१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नक्कली लाइसेन्स प्रकरणको जालोको रहस्य खोतल्दा सीआइबीले पत्ता लगायो यी पात्र


830
Shares

काठमाडौं, ६ जेठ । नक्कली लाइसेन्स प्रकरणको जालोको रहस्य खोतल्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) सक्रिय रहेको छ । यातायात व्यवस्था विभागमा कार्यरत करारकी कम्प्युटर अपरेटर दीपा न्यौपानेलाई समातेपछि धेरै तथ्यहरु खुल्न थालेको छ । नक्कली लाइसेन्स जारी धन्दामा संलग्नता देखिएपछि उनलाई समातिएको सिआईबीले जनाएको छ ।

सिआईबी स्रोतका अनुसार नक्कली लाइसेन्स जारी धन्दामा संलग्न रहेको आरोपमा समातिएकी दीपा यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक डा। टोकराज पाण्डेकी भाञ्जी हुन् । सिआईबीले खोजेपछि मोबाइल फोन अफ गरेर बसेकी उनलाई झन्डै एक हप्तापछि समातेको स्रोतको भनाइ छ । दीपालाई लाइसेन्स प्रिन्ट गर्दा घुस लिने गरेको प्रमाणका आधारमा समातेको बुझिएको छ ।

हाल अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव टोकराज पाण्डेका भाइ नाता पर्ने बसन्त पाण्डेलाई नक्कली लाइसेन्स जारी धन्दामा सिआईबीले समातेको थियो । यातायात व्यवस्था विभागमा करारमा कार्यरत बसन्तलाई लाइसेन्स प्रिन्टमा बदमासी गरेको थाहा पाएपछि महानिर्देशक उद्धवप्रसाद रिजालले करार अवधि नथपी काममा आउन रोक लगाएका थिए । त्यसपछि पूर्वमहानिर्देशक टोकराजले ‘त्यो मेरो भाइ हो करार अवधि थपेर काममा लगाउनु भनेर’ निर्देशन दिएका थिए । बसन्तलाई कामबाट हटाएपछि रिजालविरुद्ध आक्रमण सुरु भएको बताइन्छ ।

बसन्तभन्दा अगाडि यातायात व्यवस्था कार्यालय बुटवलका करारका कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेलाई नक्कली लाइसेन्स जारी काण्डमा समातेको थियो । त्योभन्दा अगाडि यातायात व्यवस्था विभागमा करारका पूर्व कम्प्युटर इन्जिनियर हरिश भट्ट र यातायात व्यवस्था विभागबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, विभाग हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुगेका कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्याल नक्कली लाइसेन्स जारी काण्डमा समातिएका हुन् । उक्त काण्डका मुख्य नाइके लक्ष्मण पाण्डे भने फरार रहेको सिआईबी स्रोतले बतायो । यातायात व्यवस्था कार्यालय बुटवलका पूर्व कम्प्युटर अपरेटर लक्ष्मण पनि पूर्वमहानिर्देशक डा। टोकराजको भाइ नाता पर्ने सिआईबी स्रोतको दाबी छ । सिआईबीले नक्कली लाइसेन्स प्रकरणमा अनुसन्धान गर्नु अगाडि काठमाडौंमै खेलेमेलो मिलाउँदै आएका लक्ष्मण पाण्डे सिआईबीको अपरेशन सुरु भएलगत्तै फरार भएका छन् । उनी सिआईबीको ‘हिट लिस्ट’मा रहेको पाइन्छ । नक्कली लाइसेन्स धन्दा ‘सेटल’ गराउन सक्रिय लक्ष्मणलाई भगाउनेहरु अहिले आफैं भागाभाग छन् ।

यातायात व्यवस्था विभाग, बुटवलका कम्प्युटर अपरेटर ज्ञानराज पाण्डे पनि नक्कली लाइसेन्स प्रकरणमा मुछिएको खुल्न आएको छ । उनीसँगै तत्कालीन कार्यालय प्रमुख केशव अर्याल समेत शंकाको घेरामा छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको छानबिन सुरु गर्न लागेपछि उक्त गिरोहले अनुसन्धान प्रभावित पार्न कम्प्युटर इन्जिनियर अर्याललाई अख्तियार लगेको आरोप लागेको छ । तर, अख्तियारमा हाजिर भएको एक हप्ता पनि नभइ उनी सिआईबीको हिरासतमा पुगेका छन् । शशांक बस्याल नामका गाडीले हानेर मान्छे मार्ने थुनुवालाई नक्कली लाइसेन्स दिएको आरोपमा करिब ३ हप्तादेखि अख्तियारका कम्प्युटर इन्जिनियर अर्याल सिआईबी हिरासतमा रहेका हुन् ।

नक्कली लाइसेन्समा शंकाको घेरामा रहेका व्यक्तिहरु पछिल्लो समय संगठित हुन थालेका छन् । इम्बोस्ड नम्बर प्लेटको मूल्याङ्कन समितिमा रहेका प्रविधिक उपसचिव ९यातायातका तत्कालीन कम्प्युटर इन्जिनियर० राजकुमार महर्जनले अर्थको प्रशासन महाशाखा प्रमुख सहसचिव डा। टोकराज ‘मेरो साथी हो’ भन्दै फुई लगाउने गरेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका एक सहसचिव बताउँछन् । यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक गोगनबहादुर हमाल मेकानिकल इन्जिनियर हुँदा इम्बोस्डको मूल्याङ्कन समितिमा थिए । नक्कली लाइसेन्स जारी हुँदा यातायातको महानिर्देशक रहेका उनी इम्बोस्डको भुक्तानीमा समेत जोडिएका छन् ।

शाखा अधिकृत, उपसचिव हुँदै सहसचिवसम्म यातायातमा एकछत्र राज गरेका डा। टोकराजले यातायातमा आफूसँगै काम गरेका सूचना प्रविधि निर्देशक श्रीचन्द्र साहलाई अर्थ मन्त्रालय लगेका छन् । साह टोकराज कै ‘अण्डर’मा रहेर काम गरिरहेका छन् । महर्जन र साह पनि नक्कली लाइसेन्स प्रकरणको छानबिन घेरामा रहेका व्यक्तिहरु हुन् ।

प्रक्राउ परेका व्यक्तिहरु हेर्दा सिआईबीले यातायातमा डा। टोकराजको जालो तोड्दै गएको देखिन्छ । नक्कली लाइसेन्स प्रकरणलाई टुंगोमा पुऱ्याउने लक्ष्यका साथ अगाडि बढेका सिआईबीका प्रमुख श्यामलाल ज्ञवाली कहाँसम्म पुग्छन् हेर्न बाँकी छ । सिआईबीका अधिकारीहरु नक्कली लाइसेन्स छानबिन प्रकरणको सुईरो तत्कालीन महानिर्देशक तर्फ सोझिएको दाबी गर्छन् । अब एक एक गरी जालोको रहस्य खुलेपछि तरंग नै आएको छ । कतिपय आफू जोगिन भएभरको शक्ति प्रयोग गरिरहेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया