३१ भाद्र २०८१, सोमबार | September 17, 2024

के शक्तिशाली नेता लखेटिन्छन् ?


August 22, 2024
1.7k
Shares

डा. दीपेश केसीः अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गर्न लाग्दा असरफ घानीले हतार हतार देश छाडे । श्रीलंकामा राजापाक्षे परिवार नै देश छाडेर भाग्नुप¥यो । पाकिस्तानमा इमरान खान जेल जानुप¥यो । बँगलादेशमा शेख हसिना देश छाड्न वाध्य भइन् । सत्ता चलाइरहेका दक्षिण एशियाका उल्लेखित नेताहरुलाई देश छाड्न एक घन्टाको पनि समय मिलेन । कतिले त लुगा र जुत्ता समेत हतार हतार लगाएर भाग्न भ्याए । दक्षिण एशियामा विगत तीन वर्षमा यी घटनाहरु घटे । जो जो नेता देश छाड्न वाध्य भए उनीहरुलाई लाग्दथ्यो कि आफू सर्वशक्तिमान छु । त्यहाँको जनता उठ्न सक्दैनन् र सुरक्षा निकायको साथ छ । समयको छालले उनीहरुलाई सत्ताबाट बडारेको छ । जनतामा भित्र भित्र दबिएको असन्तुष्टिको ज्वालामुखी फुट्दा भाग्नसम्म भ्याए ।

श्रीलंका आर्थिक विकासमा उदाहरणीय थियो । पर्यटकको आकर्षणको केन्द्र थियो । तर, राजापाक्षे परिवारको तानाशाहविरुद्ध जनता उत्रिए । आर्थिक रुपमा टाट पल्टियो । पाकिस्तानमा इमरान खानले चालेको नीति उनकै लागि प्रत्युत्पादक बन्यो । अमेरिकी प्रभाव बलियो रहेको पाकिस्तानमा उनी अमेरिकाविरोधी बन्न थाले । चीनका आयोजनाहरु धमाधम भित्राए । तर, सेनाको साथ उनलाई मिलेन । उनी जेल हालिए । अफगानिस्तानमा तालिवानले अमेरिकाविरोधी शक्तिको साथ पायो । अमेरिकाको साथ पाएर राष्ट्रपति बनेका घानीले अमेरिकाले काबुल छाड्नु अघि नै देश छाडे । बँगलादेशमा दोहोरो अंकको आर्थिक वृद्धि थियो । विपक्षीलाई दबाएर शासन गरेकी शेख हसिनाले त्यो आर्थिक वृद्धिको जस त लिइन् तर उनीविरुद्ध एकाथरी विद्यार्थीले विद्रोह गरे । सुरक्षा निकायले पनि अन्तिम अवस्थामा साथ दिएन । बँगलादेशको राष्ट्रपिता शेख मुजिबर रहमानकी छोरी हसिनाले देश छाडेर भारतमा शरण लिइन् ।

शेख हसिनाका पक्षधरले बँगलादेशको घटनामा अमेरिकाले भूमिका खेलेको आरोप लगाइरहेका छन् । अमेरिका बँगलादेशमा आफ्नो प्रभाव बलियो बनाइरहेको थियो । त्यसमा हसिना तयार भइनन् । तर, विदेशी शक्तिलाई दोष दिएर पन्छने प्रवृत्ति संकटग्रस्त देशहरुमा चलिरहेको छ । पक्कै पनि विदेशी शक्तिले ठाउँ पाएपछि आन्तरिक मामलामा खेल्छन् नै । तर, बँगलादेशका घटनाका पछाडि शेख हसिनाको धेरै गल्तीहरु छन् । उनको शासनकालमा विपक्षी दबाइए । चुनाव लड्नबाट वञ्चित गरिए । विपक्षी नेता बेगम खालिदा जिया जेल हालिइन् । चुनावमा भारी बहुमत ल्याएपछि हसिनामा अहंकार बढ्यो । उनले फरक मतको सम्मान गर्नु त परै जाओस् दमन गरेर शासन गर्नुपर्छ भन्ने मान्यता राखिन् । अतिवादी मुसलमानको साथ लिन खोजिन् । त्यसैले हसिनाले देश छाडेपछि लेखक तसलिमा नसरिनले कडा शब्दमा लेखिन् । आफूलाई जुन मुस्लिम अतिवादीले बँगलादेशमा बस्न दिएनन् त्यही अतिवादीको साथ लिंदा तिनैले हसिनालाई लखेटेको भनिन् । हसिनाले त देश छाडिन् । उनका सन्तान सुरक्षित रहेका छन् । तर, उनको समर्थकहरु हिंसाको शिकार बनेका छन् । बँगलादेशमा हिन्दू बौद्धलगायत अल्पसंख्यकमाथि दमन चलिरहेको छ । पाकिस्तान समर्थक अतिवादी मुसलमानहरु आतंक सृजना गरिरहेका छन् । दमनमा परेकाहरुको पक्षमा बाह्य जगतको कमै आवाज निस्किएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दू बौद्धलगायत अल्पसंख्यकको सुरक्षाको विषय उठाएका छन् । पश्चिमा र मुस्लिम जगत त्यसबारे मौन नै छ । तर, बँगलादेश दोहोरो अंकको आर्थिक वृद्धिबाट संकटग्रस्त मुलुकमा झरिसकेको छ । उसलाई फेरि उठ्न निकै समय लाग्न सक्छ । ।

बँगलादेशको घटनाले दक्षिण एशियामा अशान्तिको कालो बादल मडारिइसकेको छ । धार्मिक र जातीय हिंसा फैलन सक्छ । अर्कोतर्फ, दक्षिण एशियाका अन्य देशमा पनि विद्रोहको आत्मबल बन्न सक्छ । नेपालमा त जिम्मेवार नेताहरुले बँगलादेशको घटना नेपालमा पनि हुनसक्ने बताइरहेका छन् । काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले त यो खतरा औल्याइसकेका छन् । हुनपनि सत्तामा प्रभाव जमाउँदै आएका आधा दर्जन जति नेताहरुमा दम्भ छ । उनीहरुले विगतमा बहुमतको दम्भ देखाएकै हुन् । केपी ओली, प्रचण्ड र शेरबहादुर देउवाले सरकारमा पुगेपिच्छे दम्भ देखाएर शासन गर्दै आएका छन् । ओलीले त दुईपटक संसद विघटन गरेर संविधानको खिल्ली उडाए । नेताहरुले आफ्ना आसेपासे मार्फत् दशौं अर्ब भ्रष्टाचार गरेको तथ्यसहितका विवरणहरु सार्वजनिक भइरहेका छन् । विदेशमा घूस लेनदेनका एजेन्ट नै खडा गरेका छन् । आइटी प्रकरण, विद्युत महशुल प्रकरण, सहकारी ठगी प्रकरण । एनसेल कर छली प्रकरण, सार्वजनिक जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरण, सुन काण्ड जस्ता काण्डै काण्ड छताछुल्ल छन् । यी प्रकरणमा झीनामसिना पात्रहरु जेल हालिएका छन् । केही कर्मचारीहरु पनि छानविनको दायरामा ल्याइएका छन् । तर, सत्ताको नेतृत्व गर्ने राजनीतिक नेतृत्वको भूमिका विना यस्ता काण्डहरु हुन्छन् भन्ने जनताले पत्याएका छैनन् ।

राष्ट्रको ढुकुटीमा २० अर्बअर्बभन्दा बढी विदेशी मुद्रा संचिती छ । विदेशी मुद्रा संचितीमा किर्तिमान कायम गर्दा पनि बजार चलाएमान छैन । व्यापारीहरु सटर बन्द गरेर भाग्नुपरिरहेको छ । बैंकको ऋणको साँवा त के ब्याज पनि तिर्न नसकेर व्यापारीहरु मर्ने अवस्थामा पुगिसके । किसानको हालत झन् पीडादायक छ । सामान्य व्यापार गरेर र खेती गरेर खाइनखाई जम्मा गरेको पैसा सहकारी माफियाले खाइदिएका छन् । लघुवित्त पीडितको पीडा उस्तै छ । कालोबजारी अघोषित रुपमा छुट दिएको छ सरकारले । दशैं तिहारलाई लक्षित गरेर तीन महिना अघि नै चामल, दाल, चिनी जस्ता दैनिक उपभोग्य सामाग्रीको मूल्य आकाशिएको छ । जनताको चुल्हो निभ्दैछ । भोका पेटहरु कुनैपनि बेला सडकमा उत्रने अवस्था बन्न सक्छ । युवाहरु कानूनी र गैरकानूनी बाटोबाट भएपनि विदेशिइरहेका छन् । तर, सत्ताको वरिपरि रहेको एउटा सानो हिस्सा मस्ती मारिरहेको छ । उनीहरुले सत्तामा पैसा र पावर मात्र देखेका छन् । जनताप्रति जिम्मेवार छैनन् । मुख्य नेताहरु जनतासँग जोडिएकै छैनन् । न त तिनका कार्यकर्ता धरातलीय यथार्थबारे खासै जानकार छन् । यीनै परिस्थितिले कुनैपनि बेला उठ्न सक्ने असन्तुष्टिको सुनामीले नेताहरु भाग्न पनि नभ्याउने स्थिति हुनसक्छ ।-दृष्टि साप्ताहिकमा प्रकाशित लेख

प्रतिक्रिया