३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सर्वोच्चको न्यायाधीश नियुक्तिमा कल्याणकै सेटिङ, यसरी चल्दैछ चलखेल


August 21, 2024
140.7k
Shares

नेपाली पेन, ५ भाद्र । सर्वोच्च अदालतमा ४ जना न्यायाधीश रिक्त रहेको लामो समय भइसक्यो । हाल प्रधानन्यायाधीश सहित १७ जना कार्यरत रहेकोमा आगामी असोज १९ मा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कार्तिक ३ मा न्यायाधीश प्रकाश कुमार ढुङ्गानाको अवकाश पछि रिक्त संख्या ६ पुग्नेछ । अवकाशको मुखमा रहेका प्रधानन्यायाधीश श्रेष्ठ जाँदाजाँदै नियुक्ति गर्ने प्रयासमा छन् । यो उनको निजी चाहाना मात्र नभई न्यायपालिकाको चतुर खेलाडीका रूपमा चिनिने पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको सेटिङ हो ।

२०७२ चैतमा अवकाश हुन लागेका कल्याण श्रेष्ठ प्रधानन्यायाधीश भएको बेला न्याय परिषदले पूर्णता नपाउँदै आफ्नै कोटरी भित्रका तत्कालीन न्यायाधीश सुशीला कार्की र कानूनमन्त्री अग्नि खरेलको मिलिभगतमा फागुन १८ को मध्यरातमा पूर्व एमाले सांसद र भित्रियाहरुलाई दलको कोटा र व्यक्तिगत भागबण्डामा प्रधानन्यायाधीशको रोलक्रममा राख्ने गरी सेटिङमा गरेको नियुक्तका अवशेषहरू रहुञ्जेल न्यायपालिकामा कल्याणको हात जगन्नाथ छँदैछ । त्यसैले कथंकदाचित विश्वम्भरको पालामा चिप्लिए पनि प्रकाशमान सिंह र सपना प्रधान मल्लको सेट आएपछि पनि डाडु पन्युँ त कल्याणकै हातमा हो । अहिले रिक्त ४ सिटमध्ये २ सिट उच्चबाट र २ कानून व्यवसायी र विज्ञ गरी नियुक्ति गर्ने कुरा भएपनि भित्र वा बाहिर जहाँसुकैबाट नियुक्ति गरेपनि काँग्रेस र एमाले आधीआधी गर्ने सहमति भएको बुझिएको छ।

प्रचण्ड सत्ताच्यूत भएसँगै दिनमणि पोख्रेललाई सर्वोच्च छिराउने माओवादी सपना पनि चकनाचुर भएको छ । कल्याण श्रेष्ठको हालको बटमलाइन भनेको सानिमाको छोरा रमेशकुमार राजभण्डारीलाई जसरी भएपनि सर्वोच्चमा छिराउने हो, जसलाई २०६४ सालमा संविधानसभाको निर्वाचनमा पराजित भएपछि २०७० सालमा कल्याणकै सेटिङमा पुनरावेदनको न्यायाधीशमा छिराएका थिए । नियुक्तिका बखत राजभण्डारी नेकपा एमालेका प्युठान इन्चार्ज थिए, उनी एमालेबाटै गाविस अध्यक्ष, जिल्ला विकास समिति उपाध्यक्ष भइसकेका पात्र हुन् । नियुक्ति लगत्तै एमाले मुख्यालयमा तत्कालीन अध्यक्ष झलनाथ खनालसँग आशिर्वाद थाप्न जाने १५ जना न्यायाधीशको टोलीनेता पनि उनै थिए । कल्याण मात्रै होइन प्रधानन्यायाधीश श्रेष्ठको समेत नाता पर्ने भएकोले राजभण्डारीलाई जुनियर हुँदाहुँदै पनि उच्च अदालतका बागचन्दजस्ता पिएचडी गरेका र सिनियर न्यायाधीशहरूलाई समेत पाखा लगाएर ६ महिना अघि टपक्क टिपेर मुख्यन्यायाधीश बनाएका थिए । एमाले दल, कल्याण र प्रधानन्यायाधीशको दरिलो साथ पाएका राजभण्डारीलाई सर्वोच्च छिर्नबाट रोक्ने कुनै माइकालाल देखिएको छैन ।

त्यसैगरी चर्चाको शिखरमा रहेका अर्का पात्र नित्यानन्द पाण्डे गृहमन्त्री रमेश लेखकको साँढु नाताका भएकोले राजभण्डारीकै शैलीमा काँग्रेसको कोटामा ८० जनाको हुलमा अदालत छिरेका हुन् । उनी लेखककै जोडबलमा पटक(पटक काँग्रेसको कोटामा फाइदा लिँदै आएका र कनिष्ट हुँदाहुदै पनि सिनियरलाई पाखा लगाएर मुख्य न्यायाधीश बन्ने सौभाग्यशाली व्यक्ति हुन् । लेखकका अधिवक्ताको लाइसेन्स पाएका नातागोता, आफन्त कुनैपनि न्यायाधीश बन्न बाँकी नभएको न्यायवृत्तमा चर्चा छ ।

रमेश लेखकका आफन्त सकिएपछि देउवा र अन्य सुदुरपश्चिमे नेताका आफन्त र कार्यकर्ताको पालो आउने नेताहरूनै गुनासो गर्छन् । नियुक्तिमा ठूलै शुभलाभ लिने गरेको लेखकमाथि आरोप भएपनि स्थिति तैँ चुप मैँ चुपको छ । डोटीका प्रधानन्यायाधीश श्रेष्ठ र कञ्चनपुरका लेखकको हिमचिम बाक्लिनुमा काँग्रेस सभापति शेरबहादुर देउवा र श्रेष्ठबीचको सान्निध्यता पनि हो । सुदुरपश्चिमे नित्यानन्द पाण्डे लेखक र श्रेष्ठको होस्टे र हैँसेमा राजभण्डारी सँगै सर्वोच्च छिर्नेमा कुनै दुविधा छैन ।

चर्चामा आएका अर्का हेविवेट हुन् नृपध्वज निरौला । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पत्रबमको रक्तहिन क्रान्तिद्वारा लज्जास्पद पजनीको षड्यन्त्रमा चोलेन्द्र र ईश्वर खतिवडा एण्ड कम्पनीको प्यादा बनेबापत निरौलालाई चोलेन्द्रले रजिष्ट्रारबाट सिधै मुख्य न्यायाधीश बनाएका थिए । उनी न्यायाधीश भएको जम्माजम्मी ३ वर्ष ४ महिनामात्र भएको छ । संविधान अनुसार न्यायाधीश भएको ५ वर्ष नपुगी सर्वोच्चको न्यायाधीश बन्न मिल्दैन । त्यसको लागि उनले अझै १ वर्ष ६ महिना कुर्नुपर्ने हुन्छ । तरपनि संविधान मिचेरै भएपनि जबर्जस्ती सर्वोच्च छिर्ने उनको दाउमा कल्याण र सुशीला कोटरीको पनि साथ छ । त्यसमाथि एमाले दल उनको दाहिना भएकोले संविधान मिचेरै भएपनि उनी सर्वोच्च नछिरी छोड्नेवाला छैनन् ।

न्यायाधीशाकाङ्क्षी अर्का भीमकाय पात्र हुन् लोहितचन्द्र शाह, जसलाई भ्रष्टचारकी कुलदेवी भनेर चिनिने राष्ट्रिय भाउजूको भिटो छ । मामा नाताका त्रिलोक प्रताप राणा न्याय परिषद सदस्य भएको बेला हुकुम प्रमाङ्गीबाट छिरेका लोकमान सिंह कार्कीकै दबङ शैलीमा शाह पनि हुकुम प्रमांगीकै गुप्तचरको डिएसपिबाट सेवा परिवर्तन गरी सिधै न्यायसेवाको उपसचिव छिर्न सफल भएका हुन् । लोकसेवाको परीक्षा कुन चरीको नाउँ हो शाहलाई थाहा छैन । रजिष्ट्रार भएका बखत सर्वोच्चको बजेट आरूबारीमा मिनी सिंहदरबार बनाउन खन्याउनुको साथै क्यान्टिन चलाउने गोपाल सुवेदीको चल्तीको प्रसाद चढाएरखुसी बनाए बापत भोलेबाबाबाट उनले न्यायाधीश पद बक्सिस पाएका थिए । शाहलाई राजावादीको समर्थनका साथसाथै राप्रपा नेता तथा आरजु राणाकी आमा प्रतिभा राणाको नाता समाती भिटोमा जसरी पनि सर्वोच्च छिर्ने दाउमा छन् । अहिले उच्चबाट सर्वोच्चमा छिर्ने चर्चामा रहेका न्यायाधीशहरू सबै दल र नातागोताको भागबन्डामा अदालत छिरेका हुन् ।

प्रचण्ड सरकारमा पदम गिरी कानूनमन्त्री छँदा गृहजिल्ला र सगोत्री नाताको आडमा ठूलै डिल गरी सर्वोच्च छिर्ने पक्कापक्की भएका टेक नारायण कुँवर युनिटी मुद्दामात्र नभई विशेषमा आएपछि त झन् चाँदी कटाइ गरिरहेका छन् । उनले लाखौँको मुद्दामा सजाय गर्ने र अरबौँ बिगोको मुद्दामा सफाइ दिएका मुद्दाका फेहरिस्त लामै छ । उनको विरुद्द जागिरै जाने र भ्रष्ट्राचारमा समेत तानिने गम्भिर प्रकृतिका उजुरीको चाङ न्याय परिषदमा विचाराधीन छन् । सर्वोच्चको लागि ओली“बा” ले नृपध्वज निरौलाको नाम लिएपछि रमेश बडाल सहितका एमाले वकीललाई भेला पारी दुवै आफ्नै पार्टीको भएकोले निरौला कुँवरको पक्षमा लबिङ गर्न “बा” को मा पठाएपछि कोपभाजनमा परी मन्त्रीमा निरन्तरता पाउन नसकेका तत्कालीन मन्त्री गिरी कुँवरको डिल फिर्ता गर्न अहिले पनि व्यापारी र आफन्तसँग हारगुहार गरिरहेका र किस्ताबन्दीको सहारा लिइरहेको बताइन्छ । धन देखेपछि महादेवका पनि तीन नेत्र भन्ने उखान चरितार्थ पार्न खप्पिस उनी सपना मल्ल श्रीमान् न्याय परिषदमा सदस्य भएपछि सर्वोच्च छिर्ने सेटिङ मिलिसकेको कुरा आफन्त र साथी सर्कलमा गर्वका साथ निर्धक्क बताउँछन् ।

टेरामेक्स र बीचौलीया गठजोर
अहिले चर्चामा रहेका सदाबहार बीचौलीया हुन् आशिष अधिकारी । पेसाले वकील भएपनि न्यायवृत्तमा उनी बीचौलीयाको रूपमा चिनिन्छन् । चोलेन्द्रले आफ्ना पार्टनरहरू मनोज कुमार शर्मा सर्वोच्च र नवराज थपलियालाई क्रमशः सर्वोच्च र उच्चको न्यायाधीश तथा किशोर सिलवाललाई अख्तियारको आयुक्त पद बक्सिस दिए भने आशिषलाई मुख्य न्यायाधीश बनाउने चोलेन्द्रको बाचा महाभियोग काण्डले अपूरै रह्यो ।

ईश्वर खतिवडापुत्र अपूर्वको गुरु भएको र खतिवडाको पनि बीचौलीया उनी अघिल्लो ६ जनाको नियुक्तिमै सर्वोच्च छिर्नेमा ढुक्क थिए । अख्तियार आयुक्त किशोर सिलवालसँग टेराम्याक्स घोटलाका टाउकेहरू मोहन बहादुर बस्नेत र ज्ञानेन्द्र बहादुर कार्कीको सेटिङ मिलाइ मुद्दा नचलाइदिएको पुरस्कारस्वरूप अहिले कार्की र बस्नेतले भ्रष्ट्राचारकी कुलदेवी समेत प्रयोग गरी आशिषलाई सर्वोच्च ल्याउन कानूनमन्त्री चौरासियालाई ठूलै दबाब दिइरहेको बताइन्छ । हुनत आशिष पिता हेटौँडँका वरिष्ठ अधिवक्ता किशोर अधिकारी मन्त्री चौरासियाका जानपहिचानवाला पनि हुन् । हेटौँडाकै शक्तिशाली काँग्रेस नेता डिना उपाध्याय पनि आशिषलाई न्यायाधीश बनाउन देउवाकोमा धाइरहेकी देखिन्छिन् । यी सारा चलखेलका जानकार प्रधानन्यायाधीश श्रेष्ठले वरिष्ठ अधिवक्ता नभएको बहानामा उनलाई पन्छ्याउन खोज्दै छन्, अहिले नियुक्तिको हलो यसैमा अड्किएको छ ।

सिण्डिकेटको सदाबहार उम्मेदवार
अदालतमा स्थायी सिण्डिकेटधारी हरिहर दाहाल, शम्भु थापा, प्रेम बहादुर खड्का, रमनकुमार श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ एण्ड कम्पनीका सदाबहार उम्मेदवार हुन् विजय प्रसाद मिश्र । अघिल्लोपटकको ६ जनाको नियुक्तिमा पनि यो सिण्डिकेटले काँग्रेस नेता रमेश लेखकमार्फत देउवाको दिमाग भुटेर सर्वोच्च छिराउन नखोजेका होइनन् तर प्रतिनिधिसभा विघटन मुद्दामा ओलीको पक्ष र शेरबहादुरको विपक्षमा मिश्रले बहस गरेको भेद प्रतिद्वन्दी सुनिल पोख्रेलमार्फत देउवालाई सुनाइदिएपछि देउवा मिश्रसँग बिच्किएको फाइदा शेखरको बलमा पोख्रेलले मज्जाले लिन सफल भए । न्यायवृत्तमा मिश्र सिण्डिकेटका सदाबहार उम्मेदवारका रूपमा चिनिएपनि अहिले हरिहर दाहालले वैकल्पिक उम्मेदवारको रूपमा आफ्नै साला युवराज भण्डारीलाई अघि सारेका छन् । प्रधानन्यायाधीश श्रेष्ठ भने ठूलो बिगो भएका बडेबडे मुद्दामा आफूसँग भद्र सेटिङमा रहेका वकील मेघराज पोख्रेललाई काँग्रेसको कोटामा छिराउने छिर्के दाउमा छन् । उनले वरिष्ट वकील चाहिने अड्डी लिएको गुप्त कारण यो पनि हो भनी पोख्रेलले जमघटमा निकटतस्थसँग गोप्य कानेखुसी गर्ने गरेका छन् ।

एमाले कोटा
भागबण्डामा भित्र वा बाहिर जताबाट भएपनि २ सिट सुनिष्चित भएको एमाले कोटाबाट महान्यायाधिवक्ता रमेश बडाल भित्रभित्रै र्‍याल चुहाएका छन् । उता अघिल्लोपटक नै झण्डै भ्याएका ईश्वरी भट्टराई बालकृष्ण ढकालले अग्निमार्फत चढाएको भेटीमा धनले राज गरेपछि नराम्रोसँग जिल्लिए पनि यसपटक त कसो नभइएला भनी लिगलिगे दौडमा छन् ।

चलखेल नै चलखेल
परिषदको वरिष्ठतम सदस्य भएका प्रकाशमान सिंह राउत र उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाको ककटेल पार्टीमा लफडा भएपछि बीचौलीया वकीलले छुट्याउनु परेको रहस्योद्घाटन भएको छ । घटना केही अघि शुक्रवारको हो । राउत र निरौला ककटेल पार्टीको जमघटमा धेरैभेटिन्छन् । निरौलालाई सर्वोच्च अहिल्यै लैजान ५ वर्षे अवधि नपुगेको भनी राउतले परिषदको आन्तरिक छलफलमा भनेको कुरा निरौलाले सुइँको पाएपछि एकजना बीचौलिया वकीलको निवासमा आयोजित अति गोप्य भोजमा राउत र निरौलालाई आम्नेसाम्ने पारिएको थियो । निरौलाले “आफूलाई गोपाल पराजुलीको विरुद्ध भड्काइ अवकाशपत्र दिन उचाल्दा भने आफू परिषद आएपछि सर्वोच्च लान्छु भनी बाचा गर्ने तर अहिले अवधि नपुगेको कुरा गर्ने धोकेवाज” भन्दै आफूलाई सर्वोच्च नलगे गम्भीर कुरा खुलासा गर्ने धम्की दिएपछि राउत कालोनीलो भई आइन्दा त्यो कुरा नउठाउने र सक्दो सहयोग गर्ने बहानामा बल्लतल्ल उम्किएका थिए ।

निरौला सर्वोच्च अदालतको पूर्ण इजलासमा इजलास अधिकृत छँदा रक्सीले लट्ठ भई मध्यरातमा एकजना न्यायसेवाकै सहकर्मीसँग जथाभावी हल्ला गर्दै डेरातर्फ पैदल जाँदैगर्दा सिंहदरबार प्रहरीको गस्ती भ्यानले जँड्याहा फेलापारी सोधपूछ गर्दा प्रहरीलाई नै जथाभावी मुख छाडी आफू सर्वोच्चको उपसचिव भएकोले जागिरै खाइदिने धम्की दिएपछि तत्कालीन इन्सपेक्टर भूपेन्द्र खत्रीले बुटैबुटले हानी रातभरी खोरमा जाकेको कुरा भोलिपल्ट सर्वोच्चमा हल्लाखल्ला भएपछि सर्वोच्चको प्रशासनबाट लिन पठाएपछि म्याद थप्न सिडियो कार्यालय लैजान ठिक्क पारेको सार्वजनिक मुद्दाको फाइल दराजमा थन्क्याइ निरौलालाई हाँजिरी जमानीमा छाडेका थिए । हाल खत्री एसएसपी भइसकेका छन् ।

निरौला न्याय परिषदको सचिव छँदा गोपाल पाराजुलीलाई “कू गर्ने” षड्यन्त्रको गोप्य मिटिङ सर्वोच्चकै एक न्यायाधीशको घरमा बस्दा रक्सीको सुरमा निरौलाले “गोपालेको जागिर खाइदिन” भनी अत्यन्त छुद्र र अशोभनीय भाषामा राति २ बजे लेखेको फेसबुक स्टाटसको बारेमा मिटिङमा सहभागी सर्वोच्चकै न्यायाधीशले निरौला पत्नीको फोनमार्फत सम्झाएपछि रक्सीले छोडेपछि बिहान पाँचैबजे नै मेटाएका थिए ।

नियुक्ति भित्र वा बाहिर जताबाट कोटा छुट्याए पनि नियुक्तिमा पहिले जस्तै दलका एजेन्ट, नवधनाढ्य र परिषद पदाधिकारी र नेताका आफन्त बाहेक अन्य योग्य व्यक्ति नपर्नेमा कुनै विवाद नभएको कानून व्ययसायी, अदालतका कर्मचारी र न्यायाधीशहरू बताउँछन् । यी सारा घटनाबारे जानकार अदालतका सदावहार धूर्त खेलाडी कल्याण श्रेष्ठले सर्वोच्चका ४ न्यायाधीश नियुक्तिमा पनि गोटी घुमाइरहेका छन् ।

प्रतिक्रिया