३१ भाद्र २०८१, सोमबार | September 16, 2024

के थिए ओली देउवा के भए अहिले


September 5, 2024
2.4k
Shares

डा. दीपेश केसीः टुँडिखेल नेपालको मुटु हो जहाँ सामान्य मानिसहरु टहल्ने देखि आराम गर्ने मात्र गर्दैनन् असन्तुष्टि पनि पोख्छन् । टुँडिखेलमा नेताहरुको भाषण पनि हुनेगर्छ जहाँ उनीहरुले आफ्नो अभिव्यक्ति स्वतन्त्रताको भरपूर उपयोग गर्छन् । १० भाद्रमा सार्वजनिक कार्यक्रममा देशका प्रधानमन्त्री केपी शर्मा ओली र वेटिङ प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रममा युवाहरुबाट नारावाजी लाग्यो । उनीहरुले ‘केपी चोर देश छोड र देउवा चोर देश छोड’ को नारा लगाए । नारा लगाउने युवारुलाई ओली र देउवा दुवैले आक्रोश पोखे । बल प्रयोग गर्न आदेश दिए । प्रहरीले आदेशको पालना गरेर युवामाथि लाठी बजा¥यो । तर, ती युवाले त अभिव्यक्ति स्वतन्त्रता प्रयोग गरेका थिए केही उग्र भाषामा । असन्तुष्ट अहिलेका युवाभन्दा उग्र राजनीतिक पृष्ठभूमिबाट आएकाहरु हुन् ओली र देउवा दुवै । उनीहरुले आफ्नो विगत बिस्रिएका छन् । युवा छँदा ओली र देउवा दुवैमा उग्र जोस थियो । व्यवस्थाविरुद्ध थिए दुवै । अवस्थाविरुद्ध त हुने भइहाले । ओली र देउवा साँघुरो गल्लीको कोठाबाट महलमा पुगेका छन् । एकजना बालकोटको बार्दलीमा र अर्का बुढानिलकण्ठको विशाल कम्पाउण्डमा बसेर राजनीतिक गोटी चाल्छन् । के थिए ओली र देउवा के भए अहिले । के सपना देखाएका थिए के गरे अहिले । उनीहरु सत्तामा रहँदा देशको अवस्था झन् झन् बिग्रिएको छ ।

ओली र देउवा देशको अवस्था निकै राम्रो रहेको दाबी गर्छन् । उनीहरु युवाको आक्रोशलाई विरोधीको षड्यन्त्र ठान्छन् । देशको आर्थिक र राजनीतिक परिस्थिति भयावह छ । भित्र भित्र खोक्रो बनिसकेको छ । ओली त बँगलादेश र श्रीलंकाको जस्तै आफूहरु भाग्नुपर्ने अवस्था आउने सम्भावना नरहेको दाबी गर्छन् । युवाहरुको आक्रोश यसरी नै बढेमा देउवाले बुढानिलकण्ठ र ओलीले बालकोट मात्र होइन देश नै छाड्नुपर्छ । बँगलादेशमा शेख हसिना र श्रीलंकामा राजापाक्षे परिवार नै देश छाड्न वाध्य भए । यो पाठ सिक्न त के सुन्न पनि चाहँदैनन् ओली र देउवा । देशको अवस्था बिग्रदै जाँदा व्यवस्थाप्रति नै वितृष्णा बढेको छ । युवाहरु देशमा टिक्न नसक्ने भइसके । नेताहरु जिद्धि गर्दै देश ठिक अवस्थामा रहेको दाबी गर्छन् । अर्थतन्त्र निकै बिग्रिएको छ । विदेशी मुद्रोको संचिती २० खर्बभन्दा बढी भइरहेको छ नेपाल राष्ट्र बैंकमा तर यो रकम चलाउने अवस्था छैन । कोही पनि लगानीकर्ता जोखिम मोल्न चाहँदैन । पानी नै पानी तर पिउने पानी छैन भनेजस्तै आर्थिक रुपमा काकाकुल अवस्था छ देशमा ।

दशैं आउनुभन्दा तीन महिना अघि कालाबजारी सक्रिय भए यसपटक । बजारमा चिनी, चना, केराऊ जस्ता दैनिक उपभोग्य सामाग्रीको अभाव देखाइएको छ । हरेक सामानको मूल्य चर्को छ । खाद्य सामाग्रीमा करको बहानामा जनताको ढाड सेकिएको छ । चामलको भाऊ बढेको छ । सर्वसाधारणले दशैं मान्न कठिन भइसकेको छ । देशमा परम्परादेखि चलिआएको संस्कृतिप्रति वितृष्णा जगाउने गरी दैनिक उपभोग्य सामाग्रीको मूल्यवृद्धिले आक्रोश बढाएको छ । एकातर्फ सामान्य जनताको ढाड सेकिएको छ अर्कोतर्फ औंलाले गन्न सकिने कालाबजारीमा समेत मुछिएका उद्दोगीलाई कर छुट र विद्युत महशुल तिनुनपर्ने अवस्था सृजना गरिएको छ । एनसेलले १६ अर्ब नवीकरण शुल्क तिर्नुपर्नेमा पछि तिर्ने गरी ओली नेतृत्वको क्याबिनेटबाट निर्णय गराउन सकेको छ । विद्युत प्राधिकरणको महशुल २२ अर्ब नतिर्ने उद्दोगीको लाइन काट्दा सरकारबाट निर्णय गराएर जोड्न वाध्य पारिएको छ । सरकार जनताको नभई जनता चुस्नेहरुको भएको छ । यसले भित्र भित्र जमेको ज्वालामुखी विस्तारै सक्रिय भएको छ । यो कुनैपनि बेला विष्फोट हुनसक्छ ।

नेताहरुलाई बहुमतको दम्भ छ । विगतमा केपी ओलीले बहुमतको दम्भले मनोमानी गरे । उनले दुई तिहाईको सरकार बचाउन सकेनन् । प्रचण्ड र माधव नेपाललाई पेलेर तानाशाही गतिविधि गरे । देशमा राजनीतिक अस्थिरताको नयाँ शृंखला ओलीले चलाए । उनले दुईपटक संसद विघटन गरे । बहुमतको सरकार बनेपछि आर्थिक गतिविधि निकै बढेको थियो । लगानीकर्ताहरु उत्साही भएका थिए । तर, ओलीले आफ्नै बहुमतको सरकार भष्मासुर शैलीमा सिध्याए । देशमा नयाँ संविधान बनेपछि नेकपा एक्लैको बहुमतको पहिलो सरकार नै बनेको थियो । न त बहुमतको सरकार टिक्यो न त नेकपा नै । त्यसपछि राजनीतिक अस्थिरता चलिरह्यो । पहिलो र दोस्रो दलको टकरावको फाइदा अन्य दल र व्यक्तिले लिइरहे । असन्तुष्टिको भुङ्ग्रोबाट रवि लामिछाने शहरी क्षेत्रमा र देश टुक्राउने एजेन्डाबाट सीके राउत जस्ता पात्र उदाए । बालेन साह, हर्क साम्पाङ जस्ता पात्रहरु पनि असन्तुष्टिको कुण्डबाट निस्किएका पात्र हुन् । यो क्रम चलि नै रहेको छ । तैपनि ओली र देउवाको चेत खुलेको छैन । प्रचण्ड र शेखर कोइराला जस्ता नेता भने झस्किएका छन् । उनीहरुले बँगलादेशको जस्तै घटना घट्नसक्ने सार्वजनिक रुपमा बोलिरहेका छन् ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले पनि प्रत्यक्ष सत्ता चलाइरहँदा राजसंस्था नै अन्त हुने कल्पना गरेका थिएनन् । तर, असन्तुष्टिको ज्वालामुखी फुट्दा उनको सत्ता त के व्यवस्था नै टिकेन । २४० वर्ष लामो इतिहास बोकेको शाहवंशीय राजसंस्था अन्त भयो । अहिले सत्ताको तर मारिरहेकाहरुले ओली र देउवालाई धरातलीय यथार्थबारे सही सूचना दिइरहेका छैनन् जसरी तत्कालीन राजाका वरिपरि बस्नेहरुले गलत सूचना दिएर राजालाई दलदलमा हाल्दै लगेका थिए । ओली र देउवाको हालत यस्तै छ । प्रचण्डले ओलीलाई बँगलादेशबाट पाठ सिक्न भन्दा ओलीले उल्टै सिक्न भन्दै जवाफ फर्काएका छन् । उखान र टुक्कामा रम्ने र आसेपासेलाई मख्ख पार्ने गरिरहँदा ओलीको जनतासँग दूरी बढ्दै गएको छ । देउवा पनि त्यही हालतमा छन् । जनतासँग नेता नजोडिंदा के हुन्छ भन्ने बँगलादेश र श्रीलंकाले देखाइसकेको छ । राजापाक्षेले श्रीलंकामा दशकौं लामो हिंसात्मक द्वन्द्व अन्त गरेका थिए । शेख हसिनासँग बँगलादेश स्थापना गर्ने शेख मुजिबर रहमानको विरासत मात्र थिएन बँगलादेशलाई दोहोरो अंकको आर्थिक वृद्धि दिलाउने श्रेय प्राप्त थियो । तर, जनताको भावना नबुझी काम गर्दाको परिणामले असन्तुष्टिको ज्वालामुखी एकाएक बिष्फोट भयो । त्यहाँको सेनाले भाग्नका लागि केही मिनेट मात्र बाँकी रहेको सूचना दिएर देश छाड्न लगायो । यो हालत नेपालमा पनि आउने संकेतहरु देखिइसकेको छ । यसलाई रोक्ने हो भने नेताहरुको बुद्धिको बिर्को बेलैमा खुल्नुपर्छ । नत्र भाग्नका लागि एक घण्टा पनि बाँकी नरहने अवस्था हुनसक्छ । जनतालाई बेकुप ठानेर मस्ती मार्ने देशका मुख्य नेताहरु भागेर शरण लिने देश कुन हो भन्ने चासो चर्चा चलिरहेको छ ।

प्रतिक्रिया