रक्षाबन्धनको महत्व
श्याम खनालः शास्त्रले यज्ञोपवित धारण गरेर यसरी कर्म गर भनिएकाहरू एवम् यज्ञोपवित धारणा नगरीकनै यसरी गर भनिकाहरू, दुबैका लागि महत्त्वपूर्ण दिन हो रक्षाबन्धन । सृष्टिकर्ता भगवान्ले संसारको विधि व्यवस्था चलाउनका लागि शास्त्रमार्फत् कुनै कसैलाई ठूलो सानो नभनिकनै बाहुन क्षेत्री वैश्य शूद्र छुट्टाछुट्टै व्यवस्था गरिदिनुभएको छ । शरीरका प्रत्येक अङ्गको उत्तिकै महत्त्व भए जस्तै यी सबै वर्णहरूको ईश्वरको सृष्टि धान्नका लागि उत्तिकै महत्त्व रहेको छ । बाहुन क्षेत्री वैश्य शूद्र सबैलाई ईश्वरप्रदत्त आ-आफ्ना कर्तव्य र नियम पालना गर्दै ब्रह्मको बोध गर्ने अधिकार छ । ईश्वरको सृष्टिमा कुनै सानो ठूलो छैन । आ(आफ्ना स्थानमा सबैको महत्त्व छ । ब्रह्म जानाति ब्राह्मण हुने अधिकार सबै वर्णहरूलाई छ । बाटा मात्र फरक छन् । पर्वहरूमध्ये कुनै बाहुनप्रधान छन् । कुनै क्षेत्री प्रधान छन् । कुनै वैश्य प्रधान छन् त कुनै शूद्र प्रधान पनि छन् ।
त्यस्तै श्रावणी यज्ञोपवित धारण गर्नेहरूका लागि प्रधान दिन हो । शूद्र बन्धुहरूले पनि शास्त्रवचनअनुसार रक्षाबन्धन गर्ने गर्नुहुन्छ । शारीरिक कर्म धेरै गर्न पर्ने हुनाले भगवान्ले शूद्र वर्ण भएकाहरूलाई बाहुनादिलाई जस्तै धेरै घुमाउरो बाटो नघुमाइकनै ब्रह्मबोध गर्नका लागि बाटा दिनुभएको छ । अबुझ र वेद नजानेकाहरू जो यो भवसागरमा पुनरपि जननं पुनरपि मरणं गर्दै ३६० अंशमा फन्को मारेको मारै गरिरहेका छन् उनीहरूले मात्र भेद देख्ने हुन् । सानो ठूलो देख्ने हुन् । कसैलाई यो कर्म नगर्ने भनेपछि त्यो सानो भएर वा त्यसले गर्न नहुने भएर भनिएको होइन कि त्यसलाई आवश्यक नै छैन भन्ने तरिकाले भनिएको हो । यस्ता कुरा बुझ्नका लागि धेरै तपस्याको आवश्यक हुन्छ ।
रक्षाबन्धनको कर्मका बारेमा फेसबुक लगायतका सामाजिक सञ्जालमा अनावश्यक विवाद निकालिएको छ । नपढिकनै नबुझिकनै सबैलाई फेसबुके विद्वान् हुन मन लागेको छ । विषयान्तरकाहरू पनि ज्योतिषी भएर फलाक्नु परेको छ । गम्भीरता कसैमा पनि छैन । हुर्र पुतली गर्यो । समाजमा विखण्डन गरायो यस्तै यस्तै । तर यस्ता कुराहरूलाई हामीले त्यति वास्ता गर्नुहुँदैन । पञ्चाङ्ग निर्णायक विकास समितिमा आजका मितिसम्म अधिकांश जनहरू विद्वान् नै हुनुहुन्छ । उहाँहरूले धेरै जना विद्वान्हरूको परामर्श लिएरै यी कुराहरूलाई निर्णय गराउनुभएको हुन्छ । त्यसैले हामीले पनि यस वर्ष पनि अघिल्लो दिन मुण्डनादि कर्म गरी अर्को दिन सदा झैँ विहानै उठी आफ्नो नित्य कर्म गरिसकेपछि नजिकैको तलाऊ वा नदीमा गई श्रावणी कर्म गरी नजिकैको मन्दिरमा गई जनैलाई वैदिक विधिअनुसार मन्त्रणा गरी लगाउनुपर्दछ ।
भद्रा भनेर किन विवाद गरिएको होला ?
कुनै पनि विषय राम्ररी जान्नका लागि त्यसले भनेका पुरा कुरा नबुझिकनै हुँदैन । आधा कुरा मात्र बुझियो भने शास्त्रले भनेअनुसार अल्पविद्या भयङ्करी बन्न जान्छ । यस्तै तिरिमिरि झ्याइँ अहिले घाँस जस्तै उम्रिएका नामधारी ज्योतिषीहरू एवम् भ्रमशास्त्रीहरूले गराउने गरेका छन् । शास्त्रमा ( भद्रायां द्वे न कर्तव्ये श्रावणी फाल्गुनी तथा त भनेको छ । उहाँहरूले त्यहाँसम्म त पढ्नुभएछ । तर त्यसभन्दा पछाडि त्यो भद्रा भन्नेको फल कस्तो अवस्थामा आउँछ भन्ने चाहिँ पढ्नुभएनछ । त्यसैले यसरी विवाद आएको हो । कस्तो भद्रालाई बार्नुपर्दछ भन्ने सिलसिलामा शास्त्रले मुहूर्तचिन्तामणिका माध्यमले ( कुम्भकर्कद्वये मर्त्ये स्वर्गेऽब्जेऽजात् त्रयेऽलिगे । स्त्रीधनुर्जूकनक्रेऽधो भद्रा तत्रैव तत्फलम् ।। भनेर भनेको छ । अर्थात् भद्रा जुन लोकमा बसेको छ त्यसै लोकमा बसेकाहरूलाई लाग्ने हो । अन्यत्रलाई भद्राको फल लाग्ने छैन भनेर स्पष्टै भनेको छ । त्यसैले भोलि चन्द्रमा मकर राशिमा रहेकाले भद्रा पाताल लोकमा छन् । पाताल लोकमा बसेकाले भद्राको विचार गर्नुपर्यो । हामी मर्त्यलोकमा बसेकालाई त्यो भद्राले केही गर्नेवाला छैन ।
त्यस्तै अर्को वचन यसरी लेखिएको छ । दिनभद्रा यदा रात्रौ रात्रिभद्रा यदा दिवा । न त्याज्या शुभकार्येषु प्राहुरेवं पुरातनाः ।। अर्थात् दिनको भद्रा रातिमा एवम् रातिको भद्रा दिनमा पनि छ भने त्यो भद्रा शुभकार्यमा त्याग गर्नै पर्दैन । यहाँ पनि २ गते बेलुकादेखिको भद्रा रातभरी भएर अर्को पूर्णीमाको दिन पनि भएकाले यसलाई शुभकार्यमा वार्नै परेन । त्यस्तै मुहर्तचिन्तामणिको शुभाशुभप्रकरणको ४४ औँ श्लोकमा स्पष्टसँगै पञ्चद्व्यद्रिकृताष्टरामरसभूयामदिघट्यः ।।। अर्थात् यो नियमले पूर्णिमा तिथि भएको दिनको चौथो प्रहरको सुरु पाँच घडी मात्र बार्न पर्ने भन्ने देखिएकाले भोलि भद्राको कारणले विहान गर्न हुन्न भन्ने कुरा बेकार हो ।
त्यस्तै अर्को प्रमाण भनेको हाम्रा पात्राहरू हुन् । आजभन्दा धेरै वर्ष अगाडिदेखि नै नयराज तोयराज आदि विद्वान्हरूले निर्णय गरेका पात्राहरूले यस किसिमको समय पर्दाका बखत विहानदेखि नै श्रावणी कर्म गर्ने गरेकाले सनातन परम्परालाई पनि ध्यान दिँदै भोलि बडेवाले छोटेवाला सबैले विहान सबेरै उठी नित्यकर्म गरिसकेपछि तलाऊ नदी आदिमा गई श्रावणी स्नान गरी मन्दिर या घरमा वैदिक विधिपूर्वक जनै मन्त्रणा गरी धारणा गर्नुहुन ८०-८१ वर्ष नाघेका पञ्चाङ्गनिर्णायक समितिमा बसी यस किसिमका धेरै निर्णय गर्नुभएका आदरणीय गुरुहरूको आज्ञा रहेको छ । अन्त्यमा मुण्डन पनी नगरी श्रावणी कर्म पनि नगरी कपाल र जटा हल्लाउँदै (दारी जुंगा बिनाको र छाँटेर सेलिब्रेटी भएका) जनै डोरो लिएर आएकाहरूबाट रक्षासूत्र एवम् जनै धारणा गर्नु र बटुवा धागो बान्नु बराबर भएकाले त्यस्तालाई बहिष्कार गरौँ । वैदिक नियमका पुरोहित तथा नजिकैको गुरुकुलहरूमा गई वैदिक विधिले बनाइएका मन्त्रणा गरिएका रक्षासूत्र र जनै धारणा गरौँ भन्ने कुरा पनि रहेको छ । (खनाल उपप्राध्यापक हुन्)