३१ भाद्र २०८१, सोमबार | September 17, 2024

कुन सचिव कहिले अवकाश पाउँदैछन्


2.1k
Shares

काठमाडौं, १ साउन । लीलादेवी गड्तौलालाई केपी ओली नेतृत्वको सरकारले पहिलो क्याबिनेटबाटै कायममुकायमा सचिव बनाइसकेको छ । अब उनी मुख्यसचिव बन्ने सम्भावना बलियो छ । नत्र उनको अवकाशको समय नजिक आइसकेको छ ।

अबको एक वर्षभित्र सरकारका १६ भन्दा बढी सचिव अवकाश हुनेछन् । यही आर्थिक वर्षभित्र कायममुकाय मुख्यसचिव गड्तौला, स्वास्थ्य, गृह, अर्थ, सञ्चार जस्ता महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा रहेका सचिवहरु अवकाशको सूचीमा देखिन्छन् । केही सचिव ५८ वर्षे उमेरहदका कारण त कोही सचिव ५ वर्षे सेवा अवधिका कारण अवकाश हुने भएका हुन् ।

कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौला नै ५८ वर्ष उमेरहदका कारण अवकाश हुनेछिन्। भदौं १५ गते ५८ वर्ष लाग्ने भएकाले उनी त्यहिँ दिनदेखि अवकाश हुन्छिन् । गड्तौला २०७७ कात्तिक २७ गते कानुन समूहबाट सचिवमा बढुवा भएकी हुन् । कामु मुख्यसचिवपछि अवकाश हुने सचिवको सूचीमा राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली रहेका छन् । उनी सचिवको ५ वर्षे सेवा अवधिका कारण भदौं २२ गते सेवा निवृत्त हुनेछन् । ज्ञवाली २०७६ भदौं २२ गते सचिवमा बढुवा भएका हुन् ।

सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदी ५ वर्षे सेवा अवधिका कारण कात्तिक ५ गते घर जाने भएका छन् । उनी २०७६ कात्तिक ५ गते नेपाल सरकारको सचिवमा बढुवा भएका हुन् । सुवेदी मुख्यसचिवको दौडमा छन् । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल मंसिर १३ गते ५८ वर्षे उमेर हदका कारण घर जाने भएका हुन् । गेलाल २०७७ साल मंसिर २५ गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए ।

नेपाल कानुन आयोगका सचिव तोयानाथ अधिकारी मंसिर २८ गते घर जाने भएका छन् । ५८ वर्षे उमेर हदका कारण कानुन समूहका सचिव अधिकारी मंसिर २८ मा घर जान लागेका हुन् । अधिकारी २०७७ चैत ५ गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए ।महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई ५ वर्षे सेवा अवधिका कारण माघ २९ गते अवकाश हुँदैछन् ।उनी २०७६ माघ २९ मा नेपाल सरकारको सचिवमा बढुवा भएका हुन् ।

निलम्बित सचिव टेकनारायण पाण्डे यहीँ फागुन १२ गते अवकाश हुनेछन् । २०७६ फागुन १२ गते सचिव सचिवमा बढुवा भएका पाण्डे ५ वर्षे सेवा अवधिका कारण उनी फागुन १२ गते घर जानेमा परेका छन् । तर, उनी घर जानुभन्दा अगाडि जेलमा पुगेका छन् । स्वास्थ्य सचिव डा। रोशन पोखरेल पनि फागुन १२ गते नै घर जानेमा पर्छन् । उनी २०७६ फागुन १२ गते स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञमा बढुवा भएका हुन् । २०७८ साउन ४ गते नेपाल सरकारको सचिवमा बढुवा भएका स्वास्थ्य सचिव डा। पोखरेलले विशिष्ट श्रेणीमा ५ वर्ष काम गरेकाले उनी फागुन १२ गते घर जाने भएका हुन् ।

अर्थ सचिव मधुकुमार मरासिनी फागुन १६ गते घर जाने भएका छन् । ५८ वर्षे उमेर हदका कारण उनी फागुन १६ मा घर जाने भएका हुन् । मरासिनी २०७७ साउन १२ गते नेपाल सरकारको सचिवमा बढुवा भएका हुन् । गृह सचिव एकनारायण अर्याल फागुन १८ गते घर जानेमा पर्छन् । ५ वर्षे सेवा अवधिका कारण उनी फागुन १८ मा घर जाने भएका हुन् । अर्याल २०७६ फागुन १८ गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेल चालू आर्थिक वर्षमै घर जानेमा पर्छन् । उनी २०८२ वैशाख २ गते अवकाश हुने भएका छन् । पोखरेल ५ वर्षे सेवा अवधिका कारण वैशाख २ गते घर जान लागेका हुन् । पोखरेल २०७७ वैशाख २ गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए । पोखरेलपछि महालेखा नियन्त्रक विनोदप्रकाश सिंह घर जानेमा पर्छन् । ५८ वर्षे उमेर हदका कारण उनी वैशाख २५ गते घर जाने भएका हुन् । सिंह २०७९ असार ६ गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे वैशाख ३० गते घर जानेमा पर्छन् । ५८ वर्षे उमेर हदका कारण उनले वैशाख अनिवार्य अवकाश पाउन लागेका हुन् । पाण्डे २०७८ असार ३० गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए । सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटा पनि चालू आर्थिक वर्षमै घर जानेमा परेका छन् । सापकोटा ५ वर्षे सेवा अवधिका कारण २०८२ जेठ २८ गते अवकाशमा जाने भएका हुन् । सापकोटा २०७७ जेठ २८ गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए ।

व्यवस्थापिका संसद् सचिवालयका सचिव सुदर्शन खड्का ५ वर्षे सेवा अवधिका कारण जेठ ३० गते अवकाश हुँदैछन् । उनी २०७७ जेठ ३० गते सचिवमा बढुवा भएका थिए । त्यस्तै उप(महालेखापरीक्षक ९सचिव० बामदेव अधिकारी पनि चालू आर्थिक वर्षमै अवकाश पाउनेमा पर्छन् । उनी २०८२ असार ६ गते घर जाने भएका हुन् । अधिकारी २०७७ असार ६ गते सचिवमा बढुवा भएका थिए ।
सचिवहरु ठूलो सख्यामा अवकाश हुने भएकाले सहसचिवहरु बढुवाको दौडमा छन् । कतिपय सरकार परिवर्तनसँगै आकर्षक मन्त्रालयमा पुग्ने पहल गर्न थालेका छन् ।

प्रतिक्रिया