३० चैत्र २०८१, आइतबार | April 13, 2025

बलविरसिंह कसरी बने योगी नरहरिनाथ


45k
Shares

गुरु गोरखनाथका अवतार मानिने सरस्वतीका वरदपुत्र,नेपाल आमाका सपूत, अदभूत एवं विलक्षण शक्ति र प्रतिभाका धनी, अनुपम विद्वान, राष्ट्रवादी, राष्ट्रिय संस्कृति, राष्ट्रिय इतिहास, पुरातत्त्व ,राष्ट्रिय अस्मिताको लागि आजीवन खट्ने योगी नरहरिनाथ वि।स। १९७१ फागुन १७ गतेका दिन कर्णाली प्रदेशको कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडा नम्बर ८ चाखा भन्ने ठाउँमा माता गौरीदेवीको कोखबाट भारद्वाज गोत्रका पिता ललितसिंह थापाको माहिलो सुपुत्रका रुपमा पैदा हुनुभयो। योगी नरहरिनाथ जन्मनु भन्दा पहिले नै आमा गौरिदेबीले एक दिन सुर्य लाई निलेको सपना देखी कहिल्यै फुलेको नदेखिने वृक्ष फुलेको सम्म देखेकि थिन भन्ने अझै गाउघरमा हल्ला सुनिन्छ।

भारतको उदयपुर राज्यमा पैदा भई १३ बर्षको उमेरमा नेपाल आइ गोरखनाथ सम्प्रदायका क्षिप्रानाथ जुम्ला जिल्ला चौथाइ खलंगा वटुक भैरवनाथ चन्दननाथ भाषा पाठशालामा प्रमुख भई अध्यापन गराउदै आउनु भएका क्षिप्रानाथ विभिन्न ठाउँमा गएर खोज अनुसन्धान गरि विद्यार्थीहरु ल्याउनु हुन्थ्यो र पढाउनु हुन्थ्यो । त्यही सिलसिलामा त्यो बेलाको लालु गाविस हालको नरहरिनाथ गाउँपालिका वडा नम्बर ८ चाखामा आएर क्षिप्रानाथ बेलाबेला ध्यान अनुसन्धान गर्नु हुन्थ्यो।

बालक बलवीरसिंह ४ बर्षको हुदादेखि नै उहाको फरक क्षमता भएको हुदा योगी क्षिप्रानाथको नजरमा यो बालक लाई अध्ययन गराउनु पर्छ भन्ने लागेर ८ बर्षको उमेरमा उहाँको व्रतबन्ध भयो र ९ बर्षको उमेर हुँदा गुरु क्षिप्रानाथले उहालाई चौथाइ खलंगा वटुक भैरवनाथ चन्दननाथ भाषा पाठशालामा अध्ययनका लागी लानु भयो। उहाँ लाई बाल्यकालमा बलवीरसिंह भनिए पनि गाउँका आफन्त साथीभाइहरुले नरे भनेर बोलाउने गर्थे भन्ने पुराना मान्ठ बाट सुनिन्छ। जुम्ला जिल्ला चन्दननाथ भाषा पाठशालामा पढ्दै गर्दा सबै सहपाठीहरुलाई पढाइमा उछिन्दै गरेको र एक दिन रातीको समयमा उज्यालो देखेर कुन चाहीले बत्ति बालेर निदाएछ भनी निभाउन जादा सिलिङको दारमा डोरीले आफ्नो टुप्पी बाँधेर निन्द्रा भगाउदै पढ्दै गरेको देख्दा गुरु क्षिप्रानाथ लाई यो गोरखनाथ जस्तै महान बन्न लक्ष्यण देखेर १३ बर्षको उमेरमा काठमाडौ मृगस्थलीमा गोरखनाथ सम्प्रदाय बाट योगपट्टको दीक्षा लिएपछि वलबीर सिंह थापा त्यसपछि योगि नरहरिनाथका नामले प्रसिद्ध हुनुभयो।

भारतमा अध्ययन र आन्दोलन
आमाको काखमा बसेर आमाले सिकाएका हरेक ज्ञानबाट सुरु भएर ९ वर्षको उमेरमा बाआमा छोडेर जुम्ला जिल्लाको चौथाइ खलंगा वटुक भैरवनाथ चन्दननाथ भाषा पाठशालामा अध्ययन गर्न जानुभयो। त्यहीं अध्ययनमा असाध्यै रुचि देखाएपछि क्षीप्रानाथ गुरुले उनलाई १३ वर्षको उमेरमा गोरखनाथको दीक्षा दिए र छिमेकी देश भारतको हरिद्वारस्थित मायापुरी योगाश्रममा समग्र व्याकरण, दर्शनशास्त्र र काव्य साहित्यको अध्ययन गर्ने मौका मिल्यो। त्यसपछि वाराणसी, गोरक्षटील्ला, मैदागिनीमा सिद्धान्तकौमुदी, महाभाष्य प्रथमान्हिक र वाक्यपदीय ब्रम्हकाण्डको अध्ययन गरि लाहौरको प्राच्य विद्यापीठमा काव्यप्रकाश, कादम्बरी पूर्वाद्र्ध र अन्य दर्शनशास्त्रहरूको अध्ययन गर्नुभयो। वि.सं. १९९५ मा सरस्वती संस्कृत महाविद्यालय, लुधियानाबाट शास्त्री उत्तीर्ण गरेपछि, गुरुकुल काँडी विश्वविद्यालय, हरिद्वारबाट ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, शतपथ ब्राम्हण, तैतिरीय ब्राम्हण, ऐतरेय ब्राम्हण, ताण्ड्य ब्राम्हण, गोपथ ब्राम्हणको अध्ययन गरी वि।सं। १९९७ मा वेदालङ्गार परीक्षा उत्तीर्ण गर्नुभएको थियो।

त्यसपछि हिन्दुहरूको देशलाई पहिले मुसलमान र अहिले कृश्चियनहरूले कब्जा गरेको भन्दै भारतमा “दूर हटो रे, दुनिया वाले१ हिन्दुस्तान हाम्रो हो !” भन्ने नारासहित योगीको विद्रोह चल्यो। विभिन्न स्थानहरूमा उनलाई पटकपटक पक्राउ गरियो। कराचीमा लामो समय जेल नि बस्नुपरेको थियो । एकपटक योगी लाई मर्‍यो भनेर कुहिएका शवहरूको बीचमा फालियो तर ऊनी जीवितै रहन सके। भारतमा हुदा सनातन धर्म-संस्कृतिको रक्षाको लागी र अंग्रेजको अत्याचारका विरुद्ध महत्त्वपूर्ण योगदान दिएको देखिन्छ ।

योगी स्वभाव
‘बसु धैव कुटुम्बकम’ विश्व मानव एक परिवार भन्ने भावनाका साथ ‘सर्वे भवन्त सुखिन सर्वे सन्तु निरामय’ अर्थात सम्पुर्ण चराचर जगतको कल्याण हुनुपर्छ भन्ने भावना बोकेका योगी नरहरिनाथको अगाडि राजा होस वा प्रजा जोकोहीले पनि राम्रो कार्य गरे नजिक हुने र नराम्रो कार्य गरे सिंहगर्जन जस्तै समाधान गराउनु हुन्थ्यो। योगी लाई कोहि भेट्न आएमा सबैलाई जगत र मानवको भलाइको लागी उपदेश दिनु हुन्थ्यो। सरल र स्वच्छ हृदय भएका योगी कर्णाली प्रदेशको कालिकोट जिल्लामा जन्मिएर यति ठुलो योगदान गर्न सक्ने ब्याक्ती लाई राज्यले नै उपेक्षा गर्नु भनेको यो देशको लागी ठुलो दुर्भाग्य हो।

बहुमुखी प्रतिभाका प्रतिमुर्ति
धार्मिक, सांस्कृतिक, ऐतिहासिक, साहित्यिक, राजनीतिक र सामाजिक क्षेत्रहरूमा उत्कृष्ट पहिचान बनाएता पनि यो भन्दा ठुलो नेपालको ऐतिहासिक सामग्रीहरूको अन्वेषणमा योगीको योगदान अझै ठूलो देखिन्छ। विभिन्न भाषाका ज्ञाता योगीले समग्र नेपाली भूभागका साथै केही विदेशी भूभागहरूमा यात्रा गरी त्यहाँको मौलिकता र पहिचानलाई उजागर गर्ने ऐतिहासिक सामग्रीहरूको अन्वेषण गरी प्रकाशनमा ल्याएका छन्। प्राचीनकालीन अभिलेख र वाङ्मयका कतिपय सामग्रीहरूको अनुवाद र सम्पादन गरी प्रकाशन गर्ने कार्यद्वारा उनले नेपाली इतिहास, भाषा र साहित्यका क्षेत्रमा अमूल्य योगदान पुर्याएका छन । उहाँ अदभूत हुनुहुन्थ्यो, अकल्पनीय हुनुहुन्थ्यो, अबिस्वास्निय प्रतिभा र ज्ञानका अथाह भण्डार हुनुहुन्थ्यो भने साधनाका चमत्कार हुनुहुन्थ्यो। पलपलको महत्त्व बुझेर एक छिन पनि खेर नफाल्ने स्वभावका योगी एउटा संग बोल्दै गर्नुहुन्थ्यो भने हातले केहि लेख्दै गर्नुहुन्थ्यो अनि कसैले केहि भनिरहेको छ भने सुनिरहेको पनि हुनुहुन्थ्यो। यस्तो अदभूत क्षमता भएका योगी नरहरिनाथ नेपालका लागी मात्र नभएर संसारका लागी उहाँ दुर्लभ पात्र हुनुहुन्छ।

चडा लड्ने भिडमा पनि त झुन्डियर प्रतिलिपी।
शिलालेखादिका कति कठिनताका साथ गरियो।
पदार्थ भावार्थे सहित कति मुलै लिपि पनि।
प्रकाशैमा आय हितकर पुरातत्त्वहरु ती।

असंख्य पुरातत्त्वहरु अप्रकाशित छन् भनी चिन्ता गरेर हजारौं शिलालेख, ताम्रापत्र, भोजपत्र र दुर्लभ पाण्डुलिपिको खोजी गरि चाङ लगाउनु हुन्थ्यो। यसरी आफू लाई जोखिममा राखेर आफ्नो देशको वास्तविक इतिहास बिदेशीले लेखेको सत्य नहुने भनी आफै हिडेर अध्ययन अनुसन्धान गरि इतिहास प्रकाशनका ६४ भागसम्म गर्नुभएको इतिहास प्रकाशका ५ भागमात्र प्रकाशित हुन सके। ९८ भागसम्म तयार गर्नुभएको सन्धिपत्रसंग्रहका ७ भागमात्र प्रकाशित हुन पाए। उहाँले १५ भागमा लेख्नु भएको शिखरिणीयात्राको जम्मा १ भाग मात्र प्रकाशित भएको भनेर प्रा.डा.वेणीमाधव ढकालले योगीको हिमवत्खण्डमा उल्लेख गरेका छन् ।

म येसै वोलीको लख छुपछुतो छैन मनमा। हजारौं बाधाले पछि न हटने योग तनमा। थकाई मार्दैनौँ सफल नगरी जीवन भरी। मरी जन्मी फेरी उहि पथ लिने सद्व्रत छ्यो भनी सबैलाई उर्जा दिनु हुन्थ्यो। हाम्रो मौलिकता बिना हाम्रो पहिचान गुम्छ भन्ने मान्यता थियो ।

”यसैमा जन्म्यौ यसैमा हुर्क्यौ यसैमा बिलाउ

फुटेका भाइ जुटेर सबै छुटेको मिलाउ” जस्ता प्रार्थनाले योगीको हुन भन्ने प्रष्ट छुट्याउछ।

हिंसाका बिरुद्ध लड्ने, अज्ञन्ता, अन्धविश्वास, छुवाछूतका विरुद्ध बिद्रोह मात्र गरेनन गरिबीको फाइदा उठाउदै बिदेशी धर्म, भाषा र संस्कृति लाद्ने कामका विरुद्ध योगी सधै लडिरहे। आजीवन स्वयंसेवक, आजीवन पदयात्री, आजीवन विद्यार्थी बनेर आफ्नो जिबन बिताए।

योगी नरहरिनाथले जिबननमा जे गरे, जति गरे ती सबै राष्ट्र राष्ट्रियता, धर्म-संस्कृति र जनताको संरक्षण र प्रबर्द्धनका आफ्नो जिबन बिताउनु भयो। योगीको देश प्रतिको प्रेम अथाह हुने गर्थ्यो तर त्यही देशको एक सपुत अदभूत क्षमता भएका दुर्लभ पात्र लाई कहिल्यै चिन्न सकेन। यो देशले चिनेन भनेर हामी पबित्र भक्त, अनुयायीहरुले पनि देशले गरेको व्यबहार नगरौ बरु योगी नरहरिनाथ लाई राष्ट्रिय बिभुतीका बनाउन तिर लागौं, बिधालय देखी बिश्वबिद्धालय सम्मको कोर्समा योगीको योगदान अध्ययन हुने बाताबरण तयारी तिर लागे मात्रै संसार जित्न सत्य मार्गमा हिडे पुग्छ भनेजस्तै हुनेछ।
(योगी नरहरिनाथ अध्ययन केन्द्रका कोषाध्यक्ष)

प्रतिक्रिया