१९ चैत्र २०८१, बुधबार | April 2, 2025

विकल पौडेल पथमा क्यानका प्रदीप अधिकारी


3.2k
Shares

काठमाडौं, १९ चैत्र । नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक प्रदीप अधिकारी आइटी माफिया विकल पौडेलकै मार्गमा बढेका छन् । विकलले विदेशमै घूसको लेनदेन गरेर दशकभन्दा बढी आइटी क्षेत्रमा हालीमुहाली गरी अरबौं घोटाला गरेका थिए । उनले सत्ता र शक्तिलाई नै प्रभावमा पारेका थिए । अख्तियारमा मुद्दा रोक्न ठूलै खेल खेले तर असफल भए ।

ठिक त्यस्तै गरी प्रदीप अधिकारी नागरिक उड्डयन क्षेत्रमा हालीमुहाली भइरहेका छन् । सत्ता र शक्तिलाई पैसाको बलमा प्रभावित बनाइरहेका छन् । विश्वस्त स्रोतका अनुसार उनीविरुद्ध ठेलीका ठेली उजूरी अख्तियारमा परेपछि छानविन पनि भएको छ । मुद्दा रोक्न अधिकारीले शक्तिकेन्द्र लगाइरहेका छन् । तर, त्यो सम्भव नहुने बुझिएको छ ।

अधिकारी कुनैबेला माधव नेपालनिकट थिए । नेपालले नै उनलाई क्यानको कार्यकारी निर्देशकमा नियुक्ति दिलाएका थिए । तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई समेत वाध्य पारेर नियुक्ति भएपछि उनले नेकपा एसको ठूलो लेबी तिर्ने पात्रका रुपमा आफूलाई उभ्याएका थिए ।

अधिकारीले काँग्रेस र एमालेका नेताहरुलाई पनि ठूलै गुन लगाए । चुनावमा ठूलो सहयोग गरे । अहिले उनले रास्वपा अध्यक्ष रवि लामिछानेलाई पनि हरि ढकालमार्फत् चिनजान गरी सहयोग गरिरहेका छन् । विगतमा चितवनको बासिन्दा भएको साइनो लगाएर लामिछानेसँग सम्बन्ध बनाएका छन् । आरजु देउवासँग पनि उनको निकटता रहेको बुझिएको छ ।

दुई विश्वासपात्रमार्फते काम
प्रदीप अधिकारीले नागरिक उड्डयन क्षेत्रमा अहिलेसम्मकै ठूलो भ्रष्टाचार गरेको विषय प्रेम आलेले सार्वजनिक गर्दै आएका छन् । उनले कम्तिमा पाँच अर्ब घोटाला गरेको तथ्यहरु बाहिर आइरहेका छन् । तर, ती रकम कहाँ कहाँ कसरी व्यवस्थापन गरे भन्ने चासो बनेको छ ।

आफैले डिल नगर्ने र दुई विश्वासपात्रमार्फते डिल गराउने प्रदीप अधिकारीको शैली छ । यसरी डिल गर्नेमध्येका पूर्वप्रहरी अर्जुन खड्का त अमेरिकी नागरिक हुन् । उनी नेपालमा बसेर अधिकारीको तर्फबाट आर्थिक लेनदेन र ठेक्कापट्टा मिलाउने गतिविधिमा सक्रिय छन् । अर्का ठेकेदार प्रकाश ढकाल अधिकारीको खास मान्छे हुन् । ठेक्कापट्टा उनले जसलाई भन्यो उसैलाई पर्छ । विभिन्न डिलमा पनि अर्जुन खड्का नै सक्रिय हुन्छन् । उनी अमेरिकी नागरिक भएर नेपालमा विचौलियाका रुपमा सक्रिय हुनुलाई गम्भीर मानिएको छ ।

प्रकाश ढकालले मालदार ठेक्का आफै पारेका छन् र कतिपय आफ्ना विश्वासपात्रहरुलाई दिलाएका छन् । त्यस्ता ठेक्कावापत् ठूलो आर्जन गरिरहेका छन् ।

ठूला ठेक्काको घूस विदेशमै लेनदेन गर्ने र उतै रकम व्यवस्थापन गर्ने विकलको शैली प्रदीप अधिकारीले पनि अपनाएका छन् । उनी विकलकै शैलीमा चाँडै छानविनमा परी कारबाहीमा पर्ने बुझिएको छ ।

प्रतिक्रिया