वित्तीय शोषणविरुद्ध आन्दोलनको घोषणा, सर्वेन्द्र खनालद्वारा पीडितलाई एकजुट हुन आग्रह

काठमाडौं, २२ फागुन । वित्तिय शोषणविरुद्ध सक्रिय ९ संगठनहरुले संयुक्तरुपमा सङ्घर्षको घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी चैत १७ गतेदेखि काठमाडौंमा विशाल प्रदर्शनसहित निर्णायक आन्दोलनको घोषणा गरेका छन् ।
पूर्व आईजीपी सर्वेन्द्र खनालले सबै किसिमका वित्तीय पीडितहरू एक ठाउँमा आउन आग्रह गरे । सहकारी, लघुवित्त तथा मिटरबाजीलगायतका सबै पीडितहरुको न्यायको बाधक प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकार नै भएको खनालले आरोप लगाए । उनले सबै मिलेर अन्यायका विरुद्ध सशक्त रुपमा बढ्नुपर्नेमा जोड दिए ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) का अध्यक्ष कुशलभ केसीले अबको आन्दोलन निर्णायक हुने बताए । उनले कुनैपनि धम्की र लाठीबाट पछि नहट्ने दृढता व्यक्त गरे ।
लघुवित्त तथा वित्तीय शोषणविरुद्धको सङ्घर्ष समिति अध्यक्ष मनिराम ज्ञवालीले पीडितहरू न्यायका लागि निरन्तर सङ्घर्षमा रहँदा पनि सरकारले नसुनेको र उल्टै पीडितहरूलाई नै दमन गर्न थालेको भन्दै आक्रोश व्यक्त गरे । आफूहरूको सङ्गठनसहित विभिन्न सङ्गठनहरूको संयुक्त लडाँईले सरकारलाई जसरी पनि घुँडा टेकाएर न्याय खोसेरै छाड्ने उद्घोष गरे ।
वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले सहकारी, लघुवित्त तथा मिटरबाजीलगायतका सबै पीडतहरुको न्यायको बाधक सरकार नै न्यायका लागि सरकारले आवश्यक रकमको कोष खडा गरेर उनीहरूलाई भुक्तानी गर्ने तथा अपचलन गर्ने संस्था र व्यक्तिलाई कारबाहीको दायरामा ल्याएर असुल गर्न सकिने सुझाव दिए ।