हिन्दुत्व र पृथ्वीनारायण
डा. दीपेश केसीः हिन्दु विचारलाई सिरोधार्य गरेर पृथ्वीनारायण शाहले नेपालको एकीकरण मात्र गर्नुभएन तात्कालिन समयमा हिन्दू सिद्धान्तको जगलाई बलियो बनाउनुभयो । इस्लाम र त्यसपछि इशाईंहरुले हिन्दू राज्यहरुमाथि नियन्त्रण बनाइरहँदा पृथ्वीनारायण यस्ता महान योद्धा बन्नुभयो जसले हिन्दू राष्ट्रलाई जोगाउनुभयो । यस क्रममा उहाँले इस्लाम र इशाई आक्रमणकारीहरुलाई विफल समेत बनाउनुभयो । यसकारण पनि उहाँ नेपालको एकीकरणकर्ता मात्र नभई हिन्दु विचारका अभ्यासकर्ता पनि हुनुहुन्छ । हिन्दूहरु व्यक्तिगत स्वार्थमा विभिन्न राज्य बनाएर विभाजित अवस्थामा थिए । उहाँले हिन्दू राष्ट्र पराधीन हुनबाट जोगाउनका लागि साहसका साथ लडेर एकीकरण गर्नुभयो ।
डा. जगमान गुरुङले उल्लेख गरे अनुसार पृथ्वीनारायण शाहले नेपालभित्रका विभिन्न जातजातिको संस्कृतिलाई बचाउनुभयो उहाँका अनुसार नेपाल तराईमा विकसित मिथिला र कपिलवस्तुको प्राचीन गौरव गाथा लोप भइसकेको थियो । सिम्रौनगढको पतन भइ सकेको थियो । थारु राजा दङ्गी शरणको कथा मात्र बाँकी थियो । त्यस कारण त्यस वेला नेपाल तराईमा कुनै स्वतन्त्र राज्य थिएनन् । केवल जमिनदारी मात्र थिए । त्यस बेला भारतमा मुसलमानी साम्राज्यको पतन भएर अंग्रेजी साम्राज्य स्थापना हुन लागेको थियो । नेपाल उपत्यकामा इसाई पादरीहरु आएर बसिसकेका थिए । तिनीहरुले नेपालीहरुलाई पनि इसाई बनाएका थिए । हिन्दू समाजलाई योजनावद्ध तरिकाले भाँड्ने गतिविधि भइरहँदा पृथ्वीनारायण शाह नायक बनेर निस्कुनभयो । सिल्भाँ लेभीका अनुसार अंग्रेजहरुको नेपालमाथि हस्तक्षेप र मेजर किनलोकको नेतृत्वमा नेपालमा फौज पठाएको कारणले गर्दा गोरखा राजाको मिसनरीप्रतिको विचार बदलियो । युरोपेलीहरुको गतिविधिमा प्रश्न उठ्यो । पृथ्वीनारायणले सिंगो नेपालका राजा भएपछि सन् १७६९ मा क्यापुचिनहरुलाई आफ्ना अनुयायीहरुलाई पनि लिएर नेपाल छोडी बाहिर जाने आदेश दिए । हिन्दू समाजविरुद्धका गतिविधिप्रति पृथ्वीनारायण शाह शतिशाल बनेर खडा हुनुभयो । उहाँले सुन्य सहनशीलताको नीतिका साथ हिन्दूविरोधीप्रति कडा कदम चाल्नुभयो ।
डा. जगमान गुरुङका अनुसार जयप्रकाश मल्लले आफ्नो सहयोगका लागि अंग्रेजलाई गुहार्नुभएको थियो । अंग्रेजले त्यही मौका खोजी रहेका थिए तर पृथ्वीनारायण शाहले अंग्रेज र मुसलमानलाई सिन्धुलीगढीबाट माथि आउन दिनुभएन । तर, उहाँले जुनसुकै जातजातिका भएपनि नेपालीहरुलाई सुरक्षा दिनुभयो । नेपाली हो भने विरोधीप्रति पनि उहाँको लचिलो व्यवहार देखियो । डा. जगमान गुरुङका अनुसार पूर्वको हमलाका क्रममा सिक्किमतिर भागेर गएका राई लिम्बूहरुलाई पृथ्वीनारायण शाहले स्वदेशमा बोलाएर उनीहरुको अघि देखि चलि आएको थिती परम्परा, जग्गा जमिनको भोग चलन र हक अधिकार थामिदिनुभएको थिाये । यसरी पृथ्वीनारायण शाहले शासकको नभएर एउटा कुशल नेता तथा संरक्षकको दायित्व वहन गर्नुभयो ।
युद्धमा जितेपछि पनि पराजित राजाहरुलाई ससम्मान ठाउँ दिनुभयो । भक्तपुरका राजा रणजित मल्ल पृथ्वीनारायण शाहका मितबा र काठमाडौंका राजा जयप्रकाश मल्ल चाहिँ उनको मित हुनुहन्थ्यो । पृथ्वीनारायण शाहले यी राजाहरुलाई राजोचित सम्मान गर्नुभयो । रणजीत मल्ल ससम्मान बनेपामा गएर बस्न आग्रह गर्नुभयो तर उहाँले काशीबास जाने इच्छा देखाउनुभयो । आफ्ना मित जयप्रकाश मल्लको राजकीय सम्मानकासाथ अन्त्येष्टि कर्म गराउनुभयो । अहिलेसम्म पनि नेपाल सरकारको गुठी संस्थानबाट जयप्रकाश मल्लको श्राद्ध गरिरहेको छ । पृथ्वीनारायण शाह सच्चा हिन्दू हुनुहुन्थ्यो भन्ने उहाँका कदमहरुबाट पुष्टि हुन्छ ।
सांस्कृतिक परिवर्तनमा पृथ्वीनारायण शाहको योगदान छ । जगमान गुरुङका अनुसार सैनिक सेवामा रहेका बाहुन क्षेत्रीले लुगा नकाढीकन भात खाए हुन्छ, जात जाँदैन, सैनिक सेवामा रहेका बाहुन, क्षेत्री, मगर र गुरुङहरु सँगै बसेर खाजा खाए हुन्छ, जात जाँदैन भनेर आपद् धर्मको नीति बनाए । आफू हिन्दू धर्मालम्बी एवं आर्य संस्कृतिका अनुयायी तागाधारी ठकुरी भए तापनि कुमारीको रुपमा स्थापना गरिएका बौद्ध बाँडाका छोरीलाई गोडामा नै ढोगेर पुथ्वीनारायण शाहले कुमारीको सम्मान गर्नुभयो । त्यतिबेलाका समाजमा उहाँको यो उदारता र महानता उदाहरणीय छ । डा. तुलसीराम वैद्यका अनुसार राष्ट्र निर्माणका अभियन्तामा पृथ्वीनारायण शाहले विजित क्षेत्रको धर्म, संस्कृति र परम्परालाई आत्मसात् गरी जस्तै कान्तिपुरको देवीकुमारीको रथ यात्रा यथावत् सञ्चालन र देवीकुमारीबाट टिका थाप्ने कार्य गर्नुका साथै काठमाडौं उपत्यकाका अनेक धार्मिक र सांस्कृतिक कृयाकलापहरुलाई यथावत् सञ्चालन गर्न दिएको र आफै पनि अगाडि बढ्दै गएको प्रमाणित भएको पाइन्छ । दीर्घराज प्रसाईंका अनुसार नेपालको राष्ट्रिय एकीकरणको अभियानमा प्रारम्भमा मगर, गुरुङ, खस, ठकुरी, ब्राम्हणलगायत जातिहरुबाट सहयोग पुग्न गएको र विस्तारै जात जातिहरुले आत्मसात् गरेर सहयोग गर्न पुगेका थिए । पृथ्वीनारायण शाहले गोरखनाथका जोगीहरुबाट समेत नेपाल एकीकरणमा सहयोग लिन सक्नुभयो ।
पृथ्वीनारायण शाहले सबैको साथ र सहयोग लिन सक्नुभयो । उहाँको जन्म नै भुटानका अवतारी लामाको तान्त्रिक अनुष्ठानबाट भएको जगमान गुरुङले उल्लेख गर्नुभएको छ । गोरखनाथको वरदानबाट पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेको उल्लेख छ । सुरनथसिंह राना मगर पृथ्वीनारायण शाहका ददा हुनुहुन्थ्यो । विराज बखेती मगर पृथ्वीनारायण शाहका प्रियपात्र हुनुहन्थ्यो । भानु जोशी अज्र्याल र कुलानन्द जोशी ढकाल गुरु पुरोहित हुनुहुन्थ्यो । भक्तविजय काँव्यका रचयिता ललितवल्लभ अज्र्याल पृथ्वीनारायण शाहका दरबारिया कवि हुनुहुन्थ्यो । काजी अर्थात् मन्त्री कालु पाण्डे हुनुहुन्थ्यो । सेनापति शिवराम बस्नेत हुनुहुन्थ्यो । पृथ्वीनारायण शाहको समयमा दीनानाथ उपाध्याय भारततिरका र लाल गिरी तिब्बततिरका दूत हुनुहुन्थ्यो । झागल गुरुङ गाइनेको भेष गरेर विभिन्न षड्यन्त्रलाई विफल गराइदिनुभएको थियो । मणिराम गाइने पृथ्वीनारायण शाहका पालाका चर्चित गायक हुनुहुन्थ्यो । जया र बिस्या प्रमुख नगर्ची हुनुहुन्थ्यो । बिस्या नगर्चीको सल्लाहबाट पृथ्वीनारायण शाहले गोरखाको १२ हजार घर धुरीबाट १–१ रुपैयाँ उठाएर काशी गई हातहतियार ल्याएर नेपालको एकीकरण गर्नुभएको थियो । योगी नरहरिनाथले सेख जरवर, ममतकि र भेषार्सि यी तीन मुसलमानहरुले पृथ्वीनारायण शाहको सेनालाई तालिम दिएको उल्लेख गर्नुभएको छ । यसरी उहाँले नेपालका सबै जात जाति क्षेत्र समुदायबाट साथ लिने खुबी राख्नुभयो । एउटा मालामा उन्नुभयो सबैलाई र सुन्दर देश निर्माण गर्नुभयो ।
उहाँले हिन्दू धर्मबाट देशका भिन्न जातजाति, क्षेत्र र समुदायका जनजनलाई जोड्नुभयो र एकीकृत नेपाल राष्ट्र निर्माण गर्नुभयो । हिन्दू विचार अर्थात् हिन्दुत्व नेपाली समाजलाई जोड्ने धागो हो भन्ने उदाहरण पृथ्वीनारायण शाहले व्यवहारबाट प्रमाणित गर्नुभयो ।
डा. जगमानका अनुसार पृथ्वीनारायण शाहले नेपाल आएका इसाई पादरी तथा तिनले ईसाई बनाएका नेपालीहरुलाई देश निकाला गर्नुभयो । यसरी नेपालबाट निष्कासित इसाई पादरी तथा तिनले इसाई बनाएका नेपालीहरु बेतिया र दार्जिलिङमा बस्न गए । पृथ्वीनारायण शाह ब्रिटिस उपनिवेशवादको विरोधी तथा आफ्नो मुलुकबाट इसाईहरुलाई निष्काशन गर्ने अभियानका अभियन्ता पनि हुनुहुन्थ्यो ।
यस्ता महान राजा पृथ्वीनारायणले जम्मा ५२ वर्षको जीवन पाएपनि महान कार्य गरेर जानुभयो । राजाका रुपमा उहाँ जम्मा ३२ वर्ष मात्र गद्दीनसिन हुनुभयो । उहाँलाई काठमाडौं जित्न मात्र २६ वर्ष लाग्यो । उहाँले पहिलो युद्ध हार्नुभयो । नुवाकोटमा १८०० मा पहिलो आक्रमण गरेर असफल हुनुभयो । तर, धैर्य गुमाउनुभएन । दिनेशराज पन्तका अनुसार नुवाकोटको पहिलो युद्धमा पराजयको अनुभव गरेपछि पृथ्वीनारायण शाह यस विषयमा गहिरिएर सोच्न बाध्य हुनुभयो । त्यसपछि उहाँ काशीतिर लाग्नुभयो र त्यहाँ भारतको तत्कालिक परिस्थितिको अध्ययनको साथसाथै केही शस्त्रसंग्रह गरी गोर्खा फर्कनुभयो । १८०१ असोज १५ मा नुवाकोटमा दोस्रो आक्रमणमा सफल हुनुभयो । यहीबाट नेपाल एकीकरणको आरम्भ भयो । एकीकरणमा इशाई र मुसलमान बाह्य शक्तिको अवरोध भयो ।
दिव्योपदेशमा काशिम अलि खान नवाफ मकवानपुरमा चढेको र एक सय बीस खुँडाले काटी घर्काई सिमाना कटाई आएको उल्लेख गरिएको छ । १८२४ मा सिन्धुलीमा अंग्रेज फौजका नेता किनलकसँगको युद्धमा विजय हासिल गर्नुभयो । पृथ्वीनारायण शाहको दिव्योपदेशमा भनिएको छः तीन चार पल्टन लिएर सिन्धुलीगढीमा हाँडीसाहेब चढ्यो र उहाँ पनि काटी बन्दूक खोसी ल्याएँ ।
पृथ्वीनारायण शाह नेपाल राष्ट्रको धर्म, संस्कृति, भूगोल र इतिहास बुझेको राजा हुनुहुन्थ्यो । योगी नरहरिनाथले संकलन गर्नुभएको पृथ्वीनारायण शाहको दिव्यउपदेशमा भनिएको छः उप्रान्त । यो राजे दुई ढुङ्गा को तरुल जस्तो रहेछ । चीन बादशाह सित ठूलो घाहा राखनु । दुषितको समुन्द्रका बादसाह सिट घाहा ता राख्नु तर त्यो महाचतुर छ । हिन्दुस्थाना दबाई राखेछ । हिन्दुस्थानमा इशाई अंग्रेजको शासनतर्फ उहाँको गम्भीरता यसबाट देखिन्छ ।
पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिम समयमा दिव्योपदेश दिनुभयो । उपदेश दिएको लगत्तै वि.सं. १८३१ माघ १ गते उनको मृत्यु भयो । दिव्योपदेशमार्फत् पृथ्वीनारायण शाहले भन्नुभएको छः मेरा साना दुःखले आर्जेको मुलुक होइन । सबै जातको फूलबारी हो । सबैलाई चेतना भ यो फूलबारीका छोटा बडा चारै वर्ण छत्तीसै जातले यो असल हिन्दुस्थान हो आफ्नो कुलको धर्म नछोड्नू । उहाँले नेपाललाई असली हिन्दुस्थान भन्नुभयो । डा. तुलसीराम वैद्य असी प्रतिशतभन्दा बढी जनता हिन्दूहरु भएको देशलाई हिन्दू राष्ट्र भन्नु गलत नभएको तर्क गरेका छन् । नेपाललाई सबै जातको साझा फूलबारी भन्नुभयो । बौद्ध र मुसलमानहरुलाई सहज रुपमा लिनुभयो । तर, इशाईप्रति उहाँको कठोर व्यवहार देखियो । आफ्नो दिव्योपदेशमार्फत् उहाँले जीवनका कठिन मोडहरुको व्याख्या गर्नुभयो । नेपालको भूराजनीतिक अवस्थिति, बाह्य मुलुकसँगको सम्बन्ध देखि अर्थराजनीतिबारे दूरगामी सन्देश दिनुभयो । उहाँले नेपाललाई असली हिन्दुस्थान भनेर नेपालको राष्ट्र धर्म, सामाजिक संरचना र नेपाल हिन्दुत्वको जगमा उठेको राष्ट्र हो भन्ने प्रष्ट पारेर जानुभयो ।