१९ आश्विन २०८१, शनिबार | October 5, 2024

सत्ताको दाउपेचमा जालझेल


581
Shares

काठमाडौं, २४ असार । देशमा सत्ताको दाउपेच र धोकाधडीको राजनीति राणाकाल भन्दा अगाडि हुँदै आजपर्यन्त चलिआएको छ । सत्ताका लागि उहिले विपक्षीको जालझेलपूर्ण हत्या गर्दै शक्तिमा पुग्ने गरेका घटना धेरै भए ।

राजपरिवार र भाइभारदारको काटमारका घटना धेरै चले । कोतपर्व, भण्डारखालपर्व जस्ता धेरै काण्ड इतिहासमा चर्चित छन् ।

२००७ सालको प्रजातन्त्रपछि पनि जालझेलको राजनीति चलिरह्यो । २०१७ सालमा राजा महेन्द्रले कू गरेर निर्वाचित सरकारबाट सत्ता हातमा लिए । ३० वर्षको पञ्चायत जालझेलले चल्यो ।

२०४६ सालको परिवर्तनपछि जालझेलका नयाँ शृंखला चले । दलहरुभित्र एकले अर्कालाई षड्यन्त्रपूर्वक सिध्याउने खेलहरु खेलिए । त्यतिबेला निकै शक्तिशाली काँग्रेसभित्र कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीचको टकराव चल्यो । भट्टराई षड्यन्त्रपूर्वक चुनाव हराइए ।

गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा निकै विवाद आयो । उनले बहुमतको सरकार ३ वर्ष चलाउन नसकेर मध्यावधिमा गयो देश । राजनीतिक अस्थिरताबीच सांसद किनबेचका घटना घटे ।

अस्थिरताको फाइदा उठाउँदै माओवादीले हतियार उठाए । माओवादीले कहिले दरबार त कहिले काँग्रेसलाई प्रयोग गरे । उनीहरु शक्तिशाली बने हतियारको बलमा । त्यहीबीच दरबार हत्याकाण्ड भयो ।

माओवादी सत्तामा पुगे जनआन्दोलनपछिको संविधानसभाको निर्वाचनबाट । तर, प्रचण्ड सरकार चाँडै ढल्यो । जालझेलको राजनीति फेरि चल्यो ।

संविधान त बन्यो तर राजनीतिक अस्थिरताको ढोका झन् उदांगियो । एकले अर्कालाई झुक्याउने र धोकाधडी गर्ने क्रम चल्यो ।

केपी शर्मा ओलीले प्रचण्डसँग भद्र सहमति गरी आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने गरी पार्टी एक बनाए । तर, ओलीले प्रधानमन्त्री पद छाड्न तयार भएनन् । त्यसपछि प्रचण्ड र माधव नेपाल मिलेर ओलीलाई ठेगान लगाए ।

शेरबहादुर देउवा प्रधानमन्त्री बने । प्रचण्ड र देउवा मिलेर चुनाव लडे तर सहमति अनुसार देउवा प्रचण्डलाई सत्ता हस्तान्तरण गर्न तयार भएनन् । त्यसपछि प्रचण्डले ओलीसँग हात मिलाए । त्यो गठबन्धन लामो टिकेन । फेरि प्रचण्ड देउवासँग मिले । तर, फेरि ओलीसँग हात मिलाए प्रचण्डले । सहमति अनुसार प्रधानमन्त्री पद छाड्नुपर्ने र माधव नेपाललाई सत्तामा लानुपर्ने भएपछि प्रचण्डले धोका दिए ।

ओलीले पनि प्रचण्डलाई धोका दिए । उनले देउवासँग हात मिलाएर प्रचण्डलाई चक्मा दिए । अब देउवा र ओलीबीचको हातेमालो कुन धोकाधडी र जालझेलबाट टुट्ने हो भन्ने चासो बनिसकेको छ । यसरी नै जालझेल र धोकाधडीको राजनीति चलिरहँदा अस्थिरता बढेको छ । त्यसको मूल्य देशले चुकाइरहेको छ ।

प्रतिक्रिया