को भाइमारा ? को ज्यानमारा ?

डा. दीपेश केसीः माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘भाइमारा’ देखि ‘मूर्तिचोर’ सम्म भनेका छन् । राजावादीहरुको समर्थन र सक्रियता बढ्न थालेपछि प्रचण्डले सिन्धुपाल्चोकमा दिएको अभिव्यक्तिले तरंग नै ल्याएको छ । राजावादीहरुले पनि प्रचण्डलाई ‘ज्यानमारा’ भनिरहेका छन् । चरित्रसँग जोडिएको भाषण चल्न थालेको छ जताततै । दूषित राजनीति विषले भरिदैछ अहिले । प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रका समर्थक एक अर्काविरुद्ध आगो ओकलिरहेका छन् । उत्शृंखल बोलीको प्रतिष्पर्धा चलिरहँदा राजकाजको कुर्सीमा बसेका र बसिसकेकाहरु पनि त्यही स्तरमा झर्न थालेको उदाहरण हो यो । यसै पनि आरोप र प्रत्यारोपको राजनीतिमा उत्शृंखल बोली र व्यवहारले उचाई नाघिसकेको छ । भाषणमा अपशब्द बोल्ने र सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरु भाइरल बन्न थालेका छन् । चरित्रसम्बन्धी आरोप प्रत्यारोप त सामान्य बन्न थालिसकेको छ ।
जब विचारको राजनीति सुन्य हुन्छ तब भाषणमा अपशब्द मिसिन थाल्छ । अनि त उदाए घरपरिवारसँगै बसेर सुन्न नसिकने गरी बोल्ने दुर्गा प्रसाईँहरु । यस्ता पात्रको उदय हुनुमा प्रचण्ड र केपी शर्मा ओलीहरुकै मुख्य भूमिका छ । प्रसाईँको घरमा प्रचण्ड र ओलीले मार्सी चामलको भात खाएको तस्बिर सदास्मरणीय रहनेछ । अहिले उनै प्रसाईँ पूर्वराजा ज्ञानेन्द्रका प्रीय भएका छन् । विचारभन्दा द्रव्यको महत्व बढ्न थालेपछि दुर्गा प्रसाईँहरु शासक र पूर्वशासक सबैका प्रीय हुनथाल्छन् भन्ने उदाहरण हो यो । असभ्यताको पराकाष्ठ नाघेपछि शासक र शासन गर्ने महत्वाकांक्षा राख्नेहरुका लागि धुन्धकारी, गुण्डानाइके, लाज पचेकाहरु नै नभई नहुने हुनथाल्छ । देशमा अहिले भएको यही हो ।
हाक्काहाक्की आफूलाई ८ कक्षा नपढेको, मास्टरलाई अभद्र व्यवहार गरेको भन्ने दुर्गा प्रसाईँसँग असन्तुष्ट ठूलो जमातको आशा रहनुमा पढेलेखेका र भद्र भनिएकाहरु द्रव्यमोहमा परेर देश र समाजविरुद्ध लागिरहेको खुल्नुले पनि हो । जसलाई रक्षक ठानेका थिए सर्वसाधारणले ती भक्षक सावित भए । जस्ले निश्चित एजेन्डा लाद्न पैसा दिन्थ्यो उसैले उदांगो पारिदियो तथ्य । अमेरिकाले त छताछुल्ल पारिदियो तिनका कर्तुत । यो घटनाको लाभ लिनेमा दुर्गा प्रसाईहरु नै अगाडि देखिए । यसबाट नेपाललाई यो अवस्थामा पु¥याउने जिम्मेवारी शासनसत्तामा पुग्नेले मात्र नभई देशका विद्धान र सचेतवर्गले सबैभन्दा बढी लिनुपर्छ । जाग्नुपर्ने बेलामा नजाग्ने र बोल्नुपर्ने बेलामा नबोल्ने, विचारको राजनीतिलाई कमजोर हुन नदिने दायित्व निर्वाह गर्नुपर्नेमा नगर्ने प्रत्येक विद्धान र सचेतवर्गले छातिमा हात राखेर मनन गर्नैपर्छ । सधै दोष दिएर मात्र केही हुँदैन । देशमा के हुनुपर्दथ्यो र के भएन भन्ने समिक्षा सचेत र बौद्धिक वर्गले समयमै गर्नुपर्ने बेला आएको छ ।
नेपालको भूगोल र इतिहास मनन नगरी पखेटा फैलाएर उड्नुपर्छ भन्नेको सतही कदमले देशलाई कहाँ पु¥यायो अहिले । सभ्यता, धर्म, परम्परा, भाषा संस्कृतिलाई बेवास्ता गरेर आधुनिकताको नाममा अरुको देखासिकी गर्दा देश कहाँ पुग्यो अहिले । कुनै नयाँ पुस्ता देशभित्र भविष्य देख्न नसक्ने बनाइएको छ । यो भन्दा बिडम्बना के हुनसक्छ ? सोझासाझा नेपालीको बचत सहकारीका नाममा ठगेर टाठाबाठाले मस्ती मारिरहेका छन् । बचतकर्ता भोकभोकै पर्न थालिसके । रकम अभावमा उपचार नपाएर मृत्युवरण गरिरहेका छन् । तर, राज्य उनीहरुलाई न्याय दिलाउन गम्भीर छैन । वैचारिक रुपमा स्खलित भइसकेकाहरुले सर्वहारा, किसान, मजदूरका नाममा राजनीति गर्ने अनि तिनकै लुटीखानेलाई केही गर्न नसक्ने भएपछि राज्य माफियाको हातमा पुगिसकेको प्रष्ट हुन्छ । जनतामा महाअसन्तुष्टि व्याप्त छ । बरु पुरानै राजनीतिक प्रणाली ठिक भन्ने अवस्थामा जनता पुग्न थालिसकेका छन् ।
राजनीतिक अवस्था यति भयावह बन्दै गएको छ कि जनताले फेरि पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थन गरेर गद्दीमा फर्काएमा आश्चर्य नमाने हुन्छ । राजनीतिमा असम्भव भन्ने हुँदैन पनि । असन्तुष्टिको ज्वालामुखी विष्फोटको अवस्थामा पुगिसकेको छ । जनताले विकल्प खोजिरहेका छन् । मूलधारका राजनीतिक दलका नेतृत्वपंक्तिप्रति वितृष्णा बढ्दो छ । जसका कारण ¥यापर बालेन साहले काठमाडौं महानगरपालिकाको मेयर जिते । अमेरिका छाडेर नेपालमा टेलिभिजन प्रस्तोता बन्न आएका रवि लामिछानेले रास्वपा खोलेर संसदमा चौंथो ठूलो दलको नेता बने । धरानमा अराजक क्रियाकलापले चर्चामा आएका हर्क साम्पाङ मेयर जिते । अझै असन्तुष्टिको आगो निभेको छैन । दलहरुप्रति वितृष्णा झन् झन् बढ्दो छ । बरु पूर्वराजा ज्ञानेन्द्र शाह नै ठिक थिए भन्ने मत बलियो बन्दै गएको छ । त्यसैले त नेताहरुबीच ज्ञानेन्द्र शाहलाई गाली गर्ने प्रतिष्पर्धा चलेको छ । देउवाले त राप्रपाको अध्यक्ष बन्न सुझाव दिइसके । ठूला दलका नेताहरु शाहलाई देशबाटै लखेट्छु भन्न थालिसके । जति जति बदनाम नेताहरु ज्ञानेन्द्रलाई गाली गरिरहेका छन् उति उति उनी लाभ लिइरहेका छन् ।
सत्ताको घुम्ने मेचमाथि उठबस गर्दै आएका नेताहरुले जनतालाई रैती मात्र नभई आफूहरुले जे भनेपनि पत्याउने र जे गरेपनि सहने ठाने । देशमा व्यापक भ्रष्टाचार भयो । विदेशमै घूसको लेनदेन खुल्यो । भ्रष्ट नेता, कर्मचारी र न्यायाधीशको पैसा विदेशमा भेटिनथाल्यो । नेताहरुको वरिपरि माफिया र विचौलिया मात्र रहन थाले । द्रव्यको राजनीति हावी भयो विचारको राजनीति सुन्य जस्तै । छिमेक र मित्रशक्तिसँग गर्ने व्यवहार पनि हल्काफुल्का रह्यो । जनतामा छिमेकप्रति नकारात्मक भाव जगाउने र राष्ट्रभक्ति देखाउने रणनीति चलिरह्यो । तर, त्यस्ता झुक्याउने रणनीति लामो समय चलेन । छिमेकले पनि सत्तामा लामो समययता बस्दै अएका नेताहरुलाई नपत्याउने अवस्था विकास भयो । भारतले त प्रधानमन्त्री केपी ओलीलाई निम्तो सम्म गरेन । देउवा पनि भारत भ्रमण तय भइसक्दा अन्तिम समयमा रद्द गर्न पुगे । प्रचण्ड पनि भारत नगएको धेरै भयो । चीनले पनि मुख्य नेताहरुलाई नपत्याउने अवस्था बनिसक्यो । अमेरिकाले त चासो लिन छाडिसक्यो । बरु नेपालमा पठाएको पैसालाई ठगी भनिदिए डोनाल्ड ट्रम्पले । यो कटु यथार्थबीच पनि विश्वमा खुशी जनतामध्ये दक्षिण एशियामा नेपाल पहिलो स्थानमा परेकोमा सोझासाझा नेपाली दंगदास छन् । सत्ताधारीहरु यसलाई ठूलै जित सम्झेर बढाईचढाई दोहोराएर सुनाइरहेका छन् ।
देशमा सामाजिक समस्या गहिरिएको छ । राजनीतिक अस्थिरता त आउने जाने सामान्य भइसकेको छ । कसैको बहुमत आउँदैन । आर्थिक रुपमा बजार संकटमा छ । अनि देशमा असन्तुष्टि नबढे के हुन्छ र ? यही असन्तुष्टिमा मौका छोप्ने प्रतिष्पर्धा चलिरहेको छ । जनताको समस्याभन्दा पनि को सत्तामा जाने या गद्दीमा फर्कने भन्ने टकरावमा देशलाई धकेल्न खोजिदैछ । देशको मूल समस्या कुनै व्यक्ति विशेष होइन राजनीतिक प्रणाली, मूल्य मान्यतामा आएको ह्रास, विचारको सुन्यता नै हो । देशमा राजा फर्कने वा नफर्कने विषय आकाश खस्ने विषय पनि होइन । सत्ता र शक्तिमा को आउँछ को आउँदैन भन्ने गौण विषय हो । जब देशको राजनीतिमा नैतिक मूल्य मान्यताले जरो गाड्छ तब जो सत्तामा आएपनि पद्धति र प्रणाली ठिक भए केही फरक पर्दैन । व्यक्ति त प्रतिनिधि पात्र मात्र हो । अहिले मूल्य मान्यताको राजनीतिक रहेन । विचारको राजनीति गर्नेहरु मनी र मसलको राजनीति गर्नेबाट पाखा लगाइएका छन् । देशमा कस्ता व्यक्ति हावी छन् र के के भइरहेको छ भन्ने तथ्यले राजनीतिको तस्बिर छर्लंग पार्छ । अराजकता, उत्शृंखलता र सरम पचाएर बोल्नेहरुबीच सत्तामा पुग्ने तछाडमछाडबाट देश गम्भीर संकटमा फस्दै गएको प्रष्ट हुन्छ । त्यसैले देशमा समस्या फटाहा ठग र अराजकहरु हावी भएर भन्दा पनि सज्जन र विचारको राजनीति गर्नेहरु निष्कृय भएर हो । जोसुकै होस् ज्यानमारा र मूर्तिचोरको आरोपप्रत्यारोपमा उत्रने र आरोप लागेकाहरुबाट देश उभो लाग्दैन । दृष्टि साप्ताहिकमा प्रकाशित