दैलेखको श्री नेपाल राष्ट्रिय माविको भवन निर्माणको शिलान्यास

काठमाडौं, १२ चैत्र । दैलेखको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भवन निर्माणको शिलान्यास भएको छ । सोमबार दुल्लुस्थित विद्यालय भवनको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, भारतीय राजदूतावासका काउन्सलर अभिनाष कुमार सिंह र दुल्लुका मेयर भरतप्रसाद रिजालले संयुुक्त रुपमा शिलान्यास गरेका हुन् ।
भारत सरकारको ३ करोड ९० लाख रुपैयाँ अनुदान सहयोगमा निर्माण हुने भवन बहुउद्देश्यको हुने जनाइएको छ । भवनमा कक्षाकोठा, पुस्तकालय, बहुउद्देश्यको हल समेत हुनेछ ।
शिलान्यास कार्यक्रममा मन्त्री घनश्याम भण्डारीले सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिए । उनले नेपाल र भारतबीच सुमधुर सम्बन्धको चर्चा गरे ।