२ आश्विन २०८१, बुधबार | September 19, 2024

हिंसा मच्चाएको माओवादीलाई हिंसा शब्दमा किन आपत्ति


September 14, 2024
747
Shares

समाचार विश्लेषण । नेकपा माओवादीले १० वर्ष लामो हिंसात्मक द्वन्द्व गरेको घाम जत्तिकै छर्लंग छ । माओवादी हिंसाबाट १७ हजार भन्दा बढी मारिएको इतिहास छ । उक्त हिंसाले नेपाललाई राजनीतिक, आर्थिक र सामाजिक रुपमा निकै पछाडि धकेल्यो ।

माओवादी हिंसाको बलमा भएको राजनीतिक परिवर्तनले नयाँ संविधान मात्र बनेन देशमा संघीयता र धर्मनीरपेक्षता स्थापित भयो । माओवादीले हिंसाको तारो बनाए भिन्न राजनीतिक विचार बोकेकालाई ।

माओवादीको तारोमा सबैभन्दा बढी हिन्दू धर्मका गुरु देखि संस्कृति पढाउने शिक्षक समेत बनेको इतिहास साक्षी छ । माओवादीले आफ्नो गतिविधि धार्मिक थिएन त भन्यो तर हिन्दूमाथि हिंसा नै मच्चायो । मन्दिरका पूजारी मारिए, वाचन गर्दै हिंड्ने गुरुहरु मारिए ।

माओवादीको तारोमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारी र परिवार पनि परे । उनीहरुको तारोमा सबैभन्दा बढी काँग्रेस र राजावादी पनि परे । एमालेका केही नेता कार्यकर्ता पनि तारोमा परे । सुराकीलाई सफाया गर्ने भन्दै धेरै मारिए । माओवादीबाट बर्बर हत्या समेत भएको तस्बिरहरु इतिहासका पन्नामा सुरक्षित छन् ।

यो हदसम्मको बर्बर हिंसा मच्चाएको माओवादी भने हिंसा शब्दप्रति आपत्ति जनाउँछ । संसदमा माओवादी हिंसा भन्ने शब्दका कारण अहिले बबण्डर छ । माओवादीले संसद नै चल्न दिएको छैन । हिंसालाई हिंसा स्वीकार्न चाहँदैन माओवादी ।

माओवादीका नेताहरु १० वर्ष लामो हिंसाको माफी माग्दैनन् । उनीहरु हिंसालाई वैधानिकता दिन सफल भएको ठान्छन् । माओवादी हिंसालाई माओवादी जनयुद्ध नाम दिन सफल भएका छन् । हिंसा मच्चाउँदा मारिएका र पछि मृत्युवरण गरेकालाई सहीद नाम दिएर राज्यकोष दोहन गर्न खोजिरहन्छन् ।

लडाकु व्यवस्थापनमा अरबौंको चलखेल भएको खुलिसकेको छ । त्यसको अनुसन्धान गर्न रोकिन्छ । हिंसाबाट सत्तामा आउने र हिंसाबाट आएकाको नाममा रकम दुरुपयोग गरेर मस्ती मार्ने गतिविधि माओवादी नेताहरुबाट भएको छ । इतिहासले यसको हिसाबकिताब त पक्कै खोजिरहेको छ । तर, माओवादी हिंसालाई वैधानिकता दिने गरी प्रस्तुत भएका छन् । उनीहरु अझै पनि डर त्रासको राजनीतिको प्रयास छाडिरहेका छैनन् । यो देशको विगत, वर्तमान र भविष्यका लागि खतरा हो ।

प्रतिक्रिया