अध्यादेश असफल भए ओली सरकार ढल्नसक्ने
काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ वटा अध्यादेश मन्त्रिपरिषद्बाट पारित गरी राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी गर्न लगाए । ती अध्यादेश बिहिबार संसदमा प्रस्तुत हुने तय छ ।
अध्यादेश जारी भएको ३० दिनभित्र संसदबाट पारित नभए स्वतः खारेज हुने प्रावधान छ । त्यसैले ओली अध्यादेश पारित गराउन सक्रिय भएका छन् । उनले सत्ता गठबन्धन घटक र विपक्षीसँग वार्ता चलाएका छन् ।
अध्यादेश पारित गर्न जनता समाजवादी पार्टीको भूमिका महत्वपूर्ण हुन्छ । प्रतिनिधि सभाबाट पारित भएपनि राष्ट्रिय सभाबाट पारित गराउन जसपा नेपालको मुख्य भूमिका रहन्छ । जसपा नेपालको ३ सिट भएमा मात्र बहुमत ३० सांसद संख्या पुग्छ ।
तर, जसपा नेपाल पार्टी विभाजनको बदला लिने रणनीतिमा छ । उसले अध्यादेश पारित गराउन सहयोग गर्ने नगर्ने टुंगो छैन । तर, जसपा फुटेको मुद्दामा आफ्नो पक्षमा निर्णय गराउन उपेन्द्र यादवले बार्गेनिङ गर्न थालेका छन् ।
अध्यादेशलाई ओलीले प्रतिष्ठाको विषय बनाएका छन् । देशको राष्ट्रिय सुरक्षालगायत कतिपय संवेदनशील विषयमाथि खेलवाड गरी ओलीले अध्यादेशमा आफ्नो स्वार्थ देखाएका छन् । यसकारण पनि अध्यादेश फेल भएा सरकार ढल्नसक्ने सम्भावना रहन्छ । अध्यादेश असफल गराउन सबैभन्दा सक्रिय माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भएका छन् ।