१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मातातीर्थ औंसीको महिमा


2.2k
Shares

आमा अर्थात माता । वैशाख कृष्णपक्षको औंसी आमाको मुख हेर्ने दिनअर्थात मातातीर्थ औंसी । हिन्दू धर्मशास्त्रहरुमा आमालाई सबैभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरिएका ग्रन्थहरु यथेष्ठ छन् । मातातीर्थ औंसीमा आमालाई मिठो खान तथा राम्रो लगाउन दिई सन्तानले सम्मान प्रकट गर्दछन् ।

छोराछोरीले आमाबाट शुभ आशिर्वाद ग्रहण गर्ने प्रचलन रहिआएको छ । आमाप्रति विशेष भक्ति भाव गर्ने दिन भएकाले पनि वैशाख कृष्णपक्षको औसींलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यस घडिलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भनिन्छ । आमा परलोक भइसकेकाले पनि यस यस दिन आमालाई सम्झने दिनको रुपमा मनाउँछन् । विदेशिएकाले पनि आमालाई भर्चुअल माध्यमले भएपनि सम्पर्क गरी सम्पर्क गर्छन् ।

आमालाई हरेक सन्तानले दुःख र सुख दुवैमा सम्झन्छन् । यदि कुनै व्यक्ति विपत्तिमा पयों या ठेस लाग्यो भने मात्र पनि आमा भनेर चिच्याउने गर्छ । यसकारण पनि हृदयदेखि आमाप्रति आशा र माया रहन्छ भन्ने देखिन्छ । सर्वप्रथम विहानै आमालाई उपहार प्रदानगर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरु मिठा परिकारहरु सहित आमालाई भेट्न माइती पुग्दछन् । पौराणीक कालदेखिनै आमाको मुख हेर्न प्रचलन छ ।

आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै श्राद्धतर्पण गरी मातृत्वको स्मरण गर्दछन् । आमालाई सम्झने विशेष तरिका र आफ्नै परम्परा पनि चलिआएको छ । काठमाडौं उपत्यकाका नेवार समुदायले भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्दछन् । मातातीर्थ औंसीका दिन हरेक वर्ष काठमाडौंको मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्दछ । मातातीर्थ कुण्डमा स्नान गर्दछन् ।

जनश्रुति अनुसार मातातीर्थमा गोठालाहरुले गाईवस्तुहरु चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अनाचक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरु अचम्मित भए । गोठालाले फेरि अरु रोटीका टुक्राहरु पनि फ्याँके । ती टुक्राहरु क्रमशः हराउँदै गए । त्यसपछि गोठालाहरु मध्ये एउटाको आमा थिइन् भने अरुका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन् । आमा नहुने गोठालाहरुले फ्याँकेका रोटीका टुक्रामात्रै हराए ।

बैशाख कृष्णपक्ष औंसीको दिन उक्त घटना भएको थियो । यो कुरा अरु गाउँलेहरुले पनि थाहा पाए । गाउँलेहरुले उक्त दिन मृत्यू भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदारहेछन् भन्ने विश्वास गरे । हरेक बर्ष उक्त औंसीका दिन मातातीर्थको चौरमा आमाको मृत्यू भइसकेकाहरुले विभिन्न मिष्ठान भोजन लगि चढाउन थाले । त्यस स्थानमा कुण्ड समेत बनाइयो र मातातीर्थका नामले प्रचलनमा ल्याइयो । आमाप्रतिको श्रद्धास्वरुप मातातीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरियो । यसकारण पनि उक्त स्थानको विशेष महत्व रहँदै आएको छ ।

आमाले नौ महिनासम्म गर्भमा राखेर जन्म दिइन् । आमाले स्तनपान गराएर हुकाईन् । आफ्ना सारा दुःख पीडा बिर्सेर सन्तानको लागि तपस्या नै गरिन् । सन्तान सुखमा आफ्नो सुख देखिन् । आमाले संस्कार सिकाइन् । आमाले माटोप्रतिको सम्मान सिकाइन् । आमा सबैका महान् हुन्छन् । चाहे दैत्यलाई जन्म दिउन् या देवतालाई । आमा त आमा नै हुन् । यस्ती महान आमाप्रति कोटी कोटी नमन ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया