६ मंसिर २०८१, बिहिबार | November 22, 2024

बुद्धलाई नारामा होइन व्यवहारमा स्वीकार गरौँ


9k
Shares

रमेश कण्डेल: बुद्धजयन्तीको प्रसंग चलिरहँदा केही समय अगाडि देशका सम्माननीय प्रधानमन्त्रीले एउटा कार्यक्रममा बोल्दै देशको बारेमा, देशमा हराउँदै गएको नैतिकता, अनुशासन, चरित्रता, देशभक्तिको भावना, युवा पलायन, संस्कृति र आचरणको स्खलनको बारेमा चिन्ता प्रकट गर्दै दिनुभएको अभिव्यक्तिको स्मरण भयो । उहाँको त्यो अभिव्यक्ति सुनिरहँदा मेरो मानसपटलमा अनेकोँ प्रश्नहरू उब्जिन थाले । दशकौँसम्म युवावर्गलाई कार्ल माक्र्स, लेलिन र माओका पाठ पढाउने, पृथ्वीनारायण र महापुरूषका शालिक तोड्न सिकाउने अनि देशभक्तिका कुरा सुहाँउछ र ? विद्यालय क्षेत्रमा नैतिक शिक्षा र संस्कृत शिक्षा बन्द गराउने अनि नैतिकताको कुरा मिल्छ र ? बुद्धको देश, ज्ञानभूमि र शान्तिभूमिमा हिंसा र द्वन्द्वको मार्ग तयार गर्ने अनि सदाचार र नैतिक मूल्यको कुरा कसरी गर्न सक्नुहुन्छ ? देशको भाषा, संस्कृति, इतिहास र सभ्यतालाई गाली गर्ने, समाप्त गर्न सिकाउने र प्रेरित गर्ने अनि राष्ट्रिय भावना र सोचको अपेक्षा गर्ने यो त न्यायसँगत हुँदैन होला ? हो ! हामी मानवीय एवं सामाजिक दृष्टिले कमजोर बन्दै गइरहेका छौँ । हाम्रो आचरण र संस्कार कमजोर बन्दै गइरहेको छ ।

भाषा, संस्कृति, परम्परा, मानवीय मूल्य, सामाजिक सद्भाव र राष्ट्रिय भावनामा स्खलन आउँदै गइरहेको छ तर यसको बीजारोपण कसरी भयो ? कसले प्रारम्भ गर्यो ? यसको जवाफ खोज्दै हामी अगाडि बढौँ । यदि सबैलाई देशको चिन्ता वास्तवमै हो भने विदेशी वाद, महापुरूष र दर्शनलाई छोडेर बुद्धको विचार, पृथ्वीको जीवनी, वैदिक साहित्य र दर्शन, नैतिक मूल्ययुक्त जीवनपद्धतिलाई स्वीकार गर्दै देशको इतिहास, महापुरूष र यहाँको मौलिक विचारलाई केन्द्रविन्दुमा राखेर राष्ट्र पुनर्निर्माणको संकल्पका साथ अगाडि बढौँ ।

प्रसंग बदलौँ: आजभन्दा २५६८ वर्ष अगाडि कपिलवस्तु तिलौराकोट राज्यको राजपरिवारमा जन्मेका सिद्धार्थ गौतमले जीवनको मूल्य, अस्तित्व, सार्थतकता र उद्देश्यको बारेमा उत्पन्न अनेकौँ प्रश्नको जवाफका लागि आफ्नो २९ वर्षको आयुमा भौतिक सुखसयल र सम्पन्नताको त्यागसँगै वैराग्य र साधनाको मार्ग रोजे र जीवनको वास्तविक अर्थ, शान्ति र मोक्ष प्राप्तिमा अग्रसर भए । जीवनका अनेकौँ प्रश्नको खोजीका लागि निरन्तर यात्रा गरिरहँदा, साधना र तपस्याको माध्यमबाट ज्ञानचक्षु खोल्दै गए र अन्ततः भारतवर्षको बोधगयामा पुगेर बुद्धत्व प्राप्त गरे, बुद्धत्व प्राप्तिपश्चात् समग्र मानव कल्याणका लागि साधना पद्धति तथा शान्ति, अहिंसा र ज्ञानको सन्देश प्रवाहमा जीवन आहुति दिए र महापरिनिर्माण प्राप्त गरे जसको प्रासंगिकता मानव सभ्यता रहुञ्जेल रहिरहनेछ । त्यसलाई स्वीकार गर्ने नगर्ने वर्तमान पुस्ताको दृष्टिकोण हो ।

बुद्धले त्याग र सात्विकताबाट साधनाको मार्ग रोजे ।
साधनाबाट समाधीको मार्ग रोजे ।
साधनाबाट सिद्धिको मार्ग रोजे ।
त्याग र तपस्याबाट महापरिनिर्माणको मार्ग रोजे ।

बुद्ध धर्मको मूलग्रन्थ त्रिपिटकमा पञ्चशीलको सिद्धान्तको बारेमा विशेष चर्चा गरिएको छ । पञ्चशीलमा भनिएको छ ः हिंसा नगर्नु, चोरी नगर्नु, व्यभिचार नगर्नु, झूटो नबोल्नु, मध्यपान नगर्नु, बुद्धले महत्वपूर्ण पञ्चशीलको सिद्धान्तले समाजलाई नैतिकमूल्य र आचरणलेयुक्त बनाउनका लागि दृष्टिकोण प्रदान गरे । बुद्धका पञ्चशीलमा प्राणी हिंसालाई निषेध गरिएको छ, शान्तिपूर्ण सहअस्तित्वलाई विशेष आग्रह गरिएको छ तर के हामीले यो सिद्धान्तलाई देशमा लागू गर्न सक्यौँ ? विगतमा देशले हिंसाको परिवेशलाई स्वीकार गर्न बाध्य भयो । देशमा क्रान्तिका नाममा हिंसा प्राथमिक विषय बरिरह्यो, शान्ति र सहअस्तित्वको मार्ग छोडेर, हत्या र हिंसाको मार्गमा देश फसिरह्यो जसको परिणाम आज देशले भोगिरहेको छ । जहाँ चोरी नगर्नु भन्ने शीलको कुरा गर्दा बढ्दो भ्रष्टाचारको सीमालाई हामीले नियन्त्रण गर्न सकिरहेका छैनौँ । समाजमा बढिरहेका व्यभिचारका घटना, दूव्र्यसनी र रक्सीको नसाले ग्रस्त हाम्रो समाजलाई हेरिरहँदा के हामी बुद्ध यही देशमा जन्मिएका हुन् भनेर गर्वका साथ भन्न सक्दछौँ ? हाम्रो नैतिकता र इमानले किन हामीलाई उनले सिकाएका मार्ग र व्यवहारलाई अनुकरण गर्नका लागि गरिरहेको आग्रहलाई स्वीकार गर्न सकिरहेको छैन ? यसमा विचार गरौँ ।

बुद्धले मावन जीवनका चार आर्य सत्यको बारेमा बताए जसमा उनले भन्दछन् १) दुःखः अर्थात् संसारमा दुःख छ, २) समुदय ः दुःखको कारण छ, ३) निरोधः दुःखको निवारण छ, ४) मार्ग ः जीवनमा आइपर्ने दुःखको निवारणका लागि तत्कालीन सुखमा होइन दीर्घकालिन आनन्दमा केन्द्रित बन, त्यसका लागि योजना बनाउ, जीवनलाई समग्रतामा हेर, स्वयंको बारेमा मात्र होइन अगामी पुस्ताको बारेमा पनि सोच । दुःख निवारणका लागि अष्टाङ्गिक मार्गलाई स्वीकार गर । उनले दुःखसँगै दुःखको कारण र निवारण पनि बताएका छन्, दुःख निवारणका लागि विशेष गरेर अष्टाङ्गिक मार्गको पालनमा बुद्धले विशेष आग्रह गर्नुभएको छ ।

सम्यक दृष्टि ः चार आर्य सत्यमा विश्वास गर्नु, जुन आर्य सत्यको बारेमा माथि भनिएको छ ।
सम्यक संकल्प ः सदैव मानसिक एवं नैतिक विकासका लागि प्रतिज्ञा गर्नु, प्रतिबद्ध रहनु ।
सम्यक वाक ः जीवनमा कहिल्यै पनि हानिकारक कुरा र झुटो नबोल्नु ।
सम्यक कर्म ः जीवनमा कुनै पनि हानिकारक कर्म नगर्नु ।
सम्यक जीविका ः कुनै पनि स्पष्टतः या अस्पष्टतः हानिकारक व्यापार वा पेशा नगर्नु
सम्यक व्यायाम ः स्वयंमा सदैव सुधारको प्रयास गरिरहनु, निरन्तर अभ्यास गरिरहनु
सम्यक स्मृति ः स्पष्ट ज्ञानको माध्यमबाट देख्न सक्ने मानसिक योग्यता प्राप्त गर्ने प्रयास गर्नु ।
सम्यक समाधि ः जीवनमा निर्वाण अर्थात् मोक्ष प्राप्त गर्नु ।
बुद्धले सदैव जीवनमा आफ्नो आचरण र व्यवहारको शुद्धिका लागि आग्रह गर्नुभएको छ । समग्रमा व्यक्तिको चरित्र निर्माणको माध्यमबाट समग्र समाजको जागरण, शान्ति, समन्वय र दुःखको निवारणका लागि बुद्धले मार्ग प्रशस्त गर्नुभएको छ ।

बुद्धका यी विचारहरू वर्तमान समयमा विश्वपटलमा झन् सान्दिर्भक र अनुकरणीय बन्दै गइरहेको अवस्थामा नेपालमा बुद्धको वास्तविक ज्ञानको अभ्यास एवं अनुकरण कसरी हुन सक्दछ त्यसमा सबैको सामूहिक प्रयास आवश्यक छ । पञ्चशीलको अभ्यास, चार आर्य सत्यको स्वीकार्यता र त्यसको निवारणका लागि अष्टाङ्गिक मार्गको जीवनभर अभ्यासको वातावरण हाम्रो समाजमा कसरी हुन सक्छ त्यसमा सबैले चिन्तन गर्नु वर्तमान दायित्व हो । हामीले हाम्रा देशका महापुरुषका विचारलाई भुल्दै पाश्चात्य विचार र महापुरुषलाई आफ्ना आदर्श मान्ने प्रवृत्तिले देशको मौलिक विचारलाई मात्र ग्रन्थमा सिमित गर्ने अवस्थामा त पुगिरहेका छैनौँ ? विचार गर्नु पर्ने देखिन्छ ।

विश्वविद्यालयका पाठ्यक्रमा सेक्सिपयर, प्लेटो, शुकरात, असस्तु जस्ता व्यक्तिका साहित्यले स्थान पाइरहँदा गौतम बुद्धको विचार र दर्शनको अध्ययन र अभ्यासको आवश्यकता दिनप्रतिदिन खड्किइरहेको छ, यसको पूर्णताको लागि सबै जिम्मेवार बन्नु अनिवार्य छ । सात समुन्द्र पारिका महापुरुषलाई विश्वविद्यालयका भित्तामा झुण्ड्याइरहँदा र लाखौँ युवाका आदर्शका रूपमा परिभाषित गरिरहँदा गौतम बुद्धलाई आदर्श मानेर उनको मार्गमा हिँड्न सक्ने प्रेरणा वर्तमान युवापिँढिलाई हामीले दिनु पर्नेछ ।

विद्यालय तह तथा उच्च शिक्षामा बुद्धले दिएका जीवनका व्यावहारिक विषय सम्बन्धी उपदेशलाई पाठ्यक्रममा समावेश गरी पठनपाठनको वातावरण निर्माणमा हामी चिन्तनशील हुँदै अगाडि बढ्नु पर्नेछ । समय समयमा गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भनेर चिच्याइरहँदा उनका उपदेश र विचारलाई पनि समग्र नेपाली नागरिकले आफ्नो जीवनमा अभ्यास गर्न सकून् यो आत्मविश्वास र प्रेरणा सबैमा जागृत गर्नु पर्नेछ ।

समग्रमा शिक्षाप्रणालीमा बुद्धको विचार र संस्कार, ध्यान र ज्ञान मार्गको अभ्यास, राजनीतिमा भौतिक अपेक्षा र आकर्षण, सत्ता र शक्तिको त्याग र लोककल्याणको प्रवृत्तिको उदय, न्यायालय, प्रशासन, सुरक्षा, स्वास्थ्य आदि क्षेत्रमा परोपकार, सेवा, संवेदना र सर्व जन हिताय सर्व जन सुखायको व्यवहारको विकास आदि प्रासंगिक विचार र चिन्तनको अभ्यासमा सबै केन्द्रित हुनु पर्नेछ । यस्ता अनेकौँ विषयमा हामीले चिन्तन गरेर अगाडि बढ्नु पर्ने वर्तमान समयको आवश्यकता हो ।

हामीले विश्व कल्याणको सनातन विचार, महापुरुष, संस्कृति, सभ्यता र इतिहासलाई स्मरण गर्दै र पाठ सिक्दै, उनीहरूको मार्ग र विचारलाई आफ्नो जीवनको ध्येय बनाउँदै अगाडि बढ्न सक्यौँ, सोही अनुसारको हाम्रो, शिक्षा, समाज व्यवस्था निर्माण गर्न सक्यौँ भने मात्र वास्तविक रूपमा हामी बुद्ध, पृथ्वी, व्यास र जनकका सन्ततीको रूपमा चिनिन सक्दछौँ र विश्वले हामीलाई शान्ति भूमि र ज्ञानभूमिका रूपमा पुनः चिन्नेछ । त्यसैले हामी सबैले सम्यक् संकल्प गर्दै अगाडि बढौँ, बुद्धको विचार र आचरणलाई आत्मसात् गर्दै राष्ट्र कल्याण र विश्व शान्तिको मार्गमा अगाडि बढौँ । तब मात्र हामीले भन्दै गरेको, मान्दै गरेको र सुन्दै गरेको नेपाल बुद्धको देश हो भन्ने उक्ति सार्थक हुनेछ । देशका प्रत्येक नागरिकले बुद्धका ती उपदेश, पञ्चशील र अष्टाङ्गमार्गलाई अनुशरण गर्न सकून् । हाम्रो समाज जीवन, व्यवहार, शिक्षापद्धति, आहार विहार, आचरण, बोली आदि सबैमा बुद्धको विचार स्थापित हुन सकोस् । बुद्धको शान्ति, अहिंसा, मानव कल्याणको विषयले हाम्रो राष्ट्रमा पहिलो स्थान प्राप्त गर्न सकोस् ? बुद्ध यो देशका समग्र युवा तथा नागरिक, राजनीतिक नेतृत्व, प्रशासक आदिका लागि आदर्शका रूपमा स्थापित हुन सकून्, यो प्रेरणा भगवान् गौतमबुद्धबाट प्राप्त होस् । अस्तु ।

 

 

प्रतिक्रिया