गुरुको गुरुत्व पुज्ने दिन “गुरु पूर्णिमा”
“हिमालयं समारभ्य यावत् इंदु सरेावरम्
तं देवनिर्मितं देशं हिंदुस्थानं प्रचक्षते”
(बृहस्पति आगम)
लाल बहादुर चौधरी । प्रत्येक समाजको आफ्नै विशिष्ट तथा मौलिक रीतिथिति, परम्परा, संस्कार तथा संस्कृति हुन्छन् । समयको चक्रसँगै यी सामाजिक आयामहरू क्रमिक रूपमा विकसित तथा परिस्कृत हुँदै जान्छन् । यी आयामहरू त्यस समाजको एक विशिष्ट दर्शनमा आधारित हुन्छन्, जसले त्यस समाजसँग जोडिएका व्यक्तिहरूको जीवन पद्धतिमा प्रभाव पारेका हुन्छन् । यिनै विशिष्ट तथा मौलिक रीतिथिति, परम्परा, संस्कार तथा संस्कृतिका आधारमा त्यस समाजका व्यक्तिहरू आफ्नो जीवन व्यतित गरिरहेका हुन्छन् । फलतः त्यस समाजका व्यक्तिहरूको एक अभिन्न अङ्ग बनेका हुन्छन्; तिनीहरूका मौलिक पहिचान बनेका हुन्छन् ।
विभिन्न खोज तथा अनुसन्धानका अनुसार, अस्तित्वमा रहेका संसारका विभिन्न सभ्यता मध्ये हिन्दू सभ्यता सबै भन्दा प्राचीनतम् सभ्यता हो । हिन्दूहरू संसारको कुनै पनि कुनामा बसोबास गरे पनि, तिनीहरूको जीवन पद्धति हिन्दू दर्शनमा आधारित हुन्छ, जसलाई हामीले पूर्वीय दर्शन, वैदिक दर्शन, सनातन दर्शन, आदि नामले पनि जान्दछौं । हिन्दूहरूले मान्ने विभिन्न संस्कार तथा संस्कृति तिनीहरूका पहिचान हुन् । वर्षभरी तिनीहरूले मान्ने पर्व-उत्सव तिनीहरूले मान्ने गरेका संस्कार तथा संस्कृति अभिन्न अङ्ग हुन्, जसको आफै मौलिकता, महत्व तथा सान्दर्भिकता हुन्छ । हिन्दूहरूले प्राचीनकालदेखि मान्दै आएको यस्तै पर्व-उत्सव मध्ये एक महत्वपूर्ण उत्सव हो “गुरु पूर्णिमा”, जसको हिन्दू समाजमा प्राचिनकालदेखि वर्तमान समयसम्म एक विशिष्ट महत्व रहेको छ ।
गुरु पूर्णिमा अर्थात् गुरु-पुजन दिवस, गुरुलाई विशेष सम्मान दिने दिन l उसो त गुरु सधै सम्माननीय हुन्छन्, बन्दनीय हुन्छन् l यद्यपि, गुरु परम्परा मान्नेहरूका लागि गुरु पूर्णिमा अझ विशिष्ट हुन्छ । आषाढ शुक्ल पूर्णिमाको दिन पर्ने गुरु पूर्णिमालाई व्यास पूर्णिमा पनि भन्ने गरिन्छ l हिन्दूहरूले मात्रै नभएर, बौद्ध धर्मका अनुयायीहरूले पनि गुरु पूर्णिमा पर्वलाई भक्तिपूर्वक मनाउने गर्दछन् । हिन्दू धर्ममा पनि, जुनसुकै पन्थ-सम्प्रदायले गुरु पूर्णिमालाई उत्तिकै उल्लासका साथ मनाउने गर्दछन् । यस सन्दर्भमा, “गुरु को हुन् ?” भन्ने कुरा बुझ्नु औचित्यपूर्ण हुन्छ ।
सामान्यतया “गुरु” भन्नाले विद्या वा शिक्षा प्रदान गर्ने व्यक्ति, शिक्षक वा अध्यापकलाई जनाउँछ । भाषा विज्ञान अनुसार, यसका दुई अर्थ हुन्छन् – पहिलो, अन्धकारलाई मेटाउने सन्दर्भमा; दोश्रो, गुरु तत्व अर्थात् ‘गुरुत्व’को सन्दर्भमा ।
पहिलो सन्दर्भमा, गुरु – ‘गु’ को अर्थ अन्धकाररूपी अज्ञानता हो भने ‘रु’ को अर्थ अन्धकार हटाउने वाला वा अन्धकारलाई चिर्ने उज्यालो हो । अतः हाम्रो जीवनबाट अज्ञानताको अन्धकारलाई मेटाएर ज्ञानको प्रकाश छर्ने, जीवनलाई उज्यालो बनाउने व्यक्ति नै गुरु हुन् ।
दोश्रो सन्दर्भमा, गुरुलाई गम्भीरता, गहिराइ, भार वा वजनसँग जोडिएको छ । जहाँ गुरुत्व हुन्छ, त्यो पक्ष भारी हुन्छ । यसलाई वैज्ञानिक रूपमा बुझ्नु पर्दा, न्युटनको ब्रह्माण्डिय गुरूत्वको नियम अनुसार कुनै पनि दुई पिण्डहरूको बीचमा पैदा हुने आकर्षण बललाई गुरुत्व बल भनिन्छ । त्यसैगरी, पृथ्वीको गुरुत्वाकर्षण शक्तिले सबै वस्तुहरूलाई ग्रहको केन्द्र तर्फ तल तान्छ । यसको अर्थ, जुन पिण्ड वा वस्तुमा बढी गुरुत्वाकर्षण शक्ति हुन्छ, त्यसमा कुनै पनि वस्तु वा पिण्डलाई आफूतिर तान्ने/आकर्षण गर्ने शक्ति, क्षमता वा सामर्थ्य हुन्छ । यसै सन्दर्भमा, गुरुमा पनि एक विशेष तत्व हुन्छ । त्यही तत्वले नै गुरुमा गुरुत्व उत्पन्न/विकसित गर्दछ । गुरुसँग गुरुत्व हुन्छ, जसले गर्दा गुरुले शिष्यलाई आफूतिर खिच्न सक्तछन् । जुन व्यक्ति वा वस्तुमा गुरुत्व हुन्छ, त्यसमा आकर्षण हुन्छ; त्यो व्यक्ति वा वस्तु आकर्षणको श्रोत बन्दछ । परिणामस्वरुप, गुरुहरूकै “गुरुत्व” ले सकल जगत ज्योतिर्मय हुन्छ, भएको छ ।
हिन्दू धर्ममा गुरुको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । हिन्दू मान्यता अनुसार, गुरु वा भगवान मध्ये गुरु सबै भन्दा पहिले पुजनीय हुन्छन् । सन्त कबिरले पनि गुरु वा भगवान मध्ये गुरुलाई नै रोजेका छन् किनभने गुरुको कृपाले नै गोविन्द (भगवान) को दर्शन गर्ने शौभाग्य प्राप्त हुन्छ ।
गुरू गोविन्द दोऊ खड़े, काके लागूं पांय।
बलिहारी गुरू अपने गोविन्द दियो बताय।।
गुरुले नै हामीलाई सत्मार्गको बाटो देखाउँछन् । गुरुको आशिर्वादले नै जीवनमा सफलता मिल्दछ । ऋषि संदीपनका शिष्य भगवान श्री कृष्ण र विश्वामित्रका शिष्य मर्यादापुरुषोत्तम श्री राम आफ्ना गुरुले बताएका मार्गमा हिडेकै कारण भगवान बन्न पुगे । हाम्रो शास्त्रहरूमा पनि गुरुलाई ब्रह्म, विष्णु, महेश, र साक्षात परब्रह्मको दर्जा दिइएको छ ।
गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः॥
व्यक्तिमा दोष हुन सक्छ l व्यक्तिमा गुण तथा क्षमता विकसित हुँदै गर्दा त्यसमा अहंकार पनि आउन सक्छ । यद्यपि, ‘गुरु’ स्थान सदैव बन्दनीय छ, सम्माननीय छ, अनुकरणीय छ l गुरु आफैमा प्रेरणा हुन्, जसले आफ्ना शिष्य (विद्यार्थी) हरूलाई आफू सरह वा आफूभन्दा क्षमतावान बनाउने प्रयास गर्छन् । गुरु त्यागको प्रतीक हुन्, जसले देश र समाजको यश, गौरभ तथा वैभवका निम्ति आफ्नो जीवनका महत्वपूर्ण क्षण अर्पित गरिदिन्छन् l गुरु एक प्रज्वलित दिपक सरह आफूसँग भएको ज्ञान, गुण, तथा क्षमताले आफ्ना विद्यार्थीहरूलाई प्रज्वलित गरिरहन्छन् l गुरुले स्वत्व तथा स्वाभिमानको बोध गराउँछन् l गुरुले नै शिक्षित तथा दीक्षित गरेका शिष्य (विद्यार्थी) हरू विभिन्न क्षेत्रहरूमा महत्वपूर्ण योगदान पुर्याइरहेका हुन्छन् l गुरु नहुने हुन् त हाम्रो शिक्षा अथवा भनौं मानव जीवन नै अधुरो हुन्थ्यो होला l गुरुको परिकल्पना, गुरुप्रतिको सम्मान भावले मात्र पनि व्यक्तिलाई अथाह ज्ञान हासिल गर्न मद्दत गर्न सक्छ l एकलब्यले गुरु द्रोणाचार्यलाई आफ्नो गुरुको रूपमा परिकल्पना गरेर वा गुरु मानेर मात्र पनि समग्र धनुर्विद्या हासिल गरेको उदाहरण हामी समक्ष छ l अर्थात्, गुरु केवल साकार स्वरूप मात्र नभएर, निराकार स्वरूपमा पनि हुनसक्छन् l आवश्यक छ त केवल गुरुप्रतिको श्रद्धा-भाव l
व्यक्तिलाई जीवनमा गुरु साकार रूपमा वा निराकार रूपमा आवश्यक हुन्छ l गुरु-कृपाबिना जीवन पूर्ण रूपमा सार्थक हुनसक्दैन l गुरुहरुले देखाउनु भएका सदमार्ग पहिल्याएर नै सफलताको शिखर चुम्न सकिन्छ, यसका साथै देश, धर्म, संस्कार तथा संस्कृतिका निम्ति महत्वपूर्ण योगदान पुर्याउन सकिन्छ l वर्तमान परिप्रेक्ष्यमा पनि गुरुको भूमिका त्यतिकै महत्वपूर्ण रहेको छ l अतः हाम्रो समाजमा गुरुको स्थान सबै भन्दा उच्च हुन्छ l
गुरु पूर्णिमा समाजको गुरु शक्ति (गुरुत्व) को पूजाको दिन हो । राजसत्ता, धनसत्ता, भूमिसत्ता, आदि मध्ये सबै भन्दा माथि गुरुसत्ता मानिन्छ, मान्य छ । गुरु पूर्णिमा गुरुत्वलाई पूर्ण गर्ने परम्परा हो; गुरुप्रति विशेष सम्मान तथा समर्पण भाव प्रकट गर्ने उत्सव हो । अतः गुरु पूर्णिमाको दिन गुरुको बन्दन तथा पूजन गर्नुका साथै यस पवित्र परम्परालाई अझ सम्मानित तथा गौरान्वित बनाउनु हाम्रो ध्येय संकल्पना हुनु पर्दछ ।
गुरु पूर्णिमाको पावन उपलक्ष्यमा सम्पूर्ण गुरुहरूप्रति हार्दिक नमन !