वर्ल्डलिंकमार्फत् ठूलो परिमाणमा विदेशी मुद्रा लान खोजिदै
काठमाडौं, २४ पौष । देशबाट पूँजी पलायनको चलखेल विभिन्न तरिकाले चलिरहेको छ । विगतमा आयात निर्यातका कम्पनीले कम सामान आयात गरी बढी देखाएर रकम पलायन गर्दथे । अहिले दूरसञ्चार सम्वद्ध कम्पनीहरु विदेशी मुद्रा पलायनमा योजनावद्ध तरिकाले लागेका छन् ।
इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले यस्तै योजना बनाएको छ । उसले विदेशी मुद्रा सटही र उपकरण आयातको सिफारिश दिन नेपाल दूरसञ्चार प्राधिकरणमा आवेदन दिएको छ । यसका लागि उसले पुरानो करलगायतको बक्यौता पनि तिरेको छ । तर, प्राधिकरणले अनुमति दिएको छैन ।
वर्ल्डलिंकले अरबौं रकम विदेश पठाउने योजना बनाएको चाल पाएर चलखेल भएको छ । यसका लागि पनि अनुमति अड्किएको हो । विदेशी कम्पनीलाई ब्यान्डविथको बक्यौता भुक्तानी गर्ने लगायत प्रायोजनका लागि भन्दै विदेशी मुद्रा सटहीको सिफारिश मागेको हो । प्राधिकरणले पर्याप्त कागजात नपुगेको भनेर अस्वीकार गरिदियो ।
ब्यान्डविथ खरिदका लागि भन्दै भारतीय कम्पनीलाई डेढ अर्ब तिर्नुपर्ने हिसाब वर्ल्डलिंकले देखाएको छ । यसमा पनि शंका उब्जिएको छ ।
नेपालमा नेपाल टेलिकम, एनसेललगायत दूरसञ्चार कम्पनीले एयरटेल, टाटा जस्ता कम्पनीमार्फत् ब्यान्डविथ लिने गरेका छन् । तर, वर्ल्डलिंकले सिधै हङकङको कम्पनीलाई तिर्ने गरेको छ । उसले तिर्नेगरेको मूल्य र अन्य कम्पनीले तिर्ने गरेको मूल्य दाँज्न जरुरी देखिन्छ । उसको खरिद मूल्य अस्वाभाविक देखिएकाले पूँजी पलायनको आशंका छ । नेपालमा विभिन्न तरिकाले विदेशमा रकम लाने गतिविधि बढेको छ । यसमा दूरसञ्चार कम्पनीहरुको चलखेल बढ्न थालेको छ ।