गोविन्दराज, धनराज र सूर्यनाथको त्रिकोणीय प्रतिशोधमा बालकृष्ण श्रीमान शिखण्डी
नेपाली पेन, १४ साउन । गोविन्दराज जोशी र धनराज गुरुङ । यी दुई पात्रहरुप्रति धेरैको फरक दृष्टिकोण छ । दुवैबीच ठूलै टकराव छ । दुवै एकार्कालाई भ्रष्टाचारी र आफूलाई सदाचारी देखाउने प्रतिष्पर्धा नै चल्यो। दुवै गण्डकी प्रदेशका हुन् । गुरुङ स्याङ्गजा र जोशी तनहुँका। एक जमानामा तनहूँका जोशी गिरिजा प्रसाद कोइरालाका भित्रिया र पटक(पटक प्रमुख सचेतक र मन्त्री हुने चर्चित पात्र हुन् । अघिल्लो पुस्ताका चर्चित त्रिशक्ति अर्थात रामचन्द्र, शेरबहादुर, शैलजा आचार्य पछिको दोस्रो पुस्तामा कहलिएका त्रिशक्ति थिए अर्थात खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजय गच्छेदार । यिनीहरूको नाम मन्त्री हुनेमा कहिल्यै छुट्दैनथ्यो, त्योपनि शक्तिशाली मन्त्रालय । यीमध्ये शैलजाबाहेक सबै पालैपालो, दोहोर्याइ, तेहेर्याइ पनि गृहमन्त्री भए ।
गिरिजाप्रसाद कोइरालाको निर्देशनमा सन्तनेता कृष्णप्रसाद भट्टराईलाई चुनाव हराउन पनि जोशी अन्तर्घाती दस्तामा हर्ताकर्ता रहेको रहस्य विगतमा खोलिएको थियो । त्योबेलामा धनराज नेविसंघ नेतृत्वमा थिए । नेताहरूको वरपिरि घुम्ने, ठेक्कापट्टा मिलाउने, सरुवा-बढुवामा दाम कुम्ल्याउने त्यतिखेरका नेविसंघ वा तरुण दलका नेता, कार्यकर्ताको दिनचर्या नै थियो । त्यस्तै प्रस्ताव लिएर गोविन्दराज मन्त्रीसमक्ष धनराज गए । जातिय राजनीति र नेवि सङ्घको नेतृत्वमा भएका कारण धनराजलाई अगाडि बढाएमा गण्डकी प्रदेश मात्र नभई पशिचामाञ्चलको आफ्नो बर्चस्व गुम्ने देखेर जोशीले धनराजलाई ढिप्किन पनि दिएनन् । उता खुमबहादुर खड्काले तनहूँका शङ्कर भण्डारी च्यापेका र गच्छेदारले नपत्याएका कारण धनराजको नाम (धन कमाउने) साकार पार्ने वा अमिर हुने सपना धुमिल भयो, उनी अमिर बन्ने धुनमा मित अमिर गुरुङकोमा पुगे । अमिरले नेताहरूको रातो पासपोर्ट बेचेर मानव तस्करी गर्ने फस्टाएको धन्दामा मितज्यूलाई पनि साझेदार बनाए ।
त्यतिखेर डा. रामशरण महत लगायतका नेताहरूको रातो पासपोर्टमा मानव तस्करी भइरहेको थियो । उनले जति मानिस तस्कारी गर्नसक्यो त्यति निरन्तर कमिसन आइरहने प्रलोभनमा गौप्राणी भनी चिनिने तत्कालीन काँग्रेस सांसद रामचन्द्र अधिकारी (पूर्व स्वास्थ्य राज्यमन्त्री) को रातो पासपोर्ट हात पारी अमिर मितज्यूलाई दिए । पछि धन्दा सर्वजनिक भयो । तत्कालीन गृहमन्त्री गोविन्दराज जोशीले जासुसी संयन्त्रमार्फत त्यो सुइँको पाए । उनले धनराजलाई पक्राउ गरी राहदानी मुद्दा चलाए । धनराजलाई रातो पासपोर्ट मुद्दामा सिध्याउने जोशीको योजनामा तनहूँकै प्रतिद्वन्दी रामचन्द्र पौडेल बाधक बने, “शत्रुको शत्रु –मित्र” भन्ने सुत्र अप्नाउँदै पौडेलले गुरुङलाई च्यापे । पासपोर्ट दुरुपयोग मुद्दामा डामिए राजनीति नै समाप्त हुने डरले धनराजले पौडेलको आडभरोसामा त्यतिखेर काँग्रेसी पृष्ठभूमिका न्यायाधीश र अदालतका उच्चपदस्थ कर्मचारी परिचालन गरी भेटी चढाइ साम, दाम, दण्ड, भेदको नीति अबलम्बन गरी मुद्दामा सफाइ पाउन सफल भए ।
त्रिकोणीय प्रतिशोध
त्यसपछि धनराज र रामचन्द्र पौडेलको मिलिभगतमा जोशीलाई बदला लिने अभियान सुरु भयो । रामचन्द्र र जोशीको प्रतिद्वन्दिता पति घिनलाग्दो थियो कि एकाकार्कालाई सिध्याउन मोर्चा कसेर लाग्थे, बरू कम्युनिष्टले जितेपनि एकार्कालाई सकेसम्म टिकट नदिने, दिएपनि अन्तर्घात गर्ने दुवैको रणनीति थियो । रामचन्द्र हराउन अन्तर्घात गरेको उजुरी जोशीविरुद्ध पर्यो । रातो पासपोर्टमा सफाइ पाएका धनराज राजनीतिमा बौराउन लागेका के थिए, रामचन्द्रले गुरुङलाई अनुशासन समितिमा राखे र जोशीको अन्तर्घातको उजुरी सुन्ने न्यायाधीश बनाए । गुरुङको मनमा दन्दनी बलिरहेको जोशी विरुद्धको बदलाको ज्वाला शान्त पार्न जोशीलाई काँग्रेसको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरे ।
काँग्रेसभित्रको यस्तो रमिता हेरी मज्जा लिइरहेका अख्तियारका प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको र जोशीको पुरानो दुस्मनी थियो । उपाध्यायको घर लमजुङको सुन्दरबजार र जोशीको घर तनहूँको मानेचौका खाल्टे १५ मिनटको दुरीमा पर्छ । उनीहरू कलेज जीवन देखिकै राजनीतिक ‘दुस्मन’ हुन् । पछि जोशी तनहूँको मानेचौका हाइस्कुल र उपाध्याय लमजुङको भोटेवडार हाइस्कुलका हेडमास्टर भए । दुवै स्कुलको दुरी ३० मिनेट दुरीमा पर्छ । स्कुलमा पनि काँग्रेस कम्युनिष्टलाई उचालेर कुटपिट गराउने कार्यमा दुवै लागे । यतिसम्मकी विद्यार्थीलाई काँग्रेस कम्युनिष्ट बनाएर ठोकाठाक गराउँथे जोशी र उपाध्याय ।
तीनै उपाध्याय निजामति कर्माचारी हुँदै अख्तिरार प्रमुख र जोशी मन्त्री भए । दुस्मनी साँध्ने मौका उपाध्यायले पाए । कारबाहीमा परी काँग्रसबाट निष्काशित जोशी पौडेल, गुरुङ र उपाध्यायको त्रिकोणीय निशानामा परे । उनी विरुद्ध अख्तियार लाग्यो, विशेष अदालतबाट भ्रष्टाचारमा जोशी डामिए ।
व्यक्तिगत प्रतिशोधमा न्यायालयको प्रयोग
विशेषबाट डामिएपछि जोशीको मुद्दा सर्वोच्च गयो । वकील पृष्ठभूमिका जोशीको वकील र न्यायायाधीशमाझ राम्रै पकड थियो । आफ्नो मुद्दा मिलाउन समाज कल्याण परिषद, खेलकुद परिषद, युसेप, उच्च माध्यामिक शिक्षा परिषद, सिटिइभिटी लगायतमा जोशीकै कृपामा कानूनी सल्लाहकार कल्याण रहिसकेका उपेन्द्र केशरी न्यौपानेलाई जोशीले बार एशोसियसनबाट न्याय परिषद सदस्यमा छिराए । सर्वोच्चमा सिफारिस हुने हरेक न्यायाधीशलाई न्यौपानेको पहिलो शर्त हुन्थ्यो जोशीको मुद्दा सफाइ दिने । कल्यण श्रेष्ठसँग पनि जोशीको राम्रै गठजोर थियो । कल्याण र न्यौपाने दुवै न्याय परिषदमा रहँदा पनि जोशीलाई सफाइ दिने हिम्मत भएको पात्र भेट्टाउन नसकेकोले श्रेष्ठ, न्यौपाने र गोपाल पराजुली शक्तिमा रहुञ्जेल जोशीको मुद्दा सफाइ पाउन नसके पनि अड्काउने काम भयो ।
माओवादी काँग्रेस गठबन्धनमा उनै चिरपरिचित जोशीका ‘दुस्मन’ धनराज गुरुङ कानूनमन्त्री बनेर आए । उनले मन्त्री भएकै पहिलो हप्तामा कामु प्रन्या हरिकृष्ण कार्कीसमक्ष जोशीको मुद्दा पेसी चढाइ सजाय गर्न प्रस्ताव राखे । प्रधानन्यायाधीश हुने आशामा रहेका कार्कीले हिम्मत गरेनन् । कार्कीपछि प्रधानन्यायाधीश भएका विश्वम्भर प्रसाद श्रेष्ठसमक्ष पनि गुरुङले सोही प्रस्ताव राखे । ईश्वर खतिवडाले त ‘म ठोक्छु’ पनि भनेका थिए । यसमा समन्वयकर्ता थिए स्याङ्गजाकै चतुर खेलाडी सर्वोच्चको न्यायाधीश हुने टेकप्रसाद ढुङ्गाना ।
गाउँमै एमाले काँग्रसको विपरीत ध्रुवको राजनीति गरेका गुरुङ र ढुङ्गानाबीच मारामार थियो । ढुङ्गाना र गुरुङबीच अष्ट्रेलियाको सिड्नीमा भएको चर्चित डिलले आफ्नो अघिल्लो अङ्कमा यसबारे विस्तृत समाचार प्रकाशित गरेको थियो० पश्चात् ढुङ्गानाकै मार्फत पूर्व एमाले, नेकपा एस निकट भई फेरि एमालेमै फर्केका अधिवक्ता बालकृष्ण ढकाल सर्वोच्चको न्यायाधीश बन्ने योजनामा गुरुङको सेटिङमा पुगे । न्यायाधीश नियुक्तिको लागि गुरुङ विभिन्न आकाङ्क्षीहरूसँग काठमाडौँका विभिन्न स्थान, पिए प्रेमप्रकाश केसी समेतको डेरामा भेटघाट गरेको समाचार सार्वजनिक भए । नियुक्तिको अघि गुरुङ रातारात अष्टेलिया, अमेरिका पटक(पटक यात्रा गरे । नियुक्तिकै तत्काल अघि गुरुङ अमेरिका र बालकृष्ण ढकाल बैङ्कङ्क जान भनी काठमाडौँबाट उँडे, बैङ्कङ्क जान भनी हिँडेका ढकाल न्यूयोर्कमा पुगे, उता क्यालिफोनियाको सान फ्राँन्सिस्कोमा पोखरेल थरका व्यक्तिसँगको डिल सकी न्यूयोर्कमा शरणार्थी आवेदन दिएर बसेकी पत्नीसँग एकाल र गुरुङको डिल एक एनआरएनको मध्यस्थमा भयो ।
चर्चामै नआएका ढकाल रातारात न्यायाधीश बने एमालेको कोटामा, तर स्वयं एमाले अध्यक्ष ओलीलाई आफ्नो पार्टीको नाममा ढकाल भन्ने व्यक्ति न्यायाधीश बनेको कुरा पछि थाहा भयो । ओली रमेश बडाललाई न्यायाधीश बनाउने सुरमा थिए । उनले देउबासँग आपत्ति प्रकट गरे, आफ्नो पार्टीको उम्मेदबार काँग्रेसले तय गरेकोमा । तर धनराजले आफूसँग सल्लाह यो बारेमा नगरेको जवाफ देउबाबाट पएपछि ओलीले धनराजलाई फोनमा थर्काए । त्यही रिसमा धनराजले संसदमा ओलीतिर लक्षित गरी चोरऔँला ठड्याउँदै नारा लगाए, भाइरल भए । संसदमा ओलीतिर चोरऔँला ठड्याएको २ दिनअघिमात्रै नेपालबाट सहकारी ठगेर ३३ करोड रुपैयाँ लिएर फरार भएका राजु के.सी., हेटौँडामा घरभई हाल सानफ्रान्सिस्को बस्ने रवि सिंह, पिए प्रेम प्रकाश केसी, पिएका नातेदार थलवीर ओली (गुरुङले न्यायाधीश नियुक्तिमा डिल गरेको पैसा पिएले ओलीमार्फत पनि डिपोजिट गराएका थिए) सग संयुक्त लगानीमा चेन होटल किन्ने र नेपालमा छँदा ललितपुरस्थित सहकारीको सिइओ रहँदा ६ करोड हिनामना गरी फरार रही हाल अमेरिकामै शरणार्थी आवेदन हाली बसेकी काजगी छोडपत्र गरिएकी श्रीमती ज्योति गुरुङलाई होटलको पनि व्यवस्थापन जिम्मा लगाउने गरी गुरुङ नेपाल फर्केका थिए, पिए उतै डिलमै व्यस्त थिए । गुरुङ सानफ्रान्सिसकोमा हिल्टन होटलमा बसेर गरेको डिल यस पत्रिकाले न्यायाधीश नियुक्तिका बखत नै प्रकाशित गरेको थियो ।
त्यसरी एमालेको कोटामा भनी एमाले, प्रधानन्यायाधीश, ईश्वर खतिवडा र परिषद सदस्यलाई झुक्याएर वकीलबाट न्यायाधीश बनाएका बालकृष्ण ढकाल श्रीमानले गुरुङको निर्देशनमा जोशीको अन्त्येष्टि गरिदिए, कजलिष्ट पनि प्रतिशोधमा इस्तेमाल भयो, बालकृष्ण श्रीमानले विनोद शर्मा श्रीमानलाई पनि मनाए, जोशी भ्रष्टाचारकाण्डमा दुई दशकपछि ठेगान लगाइए ।
धनराजले जोशीसँग यसरी राजनीतिक प्रतिशोध पूरा गरे । काँग्रेस त्याग गरी बसेका जोशीको राजनीतिक जीवन सदाको लागि समाप्त भयो, यसरी एक राजनीतिक त्रिकोणीय प्रतिशोधको श्रृङ्खला जोशीको अवसानपछि अन्त्य हुन गयो । यसबाट जोशीप्रति धनराज गुरुङ र सूर्यनाथ उपाध्ययको बदलाको आगो पनि तत्कालका लागि शान्त भयो । राजनीति, प्रतिशोध, अलदालत, न्यायाधीश नियुक्तिको संयोग सँगै न्यायालयको प्रयोग गरियो ।