११ जेष्ठ २०८१, शुक्रबार | May 24, 2024

विद्यार्थी आन्दोलनको आगामी दिशा


9.5k
Shares

रमेश कण्डेलः विद्यार्थी समूह आफैमा एउटा सोच, उर्जा र परिवर्तनको पक्षधर, संकल्पबद्ध शक्ति, जागरूक, जिज्ञासु, गलत प्रवृत्तिको विरूद्धमा सदैव तयार रहने समूह हो । विद्यार्थी शक्तिको सही पहिचान र उचित मार्गमा उपयोग हुन सक्यो भने समाज र राष्ट्रको रूपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । १६ र १७ औँ शताब्दीमा युरोपमा कैथोलिक चर्च सुधार आन्दोलन, बीसौँ शताब्दीमा भारतमा भएको स्वतन्त्रताको आन्दोलन, जेपी आन्दोलन, चीनको जापानी साम्राज्य विरूद्धको आन्दोलन, जापानको अमेरिकी साम्राज्यवाद विरूद्धको आन्दोलन, क्युवा, चेकोस्लोभाकिया र फ्रान्सको राजनैतिक परिवर्तनका आन्दोलन, उत्तर एवं दक्षिण कोरिया, श्रीलङ्का, बंगलादेश, क्यानडा आदि तमाम देशमा भएका राजनैतिक एवम् सामाजिक परिवर्तनका आन्दोलनमा विद्यार्थीले संगठित शक्तिको प्रतिमान स्थापित गरेका थिए ।

नेपालको सन्दर्भमा विद्यार्थी आन्दोलनले करिब ८ दशकको स्मरणीय र प्रेरणादायी इतिहास निर्माण गरेको छ । नेपाली राजनीतिका तत्कालीन व्यवस्था र परिस्थितिको अन्त्य र नवीन व्यवस्थाको निर्माणका लागि मुख्यरूपमा केन्द्रित नेपालको विद्यार्थी राजनीतिको भूमिका विगतमा उदाहरणीय र प्रशंसनीय रह्यो ।

राणाकालमा चलेको ‘जयतु संस्कृतम्’ आन्दोलन, २०३६, २०४६ पञ्चायत विरूद्धको आन्दोलन, २०६२ र ०६३ जनआन्दोलनसँगै राजनैतिक परिवर्तनमा विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो । विश्वविद्यालयको विद्यार्थी राजनीति र विद्यार्थी राजनीतिमार्फत् युवामा जागृत राजनैतिक चेतनाका कारण राजनीतिमा युवा सहभागिता र चासोले प्राथमिकता पाउँदै गयो । सामाजिक एवम् राजनैतिक परिवर्तनका मुद्दामा सम्पूर्ण विद्यार्थी शक्ति एकसाथ अगाडि बढ्यो, विद्यार्थी आन्दोलनको यो सुन्दर पक्ष थियो ।

विगत १ र २ दशकमा विद्यार्थी भूमिका र आन्दोलनको औचित्यता र आवश्यकतामाथि पटकपटक बहस् हुने गरेको छ । विद्यार्थी आन्दोलनको अबको दिशा के रु विद्यार्थी आन्दोलनका मुद्दा, आन्दोलनको शैली कस्तो हुनु पर्ने हो रु अपवाद बाहेक विगतमा राणा शासन, पञ्चायत व्यवस्था एवम् सत्ताको विरूद्धमा दलीय विचार र राजनीतिक परिवर्तनका वाहकको रूपमा विद्यार्थी आन्दोलन र संगठनहरू अगाडि बढिरहँदा प्रजातन्त्र, लोकतन्त्र आदि व्यवस्था प्राप्तिसँगै अब विद्यार्थी आन्दोलनको भूमिका के रु यो प्रश्नले जबाफ खोजिरहेको छ । सत्ता परिवर्तन र व्यवस्था विरूद्धको आसपासमा रूमलिएको विगतको विद्यार्थी आन्दोलनको आगामी भविष्य, भूमिका र आवश्यकताको बारेमा गम्भीर बहस् आवश्यकता छ । राजनीतिक दल र विचारबाट प्रेरित रहँदै सोही दल, विचार र दलका एजेण्डालाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको विद्यार्थी आन्दोलनको वर्तमान परिस्थिति र भूमिकाको समीक्षा अनिवार्य छ ।

अधिकांश विद्यार्थी आन्दोलनका नेतृत्वकर्ताको केन्द्रविन्दु राजनैतिक दल, दलीय पदाधिकारीको साथमा सामिप्य, पद, प्रतिष्ठा र सत्ताको मोह बढ्दै जाँदा विद्यार्थी आन्दोलन मात्र सत्ता प्राप्तिको मार्ग बन्दै गइरहेको छ जसको कारण विद्यार्थी गतिविधिहरू दलीय नियन्त्रण र निर्देशनमा अगाडि बढ्न बाध्य छन् । विगतका सबै आन्दोलनबाट प्राप्त उपलब्धी र युवा विद्यार्थीको अपेक्षा तथा आवश्यकता पूर्णताका लागि वर्तमान विद्यार्थी नेतृत्व मौन रहनु, निष्क्रिय रहनु र विगतको स्वर्णीम अभ्यासलाई भुल्दै दलीय पद, व्यक्तिगत प्रतिष्ठा, सत्ता केन्द्रित फाइदा र पद लोलुपतातर्फ विद्यार्थी नेतृत्व आकर्षित हुनुले समग्र विद्यार्थी आन्दोलनप्रति व्यङ्ग्य गरिरहेको छ ।

विद्यार्थी गतिविधिले विद्यार्थीलाई राजनीतिक चेतनासँगै देशको आर्थिक, प्रशासनिक, शैक्षिक, सामाजिक, सांस्कृतिक जागरणसँगै विकासका मुद्दाको बहस् तथा राष्ट्रहितका सम्पूर्ण विषयमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्दछ । समाजका सम्पूर्ण मुद्दामा विद्यार्थीको भूमिका वा दृष्टिकोणलाई स्पष्ट पार्ने कार्य हुनु पर्दछ । जसका कारण विश्वविद्यालय जीवनपश्चात्को सामाजिक जीवनमा विद्यार्थीले आफ्नो भूमिका र जिम्मेवारीलाई सोही दृष्टिकोणका आधारमा अगाडि बढाउन सक्ने सामर्थ्य राखोस्, जिम्मेवारी पुरा गरोस् । बिडम्बना १ पूर्णरूपमा त्यसो हुन सकिरहेको छैन ।

नेपालको समग्र शिक्षाको सुधार, विद्यार्थीका आवश्यकता र सिकाईका प्राथमिक विषयविन्दु, शैक्षिक प्रणालीको सुधार, शिक्षानीति, विश्वविद्यालयको वातावरणमा सुधार, प्रवेश, परीक्षा, पात्रो, परिणाम र परिसरजस्ता विषयको साथमा शिक्षाक्षेत्रमा रचनात्मक गतिविधि आयोजनाको माध्यमबाट विद्यार्थीमा राष्ट्रिय चरित्र र दृष्टिकोणको विकासमा विद्यार्थी आन्दोलन अगाडि बढ्नु पर्दछ । आजको विद्यार्थी भोलिको नागरिक भन्ने अपूर्ण उक्तिलाई बोकेर हिँडिरहँदा वर्तमानमा विद्यार्थीले निर्वाह गर्नुपर्ने भूमिका र जिम्मेवारी, सिक्नुपर्ने नैतिकता, आचरण र चरित्रका कुरा सिकाईको अभाव विद्यार्थी गतिविधिले पुरा गर्न सकिरहेको छैन । तसर्थ विद्यार्थी भोलिको होइन आजको नागरिक हो भन्ने जिम्मेवारीका साथ विद्यार्थी शक्तिलाई उचित दिशा प्रदान गर्न विद्यार्थी गतिविधि केन्द्रित रहनु पर्दछ ।

क्याम्पस विश्वविद्यालयमा ध्वंसात्मक प्रवृत्तिमा उद्दत दलीय विद्यार्थी संगठन, नेतृत्व र समूहले आफुलाई सच्याउँदै अगाडि बढ्नुको विकल्प हामीसमक्ष छैन । आफ्नै संगठन, संगठनको नियमित गतिविधि, नेतृत्व चयन, वैचारिक बहस् र नेतृत्व हस्तान्तरणको भूमरीमा फसिरहेका कतिपय विद्यार्थी संगठनहरूले आफुलाई जिम्मेवार र व्यवस्थित गर्दै अगाडि बढ्ने प्रयास गर्नु आवश्यक छ । दलीय भाग, दलीय माग, निश्चित गुट र विचारबाट प्रेरित पदाधिकारी व्यक्तिगत पद र प्रतिष्ठाको परिपूर्तिका लागि विद्यार्थी शक्ति केन्द्रित बनिरहँदा यो समूहले देश, देशको हित र स्वार्थलाई प्राथमिकतामा राखेर सोच्न सकिरहेको छैन । यसमा सबै सचेत र जिम्मेवार बन्नु आवश्यक छ ।

विद्यार्थी शक्ति अराजक, ध्वंसात्मक गतिविधि र मात्र दलीय स्वार्थ पूर्ति गर्ने माध्यम बनिरहँदा विद्यार्थी गतिविधिमाथि अविश्वास र शंकाको वातावरण निर्माण भइरहेको परिस्थिति हामीमाझ छ । अबको विद्यार्थी नेतृत्वले विगतको इतिहासलाई प्रशंसा गरेर मात्र वर्तमानको दायित्व र भविष्यको संकल्प पूर्ण हुन सक्दैन । तसर्थ अबको विद्यार्थी आन्दोलनले अराजकता होइन रचनात्मकतालाई स्वीकार गर्नु पर्दछ ।

दलीय भागबण्डा, हस्तक्षेप र प्रभावलाई होइन योग्यता, बौद्धिकता र प्रतिस्पर्धालाई प्राथमिकतामा राख्नु पर्दछ। क्याम्पस विश्वविद्यालयमा सत्ता र शक्तिको प्रदर्शनलाई होइन बौद्धिक एवम् वैचारिक बहसलाई आत्मसात् गर्नु आवश्यक छ । विद्यार्थी शक्तिलाई राष्ट्र शक्तिको रूपमा अगाडि बढाउन म, मेरो विचार, संगठन र दललाई होइन देशलाई प्राथमिकतामा राखेर कार्य गर्नेछु भन्ने भाव र दृष्टिकोणको विकास गर्नु गराउनु आवशयक छ ।

समाज परिवर्तन समयको आवश्यकता हो जसका लागि समग्र समाजमा सामाजिक जागरण र प्रबोधनसंगै संगठित भाव, सामूहिक प्रयास महत्वपूर्ण कार्य हो । विद्यार्थी शक्ति समाजको महत्वपूर्ण हिस्सा भएको कारण विद्यार्थी वर्गले यो कार्य गर्न सक्दछ । समाजमा यो विश्वासको वातावरण निर्माण गर्ने विद्यार्थी नेतृत्वको महत्वपूर्ण जिम्मेवारी हो । जसका लागि संस्कार र आचरणले युक्त नेतृत्व निर्माण हुनु पर्दछ । विद्यार्थी आन्दोलन स्वतन्त्र र वैचारिक बहसमा केन्द्रित हुन पर्दछ ।समाजमा नैतिकता र इमान्दारिताले युक्त विद्यार्थीवर्ग तयार होस् यसका लागि प्रयास गरिनु पर्दछ । तसर्थ सकारात्मक कामनाको साथमा राष्ट्र प्रथम भाव र संकल्पशक्तिले युक्त विचार, त्याग, संवेदना र समर्पण भावको साथमा सुन्दर र सार्थक भविष्यको कामना सहित अगाडि बढ्दै विद्यार्थी राजनीतिलाई देशको समग्र क्षेत्रमा आवश्यक असल, कुशल र योग्य नागरिक निर्माणको आधारस्तम्भको रूपमा खडा गर्नु आवश्यक छ ।

देशको मेरूदण्ड शिक्षाक्षेत्रको सुधारसँगै शिक्षामा देशको प्राथमिकता र आवश्यकताको बहस्, वैदेशिक लगानीको अन्त्य, वैदेशिक विश्वविद्यालयहरूको बढ्दो प्रभावको न्यूनीकरण, विद्यार्थीको विश्वविद्यालयमा बढिरहेको विकर्षण, प्रतिभा पलायन, निराशा, नकारात्मकता आदि तमाम समस्याको समाधानमा विद्यार्थी आन्दोलनले आगामी दिशा तय गर्नु आवश्यक छ । मातृभाषामा शिक्षाको अधिकार, निःशुल्क तथा जीवनोपयोगी शिक्षाको अधिकारको बहस्, शिक्षामा संस्कार र नैतिक मूल्यको बहसमा अबको विद्यार्थी शक्ति केन्द्रित हुनु आवश्यक छ । उच्च शिक्षालाई राष्ट्रानुकूल र अनुसन्धानमूलक बनाउँदै विद्यार्थीमा आत्मविश्वासको विकास गराउन सक्ने वातावरण निर्माणमा सबैले काम गर्नु पर्ने देखिन्छ । शिक्षाक्षेत्रका अनेकौँ समस्याहरूको समाधानका लागि शिक्षामा निष्पक्ष बहस्, रचनात्मक आन्दोलन र दबाब सिर्जनालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने दायित्व अबको विद्यार्थी आन्दोलनको हो । उद्यमशिलता र रोजगारीको सिर्जनासँगै समाज जीवनका लागि आवश्यक असल र कुशल जनशक्ति निर्माणमा विद्यार्थी आन्दोलनले भूमिका निर्वाह गर्नु पर्नेछ ।

सत्ताको स्वार्थ, दलको दबाब, नेतृत्वको निर्देशन, वादको बन्धक र पद प्राप्तिको संकुचित मानसिकताबाट मुक्त रहँदै विद्यार्थी वर्गलाई वैचारिक र विवेकशील बनाउँदै, विद्यार्थी शक्ति र सामर्थ्यलाई सेवा, समर्पण र समग्र विद्यार्थीको हित तथा रचनात्मक कार्यमा लगाउँदै विद्यार्थी आन्दोलनको भविष्यलाई सही दिशा प्रदान गर्नमा सबै केन्द्रित हुनु अनिवार्य छ ।

तसर्थ वर्तमान समयमा विद्यार्थी शक्ति स्वतन्त्र र निष्पक्ष रहँदै, राष्ट्रको वर्तमान प्राथमिकतालाई ध्यानमा राख्दै सकारात्मक परिवर्तनको आशा र अपेक्षाको रूपमा विद्यार्थी आन्दोलन अग्रसर हुनु वर्तमान दायित्व हो । विश्वविद्यालयदेखि देशको हरेक क्षेत्रमा बढ्दो भ्रष्टाचारको अन्त्य, सुशासन, सदाचार र समृद्धिको बहसमा अबको यात्रा सुनिश्चित गर्नु आवश्यक छ । प्रदूषणमुक्त पर्यावरण, दूर्व्यसनी एवम् महिला हिंसामुक्त समाज, सामाजिक कुरीति र विसंगतिमुक्त समाजको निर्माणसँगै आत्मविश्वास र आत्मगौरवको साथमा अगाडि बढ्ने सकारात्मक वातावरण निर्माणका लागि अबको विद्यार्थी वर्ग सक्रिय रहोस् भन्ने अपेक्षा देशको विद्यार्थी वर्गले गरिरहेको छ । समाज जागरणको स्थायी र प्रभावी कार्यमा निरन्तर अगाडि बढ्दै सदैव सामाजिक पहरेदारको भूमिकामा विद्यार्थी आन्दोलन केन्द्रित हुन सकेमा देशमा आत्मविश्वासको वातावरण निर्माण हुन सक्नेछ ।
विद्यार्थी दिवसको यो अवसरमा समग्र विद्यार्थी शक्तिमा राष्ट्रिय शक्ति बन्ने सोच, सामर्थ्य र दिशा प्राप्त होस्, हार्दिक मंगलमय शुभकामना ।

(लेखक प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका राष्ट्रिय सह-संगठन सचिव हुनुहुन्छ ।)

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया