्रमले पुष्टि गरिसकेको छ । भारत क्षेत्रीय राजनीतिमा बढी केन्द्रित हुँदा नेपाल मामलामा पनि सक्रियता र चासो बढाएको देखिइसकेको छ । यसको असर राष्ट्रिय राजनीतिमा पनि पर्दै जाने स्पष्ट छ ।
मोदीले छिमेक केन्द्रित कदमहरु बढाएको भेट र भ्रमणहरुबाट देखिएकै छ । बिमस्टेक सम्मेलनमा भाग लिएपछि मोदी श्रीलंकाको भ्रमणमा गए । जहाँ उनले तालिम नेताहरुसँग भेटे । दक्षिणी भारतमा बाहुल्य रहेको तामिल समुदायको श्रीलंकाका तामिलसँग विशेष सम्बन्ध छ । मोदीले उनीहरुको आकांक्षाको सम्बोधन गर्न श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकसँग आग्रह पनि गरे । श्रीलंकासँग मोदीको उपस्थितिमा ऊर्जासम्बन्धी सम्झौता भयो । जसमा श्रीलंका, भारत र युएई मिलेर तालिम बाहुल्य ट्रिन्कोमालीलाई ऊर्जा केन्द्र बनाउने सम्झौता छ । एकातर्फ, भारतले तालिम क्षेत्रलाई प्रभावशाली बनाउने गरी रणनीतिक महत्वको ट्रिकोमालीलाई ऊर्जा हब बनाउने विकास परियोजना लग्न सक्यो अर्कोतर्फ श्रीलंकामा चीनको प्रभावलाई कमजोर बनाउने रणनीति बढायो ।
दक्षिण एशियामा चीनको आक्रामक लगानी र बढ्दो प्रभावबाट भारत सतर्क भएकै थियो । नेपालमा चीनको बढ्दो लगानीलाई दृष्टिगत गरी भारतले आफ्नो देशको ऊर्जासम्बन्धी नियमावली नै परिवर्तन गरी ऊर्जा सम्झौता नभएको देशबाट निर्माण भएको विद्युत आयोजनाबाट समेत विद्युत खरिद नगर्ने परिस्थिति निर्माण गरिदियो । त्यस्ता देशबाट पनि विद्युत खरिद नगर्ने भयो । जसका कारण भारतलाई विद्युतको बजार देखेका देशका कम्पनीहरुले नेपालमा जलविद्युत क्षेत्रमा लगानी नगर्ने अवस्था सृजना भयो । भारतको बजार देखेर लगानी गर्न आएकाहरु पछि हट्न वाध्य भए । विशेषगरी चीनका कतिपय लगानीकर्ता विस्तारै पछि हट्न थाले । रणनीतिक तरिकाले भारतले नेपाललगायत दक्षिण एशियाका बँगलादेश, श्रीलंका जस्ता देशहरुमा अन्य शक्तिको प्रभावलाई कमजोर पारिदियो । तेस्रो शक्ति नै लगानीका लागि आउँदा पनि भारतकै साथ पाएर आउने अवस्था सृजना गर्न थाल्यो । श्रीलंकाको ट्रिन्कोमालीलाई ऊर्जा केन्द्र बनाउने सम्झौता गर्दा युएईलाई पनि लगानीका लागि सहभागी गराइएको छ ।
नेपालको सन्दर्भमा पनि भारतले अवस्था यस्तो बनाइसकेको छ कि उसको सहयोग र साथविना कुनैपनि ठूला लगानीकर्ता छिर्दैनन् । भारतको बजार देखेर तेस्रो मुलुकका ठूला लगानीकर्ता आउने हुन् । भारतको साथविना त्यस्ता लगानीकर्ता नेपालभित्र छिर्ने सम्भावना अब देखिदैन । भारतले छिमेकलाई प्राथमिकतामा राखेर चालेका कदमहरुले यी सबै परिस्थिति विकास भएको देखिन्छ । यो यथार्थलाई विचार गरेर नै नेपालको सत्ताधारीले कूटनीतिक चार्तुयता देखाउनुको विकल्प छैन । व्यवहारिक कूटनीतिबाट नै देशको समग्र हित हुनसक्छ । त्यसका लागि लगानीको वातावरण तयार गर्नुपर्छ ।
भारतसँग निर्भर अर्थतन्त्र कटु यथार्थ हो । यथावस्थामा देशलाई आर्थिक रुपमा अगाडि बढाउन भारतलाई समेत साथमा लिएर लगानी भित्राउनुको विकल्प छैन । क्षेत्रीय शक्तिहरु क्षेत्रीय राजनीतिमा केन्द्रित भई प्रभावशाली बनिरहँदा उनीहरुसँग मिलेरै जानुमा कूटनीतिक सुझबुझ मान्न सकिन्छ । बलियो छिमेकलाई चिढ्याउने र खोक्रो राष्ट्रवादका नाममा आलोचना गर्नुले तत्काल उत्तेजित भींडको वाहीवाही पाइएला देश र जनताले पाउने भनेको दुःख नै हो । ओलीको भारतविरोधी राष्ट्रवादले देशले धेरै क्षति भोगिसकेको छ । लगानीको वातावरण बिग्रिएको छ । रोजगारी गुमेको छ र विदेश पलायन ह्वात्तै बढेको छ । कुरामा जितेजस्तो अनि काममा पराजित भइरहने गतिविधि देशको हितमा हुँदैन भन्ने शक्तिशाली छिमेकसँग भिड्ने मूर्ख शासकहरुको कार्यशैलीबाट देखिइसक्यो । कुरा जित्नेहरु शासकहरुले देशलाई हराइरहेका छन् ।