१४ माघ २०८१, सोमबार | January 27, 2025

तपाईँ हिन्दू, इसाई कि कम्युनिष्ट धर्मालम्बी ?


December 25, 2024
1.8k
Shares

डा. दीपेश केसीः मानिस कि त बाल्यकालमा झुट बोल्दैन कि त वयोवृद्धावस्थामा । लामो कम्युनिस्ट राजनीतिमा होमिएर पटक पटक सांसद बनिसकेका विचारक कमल प्रसाद कोइराला पनि वयोवृद्धावस्थामा छन् । ९० वर्ष नजिक पुग्न लागेका उनी दिवंगत पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन् । कोइराला परिवारको सदस्य हुनुले उनको रगतमै राजनीति छ । उनका काका वीपी पहिलो निर्वाचित प्रधानमन्त्री हुन् भने अर्का काका गिरिजाप्रसाद कोइराला देशलाई गणतन्त्र घोषणा गर्दाका प्रधानमन्त्री हुन् । भाईबहिनी शेखर, सुजाता र सशांक काँग्रेसको सक्रिय राजनीतिमा छन् । सारा कोइराला परिवारका सदस्य र नातागोता काँग्रेसमा लाग्दा उनी भने कम्युनिस्ट राजनीतिमा लागे । अहिले पनि उनी कम्युनिस्ट विचारक नै छन् ।

उनै कमल कोइरालाले हालैमात्र एउटा कटु सत्य बोले । साम्यवाद क्रिष्चियन, मुस्लिम, यहुदी इत्यादि धर्म जस्तै आरको एउटा धर्म हो । जेजस क्रिष्चियन धर्मका प्रवतर्क झै माक्र्स कम्युनिज्म धर्मका प्रवतर्क हो । यही नै सत्य हो भनेका कोइरालाले लामो कम्युनिस्ट राजनीति गरेर अनुभवका आधारमा सत्य बोलेका छन् । वास्तवमा कम्युनिज्म धर्म हो जसलाई माक्र्सले प्रवर्तन गरेका थिए । धर्मलाई अफिम हो भनेका माक्र्स आफैले वास्तवमा नयाँ धर्मको रचना गरिरहेका थिए भन्ने तर्क समाजशास्त्रका ख्यातिप्राप्त प्राध्यापक अभिजित पाठकले गर्दैै आएका छन् । कम्युनिस्टहरुले माक्र्सलाई देवता जसरी नै पूज्छन् । नेपालका कम्युनिस्टहरुले पनि माक्र्सको तस्बिरलाई फूलमाला र अबिर छर्केर पूजा गर्छन् अहिले ।

साम्यवादी, जनवादी, समाजवादी जुनसुकै विचारधाराका कम्युनिस्टहरु कम्युनिज्म धर्मलाई फैलाइरहेका छन् । उनीहरु धर्मको राजनीतिक गर्नु हुँदै भन्दै गर्दा कम्युनिज्मलाई धर्मका रुपमा प्रचार गरिरहेका छन् । नेपालका कम्युनिस्ट नेताहरु पनि कम्युनिज्म धर्मका प्रचारक हुन् । जो आफ्नो धर्मलाई फैलाउँदै देशको धर्म हुँदैन भन्ने कुतर्क गरिरहेछन् । देशमा धर्मनीरपेक्ष भन्ने तर सनातन हिन्दूविरोधी ग्रान्डडिजाइनका हली बनिरहेका छन् । जानीनजानी कम्युनिज्म धर्मको प्रभाव बढाउन खोजिरहेछन् ।

नेपालमा कम्युनिस्टहरुले जातियताको राजनीति समेत गरे भने धर्मको राजनीतिक त गर्ने नै भए । जातीय राजनीतिमा माक्र्सवाद र माओवादी मान्ने प्रचण्ड अगाडि छन् । कम्युनिस्ट पृष्ठभूमिका बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राईलगायतले पनि जातीय मुद्दालाई नै बढावा दिइरहेका छन् । जबकि माक्र्सवादले वर्ग संघर्षको सवाल उठाउँछ जातिवादको होइन । जातीयताको मुद्दा जोडतोडले उठाउने माओवादी र त्यसका नेता प्रचण्डले यसैबाट राजनीतिक लाभ लिदै आएका छन् । रोचक त यो छ कि बाहुन जातका प्रचण्डले भनेपछि मात्र जनजाति र दलितले जातीय मुद्दाको राजनीतिलाई पत्याए । उनको मुद्दाले हिन्दू र बौद्ध धर्ममाथि सशस्त्र गतिविधिको माध्यमले सबैभन्दा बढी प्रहार पनि गरेको थियो । हिन्दू धर्मगुरुको हत्या देखि आक्रमण माओवादीको सशस्त्र गतिविधिको समयमा सबैभन्दा बढी भयो । एकप्रकारको त्रास फैलाइयो हिन्दू धर्मालम्बीमाथि ।

हिन्दू र बौद्धको धर्मान्तरण कम्युनिज्म धर्ममा अभियानकै शैलीमा चलाइएको छ । यसको लाभ गैरसनातनी धर्मका प्रचारकहरुले पनि लिइरहेका छन् । धर्मान्तरण योजनावद्ध तरिकाले चलाइएको छ अहिले । कम्युनिज्म धर्मका रुपमा स्थापना गरिदै गर्दा त्यो फरक शैली र दूरगामी योजनाकाका साथ गरिएको छ । यो कटु यथार्थ हो । यसकारण नेपालमा कम्युनिज्म धर्मले जरो गाड्न खोज्दा हिन्दू, बौद्धलगायत सनातन धर्मालम्बीले बेलैमा मनन गर्नुपर्ने हुन्छ कि कहीं कतै नजानिदो तरिकाले कम्युनिज्म धर्ममा धर्मान्तरण त भइरहेको छैन । कहिले नास्तिक त कहिले धर्मनीरपेक्षको मन्द विष छर्ने गतिविधि कम्युनिस्ट नेताबाट बढी भइरहेको छ । समाजवादी विचारधाराका कतिपय गैरकम्युनिस्ट नेताहरु पनि यो अभियानमा सक्रिय छन् । उनीहरु निरन्तर नेपालको राष्ट्रधर्ममाथि योजनावद्ध प्रहार गरिरहेका छन् । यहाँको धर्म संस्कृति, रीतिरिवाज र परम्परालाई कुरीति र कुसंस्कारको नाम दिएर आधुनिकताको नाममा धर्मान्तरण गराउन लागिपरेका छन् । यो सँसारमा कोही पनि कुनै विषयमा नीरपेक्ष रहन सक्दैन । यदि नीरपेक्ष दाबी गर्छ भने ऊ भन् सापेक्ष हुन्छ । कोही आफूलाई धर्मनीरपेक्ष दाबी गर्छ भने ऊ कुनै न कुनै धर्मको कट्टरता गुम्साएर वा लुकाएर सक्रिय छ । यसकारण हरेक नेपालीले आफू हिन्दू, बौद्धलगायत सनातनी, इशाई, इस्लाम वा कम्युनिज्ममध्ये कुन धर्मालम्बी हो यकिन गर्न जरुरी हुन्छ । मानिस कदापि एकसाथ हिन्दू र क्रिष्चियन बन्न सक्दैन । एकसाथ हिन्दू र मुस्लिम पनि बन्न सक्दैन । त्यसरी नै एकसाथ हिन्दू र कम्युनिस्ट पनि बन्न सक्दैन । यसकारण तपाईँ के हो यकिन गर्नुहोस् । देशको धर्म हुँदैन भन्नेले भविष्यमा व्यक्तिको धर्म हुँदैन भन्दै माक्र्सकै शैलीमा धर्म अफिम हो भन्दै कम्युनिज्मलाई धर्म फैलाउने र माक्र्सलाई ईश्वरका रुपमा पूजा गराउने क्रम बढाउन थाल्नेछन् ।

प्रतिक्रिया