१९ फाल्गुन २०८१, सोमबार | March 3, 2025

राष्ट्रगुरु योगी नरहरिनाथलाई राष्ट्रिय विभुती घोषणा गर्न माग


4.6k
Shares

काठमाडौं, १८ फागुन । राष्ट्रगुरु योगी नरहरिनाथको १११ औं जन्मजयन्ती भव्य रुपमा मनाइएको छ । आइतवार काठमाडौं मखनकी जीवितदेवी ‘मखँ तारिणी कुमारी माजु’को सान्निध्यमा राष्ट्रगुरु योगी नरहरिनाथको जन्मजयन्ती मनाइएको हो । यस अवसरमा योगी नरहरिनाथलाई राष्ट्रिय विभुती घोषणा गर्न माग गरिएको छ ।

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिश तथा हिन्दू राष्ट्रिय स्वाभिमान जागरण अभियानका राष्ट्रिय संयोजक गोपाल पराजुलीको प्रमुख आतिथ्यतामा काठमाडौं प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा योगी नरहरिनाथको जीवन र योगदानको बारेमा चर्चा गरिएको थियो ।

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै पूर्व प्रधानन्यायाधिश गोपाल पराजुलीले राष्ट्रगुरु योगी नरहरिनाथ सिद्ध पुरुष, कर्मयोगी, महात्मा, राष्ट्रभक्त भएकोमा जोड दिनु हुँदै उहाँको जीवनबाट सिकेर एकजुट भई अगाडि बढ्न सके नेपाल अझै हिन्दु राष्ट्र बन्ने दिन धेरै टाढा नरहेको बताउनु भयो । योगीनरहरिनाथका योगदानको कदर गर्दै योगीको प्रेरक विचार र दर्शन नेपाली जनजनमा पु¥याउन राष्ट्रिय विभुती घोषणा गरेर योगीको नाममा विश्वविद्यालय स्थापना गर्नु पर्ने बताउनु भयो ।

सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा।डा। नन्द बहादुर सिंहले नेपालको पूर्नजागरणका महान् अभियन्ता नरहरिनाथलाई नेपालले चिन्न नसकेकोमा दुःख व्यक्त गर्नु हुँदै योगीजीको सम्मान गर्न नेपालको १९ औं राष्ट्रिय विभुती घोषणा गर्न सरकारसँग माग गर्नु भयो । सिंहले मौलिक धर्म संस्कृतिको रक्षाका लागि नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्ने बताउनु भयो ।

राजनीतिक विश्लेषक तथा हिन्दू राष्ट्रिय स्वाभिमान जागरण अभियानका महासचिव देवेश झाले धर्मनिरपेक्ष शब्द आफैंमा गलत भएको बताउनु हुँदै नेपालमा धर्मनिरपेक्षताको आडमा धर्मपरिवर्तन भईरहेको बताउनु भयो । नेपालमा शुरुमा हिन्दूलाई बौद्ध बनाउने र पछि बौद्ध बनाइएकालाई फेरी इसाई बनाउने षडयन्त्र भइरहेकोले यसको ज्वलन्त उदाहरण चेपाङ र थारु समुदाय देखिएको बताउनु भयो ।

बदरीनाथ नारायण धाम तथा शान्ति धामका पिठाधिश स्वामी श्री चतुर्भुजाचार्य चुडामणिले योगी नरहरिनाथको दर्शन र योगदानको बाटोमा हिँड्दा नेपाल छिटै हिन्दू राष्ट्र बन्ने बताउनु भयो ।

सर्वोच्च अदालतका पूर्व न्यायाधिश पुरुषोत्तम भण्डारीले योगीलाई लामो समयसम्म सरकार र देशले चिन्न नसके पनि अब योगीको योगदानको खोजी हुन थालेकोमा खुसी व्यक्त गर्नु भयो । योगी नरहरिनाथबाट प्रेरणा लिएर नेपालको मौलिक धर्म संस्कृतिको रक्षा गर्न एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो । भण्डारी राष्ट्रगुरु योगी नरहरिनाथज्यूको १११ औं जन्मजयन्ती समारोहका कार्यक्रम संयोजक हुनुहुन्छ ।

‘मखँ तारिणी कुमारी माजु’को पूजा अर्चना गरि शुरु भएको समारोहमा नेपाल प्रहरीका पूर्व महानिरिक्षक अच्युतकृष्ण खरेल, हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय संघ चालक कल्याण कुमार तिम्सिना, विश्व हिन्दू परिषद्का प्रदेश अध्यक्ष जीवन डंगोल लगायतका व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया