३ आश्विन २०८१, बिहिबार | September 19, 2024

पत्याउनै नसकिने प्रचण्ड र उनका क्याबिनेटका मन्त्रीको सम्पत्ति विवरण


1.4k
Shares

काठमाडौं, ८ जेठ । सर्वत्र आलोचना भएपछि प्रधानमन्त्री प्रचण्डसहित मन्त्रिमण्डलमा सहभागी सबैजसोले सम्पत्ति विवरण बुझाएका छन् । प्रधानमन्त्रीको कार्यालयले उनीहरुको सम्पत्ति सार्वजनिक गरेको छ ८ जेठ २०८१ मा ।

सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री प्रचण्डले एभरेष्ट बैंकमा २५ लाख नगन मात्र रहेको उल्लेख गरेका छन् । उनको दिवंगत पत्नी सीता दाहालको नाममा चितवनको भरतपुरमा १५ कट्ठा जमिन रहेका देखाएका छन् । जसमध्ये १ कट्ठा अंशबाट प्राप्त भएको भनिएको छ । उनले पैतृक सम्पत्ति ५ तोला सुन पनि उल्लेख गरेका छन् ।

ललितपुरको खुमलटारमा प्रधानमन्त्री नहुँदा बस्दै आएका प्रचण्ड घरवारविहिन देखिएका छन् ।

उपप्रधानमन्त्री रघुविर महासेठको सम्पत्तिमा जनकपुरमा ३ कट्ठा जमिनमा बनेको साँढे २ तल्ला घर, ललितपुरको भैंसेपाटीमा झण्डै ३ रोपनी जग्गामा बनेको साँढे २ तल्ला घर छ जुन पत्नी जुली महतोको नाममा छ । जुलीकै नाममा धनुषामा ७ बिघा ३ कट्ठा, सिन्धुलीमा ४४ कट्ठा, ललितपुरमा १ रोपनी ७ आना जग्गा, जनकपुरमा झण्डै ४ कट्ठा र महासेठकै नाममा धनुषामा १ बिघा १५ कट्ठा जग्गा रहेको उल्लेख छ ।

महासेठसँग सवा दुई करोड नगद, ४३ तोला सुन, डेढ केजी चाँदी, ३ करोड ५५ लाख नगद बराबरको शेयरका अलावा पैतृक सम्पत्तिका रुपम ासबैला नगरपालिकामा जमिनहरु रहेको उल्लेख छ ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति विवरणमा १ लाख २२ हजार मात्र उल्लेख छ । अविवाहित रहेका श्रेष्ठको जीवनशैली विलासीपूर्ण छ । तर, उनको सम्पत्ति विवरण हेर्दा पत्याउन सकिने छैन ।
अर्का उपप्रधानमन्त्री रवि लामिछानेको काठमाडौंमा एउटा घर र भक्तपुरमा पैतृक १ रोपनी १ आना जग्गा देखाइएको छ । उनको बैंकमा जम्मा १ लाख १० हजार मौज्दात रहेको उल्लेख छ ।

लामिछानेकी पत्नी निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर उल्लेख छ । उनको डेढ करोड ऋण पनि देखाइएको छ । इभी कार पनि रविले सम्पत्तिमा देखाएका छन् । उनको पहिलो पत्नीतर्फका दुई सन्तान अमेरिकामा छन् र उनीहरुको सम्पत्ति विवरण केही उल्लेख छैन ।

अर्थमन्त्री वर्षमान पुनसँग रोल्पामा पैतृक जग्गाका अलावा बैंकमा झण्डै ३४ लाख नगद र कार रहेको उल्लेख छ ।

सञ्चारमन्त्री रेखा शर्माको किर्तिपुरमा ६ आना १ पैसा १ दाममा बनेको साँढे २ तोला घर उल्लेख छ । उनको साथमा ६ तोला सुन र २ तोला चाँदी छ । उनीसँग झण्डै २२ लाख बैंक मौज्दात रहेको उल्लेख छ । विभिन्न कम्पनीमा १५ सय कित्ता शेयर रहेको, एउटा कार पनि छ । उनले ६५ लाख ऋण लिएको देखाइएको छ ।

सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीको पैतृक सम्पत्ति र किर्तिपुरमा ५ आना २ पैसा जग्गा रहेको छ ।

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग ३५ लाख नगद, विभिन्न बैंकमा १६ लाख नगद र पैतृक सम्पत्ति उल्लेख छ ।

मन्त्री हितबहादुर तामाङसँग नुवाकोटमा पैतृक सम्पत्ति र विभिन बैंकहरुमा १४ लाख नगद रहेको उल्लेख छ ।

कृषिमन्त्री ज्वालाकुमारी साहसँग पुख्र्यौली जग्गा र १० तोला सुन रहेको उल्लेख छ ।

श्रममन्त्री डोलप्रसाद अर्याल पनि धनी देखिएका छन् । उनीसँग काठमाडौंमा घरजग्गा, काठमाडौं, धादिङ, लमजुङ र भक्तपुरमा धेरै ठाउँमा जग्गा रहेको उल्लेख छ । अर्याल र परिवारसँग २ करोडभन्दा बढी नगद रहेको देखाइएको छ । उनीसँग करोडभन्दा बढी मूल्यको शेयर पनि रहेको उल्लेख छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठसँग काभ्रेको रियालेमा साँढे ८ रोपनी जग्गा, ११ तोला सुन, १०० तोला चाँदी, १ सेट हिरा, १ सेट हिराको टप, विभिन्न बैंकमा ३ करोडभन्दा बढी रकम मौज्दात छ ।

मौज्दातमध्ये उनको परिवारका सदस्यको विदेशी बैंकमा १ लाख ८९ हजार डलर पनि छ । सुमनासँग विभिन्न वित्तिय संस्थामा उल्लेख्य मात्रामा शेयर पनि रहेको छ ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको सगोलमा काठमाडौंमा घर, सुन १५ तोला, चाँदी ५० तोला, बैंकहरुमा झण्डै एक करोड मौज्दात रहेको उल्लेख छ । उनको १ करोड रुपैयाँ भन्दा बढी मूल्यको शेयर देखाइएको छ । विराटसँग ३ लाखको ब्राण्डेड घडीहरु रहेको छ ।

महिला बालबालिकामन्त्री भगवती चौधरीसँग काठमाडौंमा १२ आना जग्गा, सुनसरी र दाङका विभिन्न स्थानमा जग्गा, ७५ तोला सुन, २५ केजी चाँदी, नगद १७ लाख र शेयर १८ लाख नगद बराबरको रहेको छ ।

रक्षामन्त्री हरिप्रसाद उप्रेतीसँग पुख्र्यौली जग्गा र २५ तोला सुन रहेको उल्लेख छ ।

खानेपानीमन्त्री राजेन्द्रकुमार राईसँग धनकुटामा जग्गा र सुनहरु रहेको उल्लेख छ ।

वनमन्त्री नवलकिशोर साहसँग पुख्र्यौली जग्गा प्रशस्त देखाइएको छ । उनी र परिवारसँग सर्यौ तोला सुन रहेको उल्लेख छ ।

मन्त्रीहरुको सम्पत्ति हेर्दा केहीको मात्र पत्याउन सकिने खालको छ । कतिपयले सम्पत्ति नै लुकाएको देखिन्छ । पत्याइनसक्नुको सम्पत्ति विवरणसँग उनीहरुको जीवनशैली मेल खाँदैन ।

प्रतिक्रिया