२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

२०९३ पछिको प्रधानन्यायाधीश खोज्दा…


September 8, 2024
996
Shares

काठमाडौं, २३ भाद्र । देशमा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा लाइन मिलाउने र आफ्नो रबरस्ट्याम्पलाई स्थापित गर्न दलका नेता देखि केही शक्तिशाली पात्रहरु मरिमेटेर लागिरहेका छन् । त्यसो त २०९३ सम्म प्रधानन्यायधीश को बन्ने भन्ने गरी लाइन मिलाइसकेका छ एउटा गिरोहले । त्यस्तो गिरोहमा दलका नेता, कथित वरिष्ठ वकिल देखि पूर्वप्रधानन्यायधीशहरु पनि छन् । २०९३ पछिको प्रधानन्यायाधीश समेत तयार गर्न शक्तिशाली व्यक्तिहरुबीच शक्तिसंघर्ष चलिरहेकाले न्यायाधीशको नाम सिफारिश निकै पेचिलो बनेको छ यतिबेला ।

सर्वोच्च अदालतले न्यायाधीश रिक्त हुनुभन्दा एक महिना पहिला नै सिफारिस गर्न आदेश दिएको छ गत हप्ता। यतिबेला सर्वोच्च अदालतमा ४ जना न्यायाधीश रिक्त छन्। संविधान अनुसार सर्वोच्च अदालतमा २१ जना न्यायाधीश हुनुपर्नेमा १७ जना मात्र छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ घर जान एक महिना भन्दा कम समय बाँकी छ । सर्वोच्चको आदेश अनुसार उनको ठाउँमा पनि अर्को व्यक्ति सिफारिस गरेर घर जानुपर्छ। तर, उक्त काम त्यति सहज छैन।

अहिले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्नेभन्दा पनि २०९३ माघपछिको प्रधानन्यायाधीश नियुक्ति गर्ने कुरासँग जोडिएकाले न्यायाधीश नियुक्ति सकसपूर्ण बन्दै गएको छर्लंग छ । हाल प्रधानन्यायाधीश हुने तरखरमा रहेका र सपना प्रधान मल्लपछि प्रधानन्यायाधीशको रोलक्रममा रहेका कुमार रेग्मीबाहेक गैरकम्युनिष्ट पृष्ठभूमिका व्यक्ति प्रधानन्यायाधीशको रोलक्रममा देखिँदैनन्। हरि फुयाँल, नहकुल सुवेदी र टेकप्रसाद ढुंगाना सबैको पृष्ठभूमि उस्तै हो । उनीहरु कम्युनिष्ट पृष्ठभूमिका हुन् ।
नेपाली कांग्रेसको तर्फबाट कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री अजयकुमार चौरासिया रहेकाले उक्त पार्टीका शीर्ष नेताहरू न्यायाधीश होइन प्रधानन्यायाधीश नियुक्त गर्नुपर्छ भन्ने लबिइङमा रहेको पाइन्छ। प्रचण्ड प्रधानमन्त्री हुँदा तत्कालीन महान्यायाधिवक्ता समेत रहेका दिलमणि पोखरेललाई प्रधानन्यायाधीशको रोलक्रममा राखेर सर्वोच्च अदालत पठाउन जोडबल गरेका थिए। तर उनको प्रयास विफल भयो। अहिले पनि दिलमणि सर्वोच्चको न्यायाधीश हुन लागिपरेका छन्।

अहिले सर्वोच्चको न्यायाधीशमा आउन खोजेका उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला रोलक्रममा अगाडि परेर आएभने तीन महिना प्रधानन्यायाधीश हुन पाउँछन्। दिलमणिले २ वर्ष बढी प्रधानन्यायाधीश चलाउन पाउँछन्। नेकपा एमाले निकट वकिलबाट ईश्वरी भट्टराई न्यायाधीश बन्ने सम्भावनामा राखिएका छन्। त्यसैले नृप र दिलमणिलाई टक्कर दिन सक्ने गैरकम्युनिष्ट वकीलको खोजी सुरू भएको छ। सर्वोच्चको न्यायाधीशको चर्चामा रहेको नाम हुन् विजयपसाद मिश्र, केदार कार्की, मोहन इङनाम, खम्बबहादुर खाती, अरूण पौडेललगायत।

गैरकम्युनिष्टबाट प्रधानन्यायाधीश हुने चर्चामा रहेका व्यक्ति हुन् अरूण पौडेल। उनलाई सर्वोच्चमा पठायो भने दुई वर्ष बढी प्रधानन्यायाधीश हुनेछन् २०९३ पछि । दिलमणि र पौडेललाई वरिष्ठ अधिवक्ता बनाउने प्रस्ताव सर्वोच्च अदालतको ‘फूलकोर्ट’मा विचाराधीन अवस्थामा छ।

नेपाली कांग्रेसका शीर्ष नेताहरू न्यायाधीश मात्र होइन सर्वोच्च अदालतको प्रधानन्यायाधीश नै हुने गरी रोलक्रममा पठाउने व्यक्तिको खोजीमा लागेका छन्। त्यसैले कानुनमन्त्रीले प्रधानन्यायाधीश नै हुने गरी न्यायाधीश नियुक्ति गर्ने गरी प्रस्ताव गर्न सक्ने सम्भावना बढेको छ। कांग्रेसभित्र न्यायाधीश होइन प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्छ भन्ने मत बलियो बन्दै गएकाले सर्वोच्चको न्यायाधीश नियुक्ति रोचक र सकसपूर्ण बन्दै गएको देखिन्छ। त्यस्तो पात्रको धुईंधुईंती खोजी चलेकाले बाजी कस्ले मार्ला ? चासो बनेको छ ।

प्रतिक्रिया