वनका कर्मचारी र भू—माफियाको सेटिङमा गोदावरीको चापाखर्कमा वन विनास गरी विशाल प्लटिङ

ललितपुर, १२ चैत्र। भू—माफिया र वनका कर्मचारीको सेटिङमा गोदावरी नगरपालिका वडा नं. २ चापाखर्कमा एउटा गिरोहले प्लटिङ गरेको छ । उपत्यका विकास प्राधिकरणले प्लटिङमा कडाईका साथ मापदण्ड तोकेपनि वन क्षेत्र नै उजाड बनाएर प्लटिङ गरेको छ । यसका मुख्य नाइके हुन् बीरु महर्जन ।
बिरुले गोदावरी नगरपालिकाका जनप्रतिनिधि र वन विभागसँग सेटिङ मिलाई हजारौं रुख कटान गरी खुलेयाम डोजर चलाइरहेका छन् । भूमाफिया महर्जनकै सेटिङमा गोदावरी नगरपालिका वडा नं। २ का वडाअध्यक्ष मनोहर सिलवालले गोदावरी कुण्ड चापाखर्क लठ्ठा भञ्ज्याङ सडक स्तर उन्नतीका लागि ३० लाख बजेटमा धमाधम बाटो विस्तार गरिरहेका छन् ।
सो बाटो विस्तार कार्यमा हजारौं रुखहरु कटान गरी लथालिङ्ग अवस्थामा भिरमा फालिएका छन् । राष्ट्रिय योजनाको फास्ट ट्रयाक निर्माण कार्यमा वन विभागले रुख कटान गर्न नमिल्ने भन्दै रोकिएको कारण सो निर्माण कार्य अहिलेसम्म पूरा हुन सकेको छ्रैन । तर, ललितपुरको गोदावरी नगरपालिका वडा नं. २ मा पर्ने चापाखर्क सडक विस्तार गर्दा हजारौं रुख कटान हुँदा सो सडक निर्माण भइरहेको काखैमा रहेको वन विभागलाई पत्तो नभएको वन विभागका प्रमुखले जानकारी लिन खोज्दा थाहा नभएको जनाए । यसबारे बीरु महर्जनसँग बारम्बार सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
संकटग्रस्त घोषणा गरिसकेको सुमेरु सेभिङ्ग एण्ड को—अपरेटिभका संचालक तथा निवर्तमान सिईओको भूमिका निर्वाह गरी अकुत सम्पत्ति जोड्न सफल बनेका बिरु महर्जनले करोडौं लगानी गरी अरु कसैको नाम देखाएर प्लटिङ्ग गरिरहेका छन् ।
सो प्लटिङको जग्गा आनाको १ लाख पनि नपर्ने भए पनि बिरुले सुमेरुका बचतकर्ताहरुलाई आनाको ७—८ लाख रुपैयाँमा भिडाउन सेटिङ मिलाइरहेको बुझिएको छ ।
सो प्लटिङ पूर्णरुपमा विक्री वितरण गर्ने अवस्थामा नभएका कारण पहिला बैना गर्नेहरुको बैना फिर्ता नदिएपछि अहिले ललितपुर जिल्ला अदालतमा बैता दिनेहरुले मुद्दा हालेपछि बिरु महर्जन मुद्दा फिर्ता गराउन लागिपरेको स्रोतले दाबी गरेको छ ।
बिरु महर्जनले आर्थिक चलखेल गरेर स्थानीय जनप्रतिनिधि, कर्मचारीलगायतलाई प्लटिङमा सहयोगी बनाइरहेका छन् ।