गोदावरीमा प्लटिङः कतै वन विनाश कतै खोला गायब

रोशन लिम्बू, ललितपुर । गोदावरी नगरपालिकाभित्र कतै वन विनाश त कतै खोला नै गायब बनाएर अवैध प्लटिङ भइरहेका छन् । यसमा नगरपालिकाका जनप्रतिनिधि र जिम्मेवार अधिकारी देखि वनका कर्मचारीसम्मको मिलेमतो देखिएको छ । दशौं करोडको खेलमा यस्ता गतिविधिलाई नगरपालिकाले नै संरक्षण दिइरहेको पाइएको छ ।
चापाखर्कमा पानीको मुहान माथि वन विनाश गरी प्लटिङ भइरहेकोमा नगरपालिकाको समेत संरक्षण देखिएको छ । सरकारी जग्गासमेत दोहन गरी बिरु महर्जन नेतृत्वको गिरोहले प्लटिङ गरिरहेकोमा नगरपालिकासँग बारम्बार सोध्दा जवाफ दिइएको छैन ।
गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले यसबारे बुझ्छु भनी पटक पटक भनेका छन् । तर, उनले कुनै ठोस जवाफ दिन सकेका छैनन् ।
गोदावरी नगरपालिकाको ठेचो क्षेत्रमा पनि कर्मनाशा खोलाको नामोनिशान मेटाउने गरी प्लटिङ भएको छ । खोलालाई खोल्छामा परिणत गरी पर्खाल लगाइएको छ । बाटो पनि मापदण्डविपरित एकातर्फ मात्र सानो राखिएको छ ।
वन विनाश गर्ने, खोलाको नामोनिशान मेट्ने गर्दै गतिविधि भएपनि गोदावरी नगरपालिका बेवास्ता गरिरहेको छ । यस्तो प्लटिङको सिफारिश नगरपालिकाबाट हुन थालेपछि स्थानीय आक्रोशित भइरहेका छन् ।
चापाखर्कमा त चारवटा डोजरको प्रयोग गरी झण्डै एक सय रोपनी क्षेत्रफलमा प्लटिङका लागि जमिन सम्याउने क्रममा वन विनाश गरिएको छ । हजारौं रुखहरु कटान भएका छन् ।
प्लटिङका लागि सहज बनाउन हजारौं गोदावरी नगरपालिका वडा नं २ का वडाध्यक्ष मनोहर सिलवालले पनि सहयोगी भूमिका निभाएको स्पष्ट छ । उनले वन विनाश हुँदा आँखा चिम्लिएका छन् । वनका कर्मचारीले पनि कमिशनको लोभमा नथाहापाए जस्तो गरेका छन् ।
बिरु महर्जनले प्लटिङको जग्गा आनाको ६ लाखसम्म राखेर ५० करोडभन्दा बढी कमाउने लक्ष्यका साथ काम गरेको बुझिएको छ । यसका लागि उनले नगरपालिका र कर्मचारीहरु व्यवस्थापन गर्ने जिम्मा एक व्यक्तिलाई दिएका छन् । उता वनका कर्मचारी पनि नदेखे जस्तो गरिरहेछन् ।
नेपाली पेन वन विनाश गरिएको क्षेत्रमा पुग्दा भविष्यमा पानीको मुहानलाई समेत असर पर्ने देखिएको छ । प्लटिङभन्दा ठिक एक किलोमिटरमुनी पानीको मुहान छ । उक्त मुहानको पानीले दशौं हजार जनता लाभान्वित भइरहेका छन् । प्लटिङले पानीको मुहान सुकाउने देखि भूक्षय बढाउने देखिएको छ ।
गैरकानूनी रुपमा वन विनाश गरी प्लटिङ गर्न लागेकोबारे बिरु महर्जनलाई सम्पर्क गर्दा उनको फोन उठेको छैन । महर्जनको एउटा समूह यो प्लटिङ सफल बनाउने र उपभोक्ता ठग्ने प्रपञ्चमा लागेको छ ।