नागरिक उड्डयनका एमडी प्रदीपलाई ‘कालो धन’ लुकाउन सघाउने को को

नेपाली पेन, ८ चैत्र । नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक प्रदीप अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धानले गहिरो छानविन बढाएको छ । भित्र भित्र छानविन बढ्दा अख्तियारले अधिकारीको परिवार र उनीनिकटस्थहरुबारे निगरानी बढाएको छ ।
विश्वस्त स्रोतका अनुसार अख्तियार केही शंकास्पद व्यक्तिहरुको खोजीमा छ । धेरै खोज्दा पनि अधिकारीको धन कस्ले कहाँ लुकायो भन्ने पत्ता लाग्न कठिन भएको छ । तर, खोजी चलिरहेको छ । कुनै ठोस सूचना पाउनेवित्तिकै धेरै तथ्य बाहिर आउने देखिन्छ ।
अधिकारीले दुई व्यक्तिहरुलाई निकै विश्वास गरेर बिचौलिया र ठेकेदारका रुपमा पनि प्रयोग गरेको बुझिएको छ । ती दुई व्यक्तिहरुले नै कमिशनको रकम विदेश लुकाउन भूमिका खेल्दै आएका छन् ।
विभिन्न ठेक्कापट्टामा विदेशमा समेत डिल भएको बुझिएको छ । त्यस्ता रकम विदेशमै व्यवस्थापन सम्म भएका छन् ।
अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थल निर्माणका क्रममा ठूलो खेल खेलेका थिए । उनले निर्माण कम्पनी आफू अनुकूलकोलाई नै चुन्ने गरी प्रारम्भिक छनोट गराउने र दश गुणा बढी लागत बनाएर ठेक्का दिलाउने सम्म गरेको विषय चर्चामा छ । त्यस्ता ठेक्कामा ठूलो खेल भएको तर उनले त्यस्ता सम्पत्ति कहाँ राखे भन्ने चासोमा छ । अख्तियार त्यसैको खोजीमो रहेको बुझिएको छ ।
विगतमा विकल पौडेल र सुनिल पौडेलले पनि अनियमितता र कमिशनको रकम विदेशसम्म पुर्याएको तथ्य खुलेको थियो । विकलले अमेरिकामा साँढे ७ करोडको त घर नै खरिद गरेका थिए । सिंगापुर र दुबईमा अनियमितताको रकम राख्ने सम्मको प्रमाण अख्तियारले भेटेको थियो । नेपाली पेनले त्यस्ता रकम कहाँ कसरी राखियो र को को संलग्न भयो भन्ने खुलासा गरेको थियो । अहिले विकल र सुनिल दुवै अख्तियारले मुद्दा दायर गरी अदालतबाट दोषी ठहर भई जेलको हावा खाइरहेका छन् ।
विकलसँग जोडिएका पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल, पूर्वसचिव मधु मरासिनीबारे पनि नेपाली पेनले सनसनीपूर्ण खबर प्रकाशित गरेको थियो । दुवैमाथि अख्तियारले मुद्दा दायर गरेको थियो । नागरिक उड्डयनका अधिकारीमाथि पनि अख्तियारले केही तथ्य पत्ता लगाउनेवित्तिकै मुद्दा हाल्ने बुझिएको छ ।