एनसेलको खरबौंको शेयर ६ अर्बमा विक्री गर्ने निर्णयविरुद्धको रिट खारेज भएपछि न्यायालयमा खैलाबैला
काठमाडौं, १२ पौष । एनसेलले देशको राज्य संयन्त्र नै चलाउन खोजिरहेको छ । उसले कर छली, नवीकरण देखि शेयर विक्रीमा समेत अनियमितता गर्दा राज्य संयन्त्रलाई प्रभावमा पादैै आएको छ । यतिसम्मकी एनसेल सञ्चालकले सरकार बनाउने र ढलाउने सम्मका गतिविधि गर्दै आर्थिक स्वार्थ पूरा गरिरहेको घटनाक्रमले पुष्टि गर्दै लगेको छ ।
एनसेलको स्वार्थ पूरा गर्न न्यायाधीश बनाउन समेत चलखेल भएको नेपाली पेनले खुलासा गरिसकेको छ । यो हदसम्म माफिया शैलीमा एनसेल सक्रिय छ । उसले विरोधीको मुख बन्द गराउन साम, दाम, दण्ड, भेदको रणनीति समेत बुनेको छ ।
मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई ६ अर्ब ६६ करोड रूपैयाँमा विक्री गर्ने निर्णयबिरुद्ध परेको रिट सर्वोच्च अदालतले हालैमात्र खारेज गरिदिएको छ । यो खबरलाई कहीं कतै फैलन नदिन एनसेलले संयन्त्रलाई सक्रिय पारेको छ । एनसेलमा २० प्रतिशत सेयर रहेका नेपाली नागरिक भावनासिंह श्रेष्ठका श्रीमान सतिशलाल आचार्यले बेलायतमा योजनावद्ध तरिकाले स्पेक्ट्रलाइट युके लिमिटेड दर्ता गरी आजियाटाको ८० प्रतिशत सेयर खरिद गरेको खुलिसकेको छ ।
अरबौैं कर छल्नका लागि कम मूल्यमा बिक्री गरेको देखाएकोमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले २०८० मंसिर २० गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । रिट निवेदनमा एनसेलको अनुमतिपत्र रहुञ्जेलसम्म आजियाटाले एनसेलको आम्दानी लैजाने गरी सेयर खरिदबिक्रीको सम्झौता भएको दाबी रिट निवेदनमा गरिएको थियो । सर्वोच्चले रिट खारेज गरेर कौडीको मूलयमा शेयर खरिदविक्रीलाई वैधता दिन खोजेको छ । यसले राज्यलाई दशौं अर्ब नोक्शानी हुने देखिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र टेकप्रसाद ढुंगानाको इजलासले सेयर खरिदबिक्रीविरुद्ध परेको रिट खारेज गरेसँगै निर्देशनात्मक आदेश समेत जारी गरेको छ । यसले देशको अहिलेसम्मकै ठूलो भ्रष्टाचारकाण्डलाई छोप्न र वैधता दिने मार्ग खोलेको छ ।
सन् २०१६ मा आजियाटाले एनसेलमा रहेको रेनोल्ड्स होल्डिङको ८० प्रतिशत सेयर १ खर्ब ४३ अर्ब रूपैयाँमा खरिद गरेको थियो । सात वर्षमा खरिद मूल्यको ९५.३५ प्रतिशत कम मूल्यमा बिक्री भएको हो । यो कर छल्ने नियतले भएको स्पष्ट छ ।