ज्ञानेन्द्र शाहमाथि प्रचण्डद्वारा “भाइमारा”, “सुन तस्कर” देखि “मूर्ति चोर” सम्मको आरोप

काठमाडौं, १ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि राजा वीरेन्द्रको हत्याको आरोप लगाएका छन् । उनले वीरेन्द्रको वंशनाशको आरोप लगाउँदै ज्ञानेन्द्र शाहलाई चुरीफुरी नगर्न चेतावनी दिए ।
शुक्रबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजाको सक्रियतामा आक्रोश पोखे। उनले प्रश्न गरे, वंश मास्ने र मूर्ति चोर्नेहरूले धाक लगाउन मिल्छ ? । प्रचण्डले आक्रोश पोख्दै थपे, “२५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्याए, नेपाली जनताले बिर्सिएको छ ? मूर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा ? भाइमारा को हो ?” उनले भने, “आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिएको भन्ठानेको ?”
प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन गर्न चाहेको सुनाए । आफूले पूरा कार्यकाल प्रधानमन्त्री बन्न पाएको भए दरबार हत्याकाण्डको छानबिन निचोडमा पुर्याउने सुनाए ।
“मैले पहिलोचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकपटक छानबिन गर्नुपर्नेछ भन्ने ठानेको थिएँ । मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए एकपटक छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको ठेगान लगाउने विचार थियो,” प्रचण्डले भने ।
प्रचण्डले ज्ञानेन्द्रको सक्रियतालाई दुस्साहस भन्दै त्यसको जवाफ दिन आफूहरू तयार भएको बताए । उनले आफू प्रधानमन्त्री जनताको बलमा नै भएको बताए । “हामीलाई शान्तिसम्झौतामा कुनै प्रभुहरूले, राजामहाराजाहरूले ल्याएको होइन,” उनले भने ।