३ बैशाख २०८२, बुधबार | April 17, 2025

बिमस्टेकमा मोदी नीति


913
Shares

विपिन देवः सँसारमा क्षेत्रीय संगठनहरूको वर्चश्व अब्बल भइरहेको छ । क्षेत्रीय संगठनहरूको आधारस्तम्भमा नै आर्थिक प्रगति र क्षेत्रीय सन्तुलन सहज भइरहेको छ । आसियान, युरोपेली युनियन, अफ्रिकी युनियन, इस्लामिक सहयोग संगठन र बिम्स्टेक यसको प्रतिनिधि उदाहरणहरू हुन् । सार्क क्षेत्रीय संगठनका रूपमा उदीयमान भएतापनि पाकिस्तान र अफगानिस्तानको घरेलु परिदृश्यले गर्दा स्खलित हुन गयो । बिम्स्टेकको उद्भव र विकास यसैको प्रतिफलका रूपमा लिन सकिन्छ । बिम्स्टेक दक्षिण एसिया र पूर्वी एसियाको मिलनबिन्दु हो । संसारको २२ प्रतिशत जनसंख्या भएको बिम्स्टेकका मुलुकहरूमा सांस्कृतिक र धार्मिक समरुपता पाइन्छ । दक्षिण एसियामा भारत, नेपाल , बंगलादेश, भुटान, श्रीलङ्का र पूर्वी एसीयाका थाइल्याण्ड र म्यानमार बिम्स्टेकका सदस्यहरू हुन् ।

बिम्स्टेको प्रार्दुभाव नै आर्थिक विकासलाई प्रमुख आधार मानेर भएको हो । बिम्स्टेकका सदस्यहरू मध्ये नेपाल, भुटान समुद्रसँग जोडिएको छैन । सन् २०१६ पश्चात बिम्स्टेकको गतिविधिले फड्को लिएको देखिन्छ । सन् २०१६ मा बिम्स्टेकमा मुलुकहरू आफ्नो कार्यविधि र संकल्प लिएका थिए । तदनुरुप भारतले सुरक्षा र उर्जाको जिम्मा लिएको थियो भने बंगलादेशले वातावरण सम्बन्धी जिम्मा लिएको थियो । कृषि अनुसन्धान र विकासका लागि थाइल्याण्डले अभिभारा लिएको थियो भने विज्ञान र प्रविधिको शोध र अनुसन्धानका लागि श्रीलङ्काले जिम्मा लिएको थियो । नेपालले जनजनको सम्बन्धलाई विस्तार सहज बनाउन संकल्प लिएको थियो । सन् २०१९ मा भारतका प्रधानमन्त्री मोदीले आफ्नो सपथ ग्रहण समारोहमा बिम्स्टेकका राष्ट्राध्यक्षहरूलाई निमन्त्रणा गरेर बिम्स्टेकलाई महिमामण्डित गरेका थिए । सन् २०२५ अप्रिलको पहिलो सातामा भएको बिम्स्टेक शिखर सम्मेलन भू(राजनीति र भू(अर्थनीतिको हिसाबले महत्वपूर्ण देखिएको छ ।

बिम्स्टेकको विस्तार विकासमा भारतको भूमिका अहम् रहेको देखिन्छ । ९० को दशकमा भारतमा तत्कालीन प्रधानमन्त्री नरसिंह रावले “लुक इष्ट” दक्षिण एसीया र पूर्वीय एसियालाई जोड्नु थियो । कालान्तरमा मोदीले “लुक इष्ट” लाई “एक्ट इष्ट”मा परिवर्तित गरेको देखिन्छ । पूर्वी एसियाका मुलुकहरू थालल्याण्ड, सिंगापुर, इन्डोनेसिया, मलेसिया, भियतनाम लगायत अन्य मुलुकहरू तीव्र आर्थिक दरले विकास गरेकोले गर्दा भारतले पूंजी प्रविधि विस्तार गर्न उक्त मुलुकहरूसंग सहकार्य गर्ने उद्देश्य लिएको देखिन्छ । अर्को शब्दमा भन्ने हो भने कालादान गुरूयोजनाको माध्यमबाट थाइल्याण्डसंग सडक मार्ग जोड्न भारत अघि बढिरहेको छ । बिम्स्टेकको माध्यमबाट पूर्वी एसिया र दक्षिण एसियालाई जोडेको खण्डमा विकासको यात्राले तीव्रता पाउने जानकारहरूको बुझाई रहेको छ । सन् २०२५ को विम्स्टेक शिखर सम्मेलनले सन् २०३० का लागि गुरूयोजना सार्वजनिक गरेको देखिन्छ । बिम्स्टेक मुलुकहरूबीच खुल्ला व्यापारलाई अगाडि बढाउन संकल्प गरेको देखिन्छ । बिम्स्टेक मुलुकहरू विच सम्बन्धलाई आर्थिक सबलता दिन पर्यटन एक प्रमुख आधार देखिन्छ । यही परिदृश्यमा बिम्स्टेक शिखर सम्मेलनको सेरोफेरोमा भारतले द्विपक्षीय सम्बन्धलाई अधिक महत्व दिएको देखिन्छ ।

सन् २०१६ र सन् २०१९ मा समेत मोदीले थाइल्याण्ड यात्रा गर्दा व्यापार प्रवद्र्धनलाई अधिक महत्व दिएका थिए । भारत र थाइल्यान्डबीच १७ अर्ब अमेरिकी डलरको व्यापार रहेको छ । आसियान मुलुकहरू मध्ये थाइल्याण्ड भारतको दोस्रो व्यापारिक साझेदार रहेको छ । थाइल्याण्डमा प्रतिवर्ष २ दशमलब ३० लाख भारतीय पर्यटकहरू भम्रण गर्ने गर्दछ । थाइल्याण्डको कुल जि.डि.पि. १३ प्रतिशत पर्यटन क्षेत्रले नै गर्ने गर्दछ । ७ करोड जनसंख्या भएको मुलुकमा ३ करोड ७० लाख पर्यटकहरू प्रतिवर्ष भम्रण गर्ने गर्दछन् ।

भारत र थाइल्याण्डबीचच सेतुको रूपमा हिन्दुधर्म रहेको छ । मोदीको सम्मानमा बैंककमा रामायणको नाटक प्रस्तुत गरिएको थियो । रामायणलाई थाइ भाषामा रामकीयन भनिन्छ । हुनतः आसियानका भियतनाम वाहेक ९ वटा मुलुकहरूमा हिन्दु सभ्यता र संस्कृतिको गहिरो प्रभाव रहेको छ । वर्तमान परिवेशमा सभ्यता र संस्कृति पर्यटन विकासका लागि कोशेढुङ्गा प्रमाणित भएको देखिन्छ । विम्स्टेक शिखर सम्मेलनको सेरोफेरोमा नै भारतका प्रधानमन्त्री मोदी र बंगलादेशको अन्तरिम सरकारमा सल्लाहकार डा. युनुश विच भएको वार्तालाई सञ्चार गृहहरूले अधिक चासो राखेको थियो ।

सन् २०२४ अगस्त ६ मा वंगलादेशका प्रधानमन्त्री शेख हसिना भारतमा शरण लिनु र अगष्ट ८ मा डा. युनुस बंगलादेशको सरकार प्रमुख हुनु जस्ता परिघटनाले गर्दा बंगलादेशका अल्पसंख्य हिन्दुहरू तारोमा परेका छन् । दस्तावेज अनुसार अगस्तदेखि हालसम्म हिन्दु समुदायमाथि २५०० हिंसक घटनाहरू घटित भएका छन् । बंगलादेशको जन्ममा भारतले धाइ आमाको भूमिका खेल्नु र वंगलादेशको प्रगतिको उत्प्रेरक हुनु भारतको अहम भूमिका रहेको छ । तर डा. युनुसको आगमनका साथै वंगलादेशको भारत प्रतिको दृष्टिकोणमा व्यापक परिर्वतन देखिएको छ । युनुसले ट्रर्की, पाकिस्तान र चीनको राष्ट्र प्रमुखहरूलाई भेट गरे तापनि आफ्नो अभिव्यक्तिले गर्दा मोदीसंग भेट्नका लागि आवश्यक वातावरण निर्माण भएको थिएन । हालै युनुसले चीनमा भारतको उत्तर पूर्वीय भागलाई भू(परिवेष्ठित भनेर दिएको टिप्पणीले गर्दा भारत बंगलादेश सम्बन्धमा तनाव थपिएको थियो । जानकारहरूको आँकलनअनुसार बिम्स्टेकको सेरोफेरोमा मोदी र युनुसको वार्ताको वातावरण देखिएको थिएन । तर कूटनीतिक संयमता र धरातलीय यथार्थलाई आधार स्तम्भ मानेर मोदी र युनुसको वार्ता सम्भव सिद्ध भयो ।

भेटघाटको सन्र्दभमा मोदीले बंगलादेशमा रहेका अल्पसंख्यक हिन्दुहरूको अवस्थाका वारेमा चासे.ा राखेका थिए । साथ साथै वंगलादेशमा प्रजातान्त्रिक अभ्यासलाई अगाडि बढाउन समेत आफ्ना समकर्मीलाई आग्रह गरेका थिए । बंगलादेशमा इश्लामीकरण भएको खण्डमा तीव्र गतिले बढिरहेको अर्थतन्त्र धराशायी हुने जानकारहरूको बुझाई रहेको छ । बिम्स्टेक शिखर सम्मेलनको सेरोफेरोमा नै मोदी र केपी ओलीको सौहाद्रपूर्ण वार्ता भएको छ । वार्ता आर्थिक विकासको सेरोपेरोमा भएको जानकारहरूको दावी रहेको छ । नेपालले प्रस्ताव गरेको “सगरमाथा सम्वाद”लाई उच्च मूल्याङ्कन गरिएको छ । बिम्स्टेकको माध्यमबाट हिन्दु धर्म र वुद्ध धर्मको भावनाकै अनुसार पर्यटन विकास र विस्तार भएको खण्डमा नेपाल र भारतले प्रचूर मात्रामा लाभ लिन सक्ने मोदी र ओलीको सम्झदारी हो ।

प्रतिक्रिया