२२ फाल्गुन २०८१, बिहिबार | March 6, 2025

अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूची सार्वजनिक हुने, नेपालमा को को ?


5.1k
Shares

काठमाडौं, २२ फागुन । अमेरिकी सहयोग दुरुपयोग गर्ने संस्था र व्यक्तिहरुको सूची चाँडै सार्वजनिक हुने भएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी विकास परियोजना युएसएआइडीमार्फत् सहयोग गएका विभिन्न देशहरुमा रकम दुरुपयोग भएको सार्वजनिक भएकोमा कस्ले के कति दुरुपयोग गर्यो भन्ने पनि सार्वजनिक हुने बुझिएको छ ।

ट्रम्पले युएसएआइडीको रकम दुरुपयोगबारे छानविन गर्न लगाएका छन् । उनले विभिन्न देशमा भएका दुरुपयोग सार्वजनिक गरी सहयोग बन्द गराएका छन् । जसमध्ये नेपालमा संघीयता र जैविक विविधताका सम्बन्धमा आएको रकम पनि पर्छ ।

सरकारले युएसएआइडीको खर्चबारे अध्ययन गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरिसकेको छ । कुन कुन संस्थाले के कति कुन प्रायोजनले खर्च गरे भन्नेबारे अध्ययन भइरहेको बुझिएको छ । त्यसमा व्यक्तिबारे पनि अध्ययन चलिरहेको विश्वस्त स्रोतले बताएको छ ।

अमेरिकी सरकारले पनि नेपालमा भएको खर्चबारे चासो राखेको बुझिएको छ । यसकारण पनि सूची चाँडै सार्वजनिक हुने बुझिएको छ ।

यसैगरी, संसदमा अमेरिकी सहयोगको खर्चबारे चासो बढेको छ । बिहिबार काँग्रेस सांसद रामहरि खतिवडाले अमेरिकी सहयोगको दुरुपयोग गर्नेहरुबारे श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् । एनजीओ र आइएनजीओका नाममा आएका रकम र त्यसको दुरुपयोग गर्नेहरुबारे श्वेतपत्रको रुपमा जारी गर्न माग गरे ।

विश्वस्त स्रोतका अनुसार अमेरिकी सरकारले सम्पूर्ण विवरण संकलन गरेर उसको सहयोग दुरुपयोग गर्ने संस्था र व्यक्तिहरुबारे सार्वजनिक गर्नेछ । सँसारभर दुरुपयोग भएका रकमबारे सार्वजनिक हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पनि जनाएका छन् ।

प्रतिक्रिया