२३ आश्विन २०८१, बुधबार | October 9, 2024

आरजुको अग्निपरीक्षा


830
Shares

काठमाडौं, २ साउन । नेपाली राजनीतिमा चर्चा र विवादमा आइरहने पात्र हुन् आरजु राणा । कुनैबेला महिला अधिकारवादीको परिचय बनाएकी राणा राजनीतिमा दृश्य अदृश्य रुपमा सक्रिय रहेको तीन दशक भइसकेको छ ।

काँग्रेसका तत्कालीन प्रभावशाली नेता शेरबहादुर देउवासँग विवाह गरेपछि आरजु झन् राजनीतिमा सक्रिय भइन् । उनले देउवालाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलिन् ।

देउवाका कतिपय विवादास्पद कदममा आरजु पनि बदनाम भइन् । उनी पछिल्लो समय विभिन्न काण्डमा मुछिइन् । तर, यसको ठोस प्रमाण कतै देखिएन ।

आरजुमाथि भ्रष्टाचार या अनियमितताको काण्ड लाग्न लागेपछि प्रचण्ड सरकार ढलेको चर्चा पनि छ अहिले । आरजुले नै देउवा र ओलीलाई मिलाउन महत्वपूर्ण भूमिका खेलिन् ।

बालकोटमा ओली र देउवाको सहमतिमा आरजु पनि साक्षी बसिन् । उनलाई ओलीले परराष्ट्रमन्त्री बनाए । आरजुको शक्ति झन् बढेको देखिएको छ अहिले ।

आरजुलाई भेट्न र सम्पर्क गर्न देशभित्र र बाहिरका शक्तिले दौडधूप चलाइसकेका छन् । उनी पहिलोपटक मन्त्री बनेर भावी राजनीतिमा प्रभाव बढाउन खोजेको देखिएको छ ।

कतिपयले आरजुलाई शेरबहादुर देउवाको उत्तराधिकारी बन्न खोजेको समेत भनेका छन् । उनले त्यो प्रयास पनि थालेकी छिन् जुन सहज छैन ।

आरजुका लागि योपटक ठूलै अवसर र चुनौती छ । उनी सरकारमा सहभागी भएर आशा जगाउने काम गर्न नसके बदनाम हुनेछिन् ।

कुनैबेला गिरिजाप्रसाद कोइरालाले छोरी सुजाता कोइरालालाई भावी प्रधानमन्त्रीको लाइनमा राख्न परराष्ट्रमन्त्री बनाएका थिए माधवकुमार नेपाल नेतृत्वको सरकारमा । तर, सुजाता त्यसपछि निरन्तर ओरालो लाग्ने अवस्थामा पुगिन् । आरजुका लागि पनि त्यो खतरा छँदैछ । तर, राजनीति सम्भावनाको खेल भएकाले अवसर र चुनौती दुवै छ ।

प्रतिक्रिया