ऊर्जामन्त्री खड्काको कमाऊ धन्दामा बाधक बनेपछि कुलमानलाई हटाउने तयारी
काठमाडौं, २२ पौष । व्यापारिक पृष्ठभूमिका ऊर्जामन्त्री दिपक खड्काको कमाऊ धन्दामा बाधक बनेपछि नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने अन्तिम तयारी भएको छ । उनलाई तेस्रोपटक स्पष्टिकरण सोधिएको छ ।
सोमबार सोधिएको स्पष्टिकरणमा कुलमानलाई हटाउने चेतावनी पनि दिइएको छ । डेडिकेटेड र ट्रंक लाइनको महशुल उठाउने मामलामा ऊर्जामन्त्री खड्का र प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङबीच विवाद चल्दै आएको छ । महशुल नतिर्ने उद्दोगीसँग मन्त्री खड्का र सरकारका शक्तिशाली व्यक्तिहरुले मोटो रकम असुलेको विषय उठ्दै आएको छ ।
पछिल्लो समय १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजना निर्माणको ठेक्का दिलाउन ऊर्जामन्त्री खड्का प्रत्यक्षरुपमा चेक लेनदेनमै सहभागी भएको खुलासा भएको छ । आवेदन दिएकामध्ये ४ कम्पनीलाई प्रतिष्पर्धाबाट बाहिरिन ठेक्का मूल्यको एक एक प्रतिशत रकमको चेक बाँडिएको छ । त्यसमा खड्का आफै संलग्न भएका छन् । १६ अर्बको ठेक्कामा ठेक्का छाड्न ४ कम्पनीलाई दशौं करोडको चेक बाँडिएको छ ।
जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि जेआईइसी र शर्मा एण्ड कम्पनीमार्फत चिनियाँ कम्पनी झोङदिङ इन्टरनेशनल, आरएससी र अविर, हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन र एजीई कम्पनी, सिनो हाइड्रो कर्पोरेशन, जेसीई र एएनके ज्वाइन्ट भेन्चर, रेल विकास निगम, पटेल इन्जिनियरिङ र लामा कन्स्ट्रक्सन तथा ओम र फेला जेपी कन्स्ट्रक्सनले संयुक्तरुपमा आवेदन दिएका थिए । हाई हिमालय हाइड्रो र एजीई कम्पनीलाई ठेक्का दिलाउन अन्यलाई ठेक्का रकमको एक एक प्रतिशतका दरले चेक बाँडिएको हो ।
काँग्रेस पूर्वमहामन्त्री डा. सशांक कोइरालानिकट सांसद दिपक गिरीका नातेदार किरण मल्ल हाई हिमालय हाइड्रोका अध्यक्ष हुन् । ऊर्जामन्त्री खड्का सशांक कोइरालको कोटाबाट मन्त्री बनेका हुन् । उनैका लागि खेल खेलिएको हो । मन्त्री खड्काले जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटालाई हाई हिमालयलाई ठेक्का दिलाउन दबाब दिएका थिए । तर, कुलमानको दबाबले सफलता हासिल हुन सकेन । सापकोटालाई हटाउन खोजेका छन् मन्त्री खड्काले । ठेक्का नै रद्द भएपछि तरंग आएको छ ।
पछिल्लो घटनापछि मन्त्री खड्काले कुलमानलाई हटाउन ९ बुँदे स्पष्टिकरण सोधेका हुन् । खड्काको निर्देशन अनुसार ऊर्जासचिव सुरेश आचार्यले सातदिनभित्र चित्तबुझ्दो जवाफ दिन भन्दै स्पष्टिकरण सोधेका हुन् । जसमा हटाउने सम्मको विषय उल्लेख छ ।
कुलमानको कार्यकाल सात महिना बाँकी छ । यो समयमा प्राधिकरणमा मालदार कामहरुको निर्णयको प्रयास चलेको छ । तर, कुलमानको ऊर्जामन्त्री खड्कासँग कुरा मिलिरहेको छैन ।