गोदावरीको चापाखर्कमा वन विनाश गरी प्लटिङ

रोशन लिम्बू, ललितपुर । गोदावरीको चापाखर्कमा वन विनाश गरी प्लटिङ भइरहेको छ । सरकारी जग्गासमेत दोहन गरी बिरु महर्जन नेतृत्वको गिरोहले प्लटिङ गरिरहेको हो ।
चारवटा डोजरको प्रयोग गरी झण्डै एक सय रोपनी क्षेत्रफलमा प्लटिङका लागि जमिन सम्याउने क्रममा वन विनाश गरिएको छ । हजारौं रुखहरु कटान भएका छन् ।
प्लटिङका लागि सहज बनाउन हजारौं गोदावरी नगरपालिका वडा नं २ का वडाध्यक्ष मनोहर सिलवालले पनि सहयोगी भूमिका निभाएका छन् । उनले वन विनाश हुँदा आँखा चिम्लिएका छन् । वनका कर्मचारीले पनि कमिशनको लोभमा नथाहापाए जस्तो गरेका छन् ।
बिरु महर्जनले प्लटिङको जग्गा आनाको ६ लाखसम्म राखेर ५० करोडभन्दा बढी कमाउने लक्ष्यका साथ काम गरेको बुझिएको छ । यसका लागि उनले नगरपालिका र कर्मचारीहरु व्यवस्थापन गर्ने जिम्मा एक व्यक्तिलाई दिएका छन् ।
नेपाली पेन वन विनाश गरिएको क्षेत्रमा पुग्दा भविष्यमा पानीको मुहानलाई समेत असर पर्ने देखिएको छ । प्लटिङभन्दा ठिक एक किलोमिटरमुनी पानीको मुहान छ । उक्त मुहानको पानीले दशौं हजार जनता लाभान्वित भइरहेका छन् । प्लटिङले पानीको मुहान सुकाउने देखि भूक्षय बढाउने देखिएको छ ।
गैरकानूनी रुपमा वन विनाश गरी प्लटिङ गर्न लागेकोबारे बिरु महर्जनलाई सम्पर्क गर्दा उनको फोन उठेन । गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवाललाई फोन गर्दा उनले फोन उठाएनन् । नेपाली पेनले यो विषय उठाएपछि नगरपालिका र वनका कर्मचारीवृत्तमा समेत तरंग आएको छ ।