“हराएका वर्षहरू” ले ल्याएका “मिलनका हर्षहरू”
लाल बहादुर चौधरी: एक पर्वतारोहीले आफ्नो पर्वतारोहणको क्रममा कैयन् चुनौती, बाधा, अड्चन, आदिको सामना गर्छ, गर्नुपर्छ । उसले कहिल्यै नसोचेको, नचिताएको संघर्ष गर्नुपर्छ । चुलीमा पुग्नु अघि उसले चिप्ला हिम-चट्टान, अप्ठ्यारो बाटो, प्रतिकुल मौसम, आइसफल, ग्लेसियर, हिमस्खलन, हावाहुरी र हिमआँधीको सामना गर्नुपर्छ । पर्वतारोहणको क्रममा पर्वतारोहीले जस्तोसुकै समस्या झेले पनि उसको मन-मस्तिष्कमा एक मात्र लक्ष्य हुँदो हो – चुलीमा आफ्नो पाइला टेक्ने । उसको निरन्तर र अथक प्रयासको परिणामस्वरूप चुलीमा पुगिसकेपछि – उसलाई कस्तो अनुभूति हुँदो हो ? उसका हर्षका सीमा कहाँ पुग्दा हुन् ? हामी आम मानिसले कल्पना मात्र गर्न सक्छौं । सायद हेर्ने कथाको “हराएका वर्षहरू” को प्रकाश (काले) लाई पनि आफ्ना आमाबुवा, दाजुभाई, दिदीबहिनी लगायतका आफन्तसँग लगभग ३५ वर्षको लामो अन्तरालपछि भेट हुँदा त्यस्तै अनुभूति भएको होला ।
“हराएका वर्षहरू” हेर्ने कथा, आम मानिसहरूको कथाहरूलाई छोटो डकुमेन्ट्रीको रूपमा प्रस्तुत गर्ने वेब सिरिज, को पछिल्लो एपिसोड हो । यो कथा काले नाम गरेको, अन्दाजी १० वर्षको, झापा जिल्ला ठेगाना रहेको, काठमाडौं, जोरपाटी आसपासबाट हराएको भनी “बालक हराएको सूचना” बाट सुरु हुन्छ । अन्दाजी ३५ वर्षपछि त्यही फुच्चे केटो चुम भ्यालीको एउटा चौरी गोठमा भेटिन्छ । त्यति बेलासम्म उसले आफ्नो वास्तविक नाम, ठेगाना, आमाबुवा, उमेर, र आफू हराएको वर्ष विर्सिसकेको हुन्छ । ऊसँग सम्झिनको लागि समेत कुनै सम्झना बाँकी हुँदैन । अहिले ऊ “प्रकाश” नामले चिनिन्छ । कथा अगाडि बढ्दै गर्दा कार्यक्रम प्रस्तोता विद्या चापागाईले प्रकाशलाई “तपाईंलाई कसैले झापासम्म पुर्याइदियो भने जान मन छ ?” भनी सोध्दा उनको जवाफ “जान मन त छ” भन्ने हुन्छ । त्यसपछि १० दिनभित्र प्रकाशलाई पुनः त्यहीँ ल्याएर जिम्मा लगाइदिने सर्तमा हेर्ने कथाको टीमले प्रकाशलाई लिएर जान पाउने भनी प्रकाशको साहुलाई कसैगरी मनाउँछन् । त्यस बिन्दुबाट प्रकाशको जीवनको एक नयाँ यात्रा सुरु हुन्छ । हेर्ने कथाको टीम प्रकाशलाई लिएर चुम भ्यालीबाट झापाको लागि निस्कन्छ । गोर्खाको चुम भ्यालीदेखि झापासम्मको लामो यात्रा प्रकाशका लागि अत्यन्तै नौलो, अनपेक्षित र सपना जस्तै हुन्छ । झापा पुगिसकेपछि हेर्ने कथाको टीमका कुनै सदस्यको साथी पर्वत पोर्तेलले प्रकाशले बताए अनुसार झापाको तीन कठ्ठे गाउँ पत्ता लगाउन सघाउछन् । अन्ततः झापामा केही आफन्तसँग भेटेर, भोजपुर पुगेर, प्रकाश आफ्ना आमाबुवा लगायतका परिवारका सदस्यहरूसँग भेट्न पुग्छन् । लामो समयपछि प्रकाशको आगमनले सबैलाई भावविभोर बनाउँछ । यो संयोग हेर्ने कथाको टीमले जुराएको हुन्छ ।
उक्त कथा कुनै काल्पनिक कथा होइन, एक वास्तविक कथा हो । काल्पनिक कथा हुँदो हो त एक छिन रुवाउँथ्यो वा हसाउँथ्यो, मनोरंजन प्रदान गर्थ्यो, र सकिन्थ्यो । तर यस कथामा प्रकाशको आफन्तसँग वियोगको पिडा छ, अनकन्टार स्थानमा उसले गर्नुपरेको संघर्षको व्यथा छ, आफ्नो गाउँ-घर फर्किने झिनो अभिलासा छ, र पछि गएर मनमा आफ्नो परिवारसँग भेट्ने बलियो आशा छ । यसको निम्ति प्रकाशले लामो यात्रा गर्नुपर्छ – भौतिक र मानसिक दुवै । भातिक रूपमा प्रकाशले चुम भ्यालीदेखि झापासम्मको यात्रा गर्छ नै, यसको साथै उसका मनमा अनेक तरंगहरू आइरहेका हुन्छन्, भावसागर ओइरिरहेका हुन्छन्, जुन उसको अभिव्यक्ति र उसले बेला बेलामा गाइरहेका गीतहरूबाट प्रस्फुटित भइरहेका हुन्छन् । अन्ततः जब उसले आफ्ना आमाबुवा लगायतका परिवारका सदस्यहरूसँग भेट्छ, उसको सपना यथार्थमा परिणत हुन्छ । उसले वर्षौदेखि संगालेर राखेका पिडाका थुप्रोहरू हर्षका आँशुहरूमा परिणत हुन्छन् ।
यो एपिसोड हेर्दै गर्दा, धेरै दृश्य तथा संवाद यस्ता छन् जसले आम-दर्शकका ध्यान तान्न सक्छन्, उनीहरूको मन छुन सक्छन् । विशेषगरी हेर्नेकथाको टीमसँग प्रकाशले गरेको चुम भ्यालीदेखि झापासम्मको यात्रामा यस्ता बिन्दुहरू छन् । कथामा बाइक मरेको, जेसिबी सोचेको भन्दा धेरै ठुलो रहेको, रसभरी आलु जस्तो देखिने, करेलाको बोटलाई टमाटरको बोट ठानेको, लगभग ३५ वर्षपछि झापामै आएर आप खाएको आदि प्रसंगहरूले प्रकाशको निश्छलता, निर्दोषता, र सरलता झल्काउँछन् । बाहिरी संसार कहिल्यै नदेखेको, देख्न नपाएको व्यक्तिलाई यस्तै अनुभव हुँदो हो ।
“हराएका वर्षहरू” एपिसोड प्रदर्शन गरिएको समयदेखि नै “टक अफ द टाउन” बनेको छ । यसको चर्चा आम-संचार, न्यूज पोर्टल, सामाजिक संजाल सबैतिर छताछुल्ल छ । यो एपिसोड (प्रकाशको कथा) आम मानिसदेखि देशको प्रधानमन्त्रीसम्मको चासोको विषय बन्न पुगेको छ । अहिलेको सन्दर्भमा यस बारे अवगत नभएका विरलै होलान् । तर यसको चर्चासंगै यस बारे आलोचना, नकारात्मक टिकाटिप्पणी पनि चुलिएका छन् । सो एपिसोडको प्रशंसासंगै विभिन्न प्रश्नहरू पनि उठिरहेका छन् । केहीले हेर्ने कथा टीमले “आँशुको व्यापार” गरेको आरोप लगाएका छन् भने केहीले हेर्ने कथाको प्रस्तुतिलाई लिएर अनेक प्रश्नहरू उब्जाएका छन् ।
यद्यपि, पंक्तिकारलाई यो “आँशुको व्यापार” हो भन्ने लाग्दैन । मसँग यस विषयमा कोही असहमत पनि हुन सक्छन् । आ-आफ्नो विचार हुन्छ । तर आफ्नो विचार तथा तर्क नै सर्वेसर्वा हो भन्ने अभिप्राय राख्नु पनि उपयुक्त हुँदैन । हो, हेर्ने कथाले भुइँमान्छेका कथा ल्याउँछ । आम मानिसका कथाहरूलाई कलात्मक शिल्पकासाथ सरल रूपमा प्रस्तुत गर्छ । सायद त्यहि भएर पनि होला यो कार्यक्रमका दर्शक तथा प्रशंसक दिनप्रतिदिन बढ्दै गइरहेका छन् । यसले आम मानिसहरूका दु:ख, पिडा, संघर्ष, आदिका कथा मात्रै भन्दैन, उनीहरूको साहसिक यात्रा, प्राप्ति, सफलता, खोज, अन्वेषण, आदिको कथा पनि भन्छ । “हराएका वर्षहरू” प्रदर्शन भएदेखि केहीले हेर्ने कथालाई “रुवाउने कथा” भनेर पनि संज्ञा दिएको देखिन्छ । प्रश्न उठ्छ – के हेर्ने कथा रुवाउने कथा मात्रै हो त ? अवश्य पनि होइन । हेर्ने कथाले प्रस्तुत गरेका गजेन्द्र सरको कथा, भन्तेको कथा, भादाको कथा, ठाकुर्नीको कथा लगायतका धेरै कथाहरू छन् जसले आम मानिसहरूको सेवा भाव, त्याग र समर्पण, सांस्कृतिक जागृति, उद्यमशीलता, आत्मस्वाभिमान, आदिका कथा पेश गर्छन् । त्यसैगरी “हराएका वर्षहरू” पनि प्रकाशको बिछोड, दु:ख, पिडा, संघर्षका साथ हुनुका साथै उसको खोज, अन्वेषण, प्राप्ति, मिलन र हर्षहरूका कथा पनि हो । कुनै पनि कथाको विषयवस्तु (थीम) त्यसको पात्र र सन्दर्भमा भर पर्छन् । पात्र र सन्दर्भवस कुनै कथा कारुणिक पनि हुनसक्छ । तर यसैलाई आधार बनाएर हेर्ने कथा वा यसले प्रस्तुत गरेको “हराएका वर्षहरू” लाई “रुवाउने कथा” को ट्याग लगाउनु नाइन्साफी होला, अति सामान्यीकरण होला ।
लेखक एल.बि. क्षेत्रीले यस एपिसोड बारे आफ्नो समीक्षामा “हराएका वर्षहरू” को शिर्षक बारे आफूलाई सोधेको भए “मिलनको हर्ष” सुझाउने लेख्नुहुन्छ । यसैगरी उहाँले “हराएका वर्षहरू” को पटकथा “प्रकाशले पोखेको एकान्तबास पीडा, स्वतन्त्रताको चाहना र पहिचानको खोजी (Isolation, desire of freedom and Identity) को वास्तविक घटनामा आधारित” रहेको लेख्नुहुन्छ । हो पनि, यस एपिसोडमा हराएका वर्षहरूका प्रसंग कम, र मिलनका हर्षहरूका प्रसंगहरू अधिक छन् । चुम भ्याली छोडेदेखि नै प्रकाशमा आफ्ना परिवारसँग पुनः मिलन हुनसक्ने झिनो आशा पलाउँछ । यो आशा विस्तारै प्रवल हुँदै जान्छ । त्यसैगरी, प्रकाशमा आफ्नो परिवारसँग लामो समयसम्म टाढा रहनुको एकान्तबास पीडा त छँदैछ, तर उसमा स्वतन्त्र हुने चाहना पनि छ । उसको यो चाहना कार्यक्रम प्रस्तोता विद्या चापागाईले “तपाईंलाई कसैले झापासम्म पुर्याइदियो भने जान मन छ ?” भनी सोध्दा प्रस्फुटित हुन्छ । र त्यहाँबाट सुरु भएको हुन्छ प्रकाशको आफ्नो पहिचानको खोजीको यात्रा ।
विमर्शमा प्रश्नहरू उब्जिन्छन्, उब्जिनु पनि पर्छ । तर प्रश्न कसलाई गर्ने, कस्ता प्रश्न गर्ने, प्रश्न किन गर्ने – स्पष्ट हुनुपर्छ, औचित्यपूर्ण हुनुपर्छ । “आलोचनात्मक चेत” को कसीमा कुनै पनि सामग्रीलाई मूल्याङ्कन गर्दा, त्यसको गहिराइ र सन्देशको महत्व प्रष्ट हुन्छ। यद्यपि आलोचनात्मक चेतलाई अतिरञ्जित गर्न हुँदैन । आलोचनात्मक दृष्टिकोणलाई आवश्यकता भन्दा बढी या अत्यधिक रूपमा प्रयोग गर्नु उचित हुँदैन। मात्रै बौद्धिकताले हामीलाई कुनै ठोस परिणाम या गन्तव्यमा पुर्याउन सक्दैन। बौद्धिकतासँगै अन्य व्यावहारिकता, भावना, वा अनुभव जस्ता गुणहरूको पनि उत्तिकै महत्व हुन्छ, जुन कुरा “हराएका वर्षहरू” मा पनि लागू हुन्छ ।
हेर्ने कथाले “हराएका वर्षहरू” ल्याएर आफ्नो काम गरेको छ । “हराएका वर्षहरू” ले प्रकाशको जीवनमा “मिलनका हर्षहरू” ल्याएका छन् । अब यस अगाडिको कार्य, काम-कारवाही, चाल्नुपर्ने आवश्यक कदम र जिम्मेवारी राज्य, राज्य-संयन्त्र, सरोकारवाला तथा सम्बन्धित निकायको हो । भएभरका ध्यान, शक्ति, र पहल प्रकाशकेन्द्रित मात्रै पनि हुनुभएन । प्रकाश एक प्रतिनिधि पात्र मात्र हुन् । यसमा पनि विचार गर्नुपर्छ ।
अतः सम्बन्धित सबै अब उपरान्त यस्ता मुद्दाहरूप्रति थप सजग, संवेदनशील, गम्भीर, जवाफदेही र जिम्मेवार हुन र सोहीअनुसार काम गर्नु औचित्यपूर्ण होला ।