२ माघ २०८१, बुधबार | January 15, 2025

भारतको सहयोगमा निर्माण भएको सुष्मा कोइराला नर्सिङ्ग क्याम्पसको भवन


December 14, 2024
498
Shares

काठमाडौं, २९ मंसिर । भारतको सहयोगमा निर्माण भएको सुष्मा कोइराला नर्सिङ्ग क्याम्पसको भवनको उदघाटन भएको छ । झण्डै ३ करोड लागतमा निर्माण गरिएको क्याम्पस र छात्रावास भवनको शुक्रबार उद्घाटन भएको हो ।

जिल्ला समन्वय समिति, काठमाडौँका प्रमुख सन्तोष बुढाथोकी तथा भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अविनाश कुमार सिंहले क्याम्पस व्यवस्थापन समितिलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरुको समेत उपस्थिति थियो ।

भारत सरकारको अनुदान सहयोग दुई तले छात्रावास भवन र अन्य सहयोगी संरचनासँगै दुई तल्ले कक्षाकोठा भवन निर्माणमा उपयोग गरिएको थियो । उक्त परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो र जिल्ला समन्वय समिति, काठमाडौँ मार्फत कार्यान्वयन गरिएको थियो।

जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख, शंखरापुर नगरपालिकाका उपमेयर, राजनीतिक प्रतिनिधिहरु, र सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पसका अध्यक्षले नेपाली जनताको उत्थानमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए । नवनिर्मित संरचनाले सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पसका विद्यार्थीहरूलाई व्यावसायिक शैक्षिक दक्षता प्रदान गर्न सहयोगी हुने अ‍ेक्षा गरिएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तलिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पस सन् २००० मा स्थापना भएको हो । क्याम्पसले तीन वर्षे प्रोफिसियन्सी सर्टिफिकेट लेभल कोर्स अध्यापन गराउँदै आएको छ र प्रत्येक वर्ष १२० तालिमप्राप्त नर्स उत्पादन गर्दछ।

५। नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यी परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

प्रतिक्रिया