७ कार्तिक २०८१, बुधबार | October 23, 2024

ओली घेराबन्दीमा पर्दै


October 23, 2024
3.2k
Shares

काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली घेराबन्दीमा पर्दै गएका छन् । मीनबहादुर गुरुङ्गबाट जग्गा दान प्रकरणले उनले पार्टीभित्र संगठित समूहको आलोचना खेपेका छन् । पछिल्लो महाधिवेशनबाट अध्यक्ष चयन भएपछि उनले पहिलोपटक यस्ता आलोचना खेपेका हुन् ।

ओलीलाई हटाएर विद्या भण्डारीलाई नेतृत्वमा ल्याउने रणनीतिका साथ एमालेको एउटा समूह सक्रिय छ । यसबाट ओली झस्किएका छन् ।

ओलीले दल विभाजनलाई सजिलो बनाउने गरी विधेयक ल्याउन खोज्दा नेपाली काँग्रेसको अवरोध खेपे । अन्तिम समयमा उनी पछाडि हट्न वाध्य भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले ओलीलाई कतिपय निर्णय गर्न वाध्य पारेका छन् । जसमध्ये सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई दिइएको आदेश पनि हो । ओली काँग्रेसको रणनीतिक घेराबन्दीमा पर्दै गएका छन् ।

प्रचण्ड नेतृत्वको विपक्षी गठबन्धन पनि ओलीप्रति आक्रामक बनेको छ । उनीहरु सडकमा पनि आउन थालेका छन् । प्रचण्डसँगको टकरावले ओली भविष्यमा कम्युनिष्ट एकता वा गठबन्धनको ढोका बन्द गर्दै गएका छन् । अर्कोतर्फ, प्रचण्डले कुनैपनि बेला सरकार ढाल्ने अवस्था पनि आउन सक्छ । ओलीलाई साथ दिइआएका रवि लामिछानेको दल रास्वपासँग दूरी बढिरहेको छ । माधव नेपाल त झन् आक्रामक हुने भइहाले । महन्थ ठाकुर पनि विपक्षी गठबन्धनतर्फ बढेका छन् ।

ओलीले विदेश भ्रमणमा संयुक्त राष्ट्रसंघको महासभा मात्र पुगेका छन् यसपटक । अमेरिका पुगेर उनले मोदीलाई भेटेपनि भारतबाट भ्रमणको निम्तो पाएका छैनन् । चीन जाने तयारी पनि देखिदैन । बाह्य रुपमा ओलीलाई छिमेकको विश्वास पनि देखिएको छैन ।

प्रतिक्रिया