क्यानका प्रदीप अधिकारीले भ्रष्टाचार गरेको लेखा समितिको निष्कर्ष

काठमाडौ., २४ चैत्र । नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक प्रदीप अधिकारीले भ्रष्टाचार गरेको निष्कर्ष संसदको सार्वजनिक लेखा समितिले निकालेको छ । समितिको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता छानविनका लागि गठित उपसमितिले त्यस्तो निष्कर्ष निकालेको हो ।
लेखा समिति सदस्य राजेन्द्र लिङ्देनको नेतृत्वमा गठन भएको उपसमितिले विमानस्थलको लागत बढाएर शृंखलावद्ध भ्रष्टाचार गरेको निष्कर्ष निकालेको हो ।
अब लेखा समितिले विमानस्थल निर्माणको भ्रष्टाचारका सम्बन्धमा प्रतिवेदनको मस्यौदा बनाउन सुरु गरेको छ । १४ अर्बको लागत अनुमानलाई सुरुमा २२ अर्ब पुर्याइएको थियो ।
सरकारले निर्माण कम्पनी सीएएमसीलाई विमानस्थल निर्माणमा प्रयोग हुने उपकरणको सामाग्री ल्याउँदा कर छुट समेत दिएको थियो । यो २ अर्ब २० करोड देखिएको छ ।
पोखरा विमानस्थल नजिकै छिनेडाँडा काट्न ३२ करोड २ लाख रुपैयाँ भुक्तानी भएको छ । यसमा नागरिक उड्डयन प्राधिकरणले रकम खर्च गरेको थियो । यसमा प्रदीप अधिकारीले आफू नजिकका ठेकेदारलाई प्रयोग गरेर भ्रष्टाचार गरेका थिए ।
विमानस्थलमा माटो भर्ने र ओसार्ने कामका लागि मात्र झण्डै २ अर्ब खर्च गरिएको छ । यही शैलीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि काम भइरहेको छ ।
२२ अर्ब लागतमा पनि विभिन्न कामका लागि थप रकम खर्च गरिएको छ । यसरी पोखरा विमानस्थल निर्माणमा अरबौं रकम भ्रष्टाचार भएको छ । यसमा विमानस्थल निर्माण परियोजनाका निर्देशक रहेका थिए प्रदीप अधिकारी । पछि उनी नागरिक उड्डयन प्राधिकरणको कार्यकारी निर्देशक भएर भ्रष्टाचार गरे ।
अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको बुझिएको छ । अब उनीविरुद्ध चाँडै भ्रष्टाचार मुद्दा दायर हुने बुझिएको छ । अधिकारीको भ्रष्टाचार गरेको रकम लुकाउन भूमिका खेल्ने अर्जुन खड्का र ठेकेदार प्रकाश ढकाल पनि छानविनको दायरामा ल्याइएका छन् ।
नेपाली पेनले प्रदीप अधिकारी समूहले विमानस्थल निर्माणमा व्यापक भ्रष्टाचार गरी देशभित्र र विदेशमा रकम लुकाएको खोजमूलक खबर प्रकाशित गर्दै आएको छ ।