३१ भाद्र २०८१, सोमबार | September 17, 2024

तानातानमा माधव नेपाल, कोटेश्वरमा नेताहरुको दौडधूप


1.7k
Shares

काठमाडौं, २३ फागुन । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भई घर बसिरहँदा नेपाली राजनीतिमा सत्ताको खेलले नयाँ मोड लियो । गठबन्धन भत्किएर नयाँ बन्यो ।

काँग्रेस प्रतिपक्ष बन्यो । प्रतिपक्षमा रहेको एमाले सत्तापक्ष बन्यो । प्रधानमन्त्रीमा प्रचण्ड रहे भने रवि लामिछानेको दल रास्वपा पनि सत्तामा आयो ।

संसदको जोडघटाउमा यतिबेला नेकपा एस महत्वपूर्ण शक्ति बनेको छ । एसले साथ नदिएमा प्रचण्डलाई बहुमत पुग्दैन । राप्रपा सत्ता बाहिर रहेकाले उसको साथ प्रचण्डलाई नमिल्न सक्छ ।

माधव नेपाल यतिबेला निर्णायक शक्ति बनेका छन् । १० सिटको नेकपा एसले ठूलै दाबी गर्न सक्ने परिस्थिति बनेको छ ।

माधव नेपाललाई फकाउन प्रचण्ड दुईपटक कोटेश्वर पुगेका छन् । उनी मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ लिएर गएका थिए । तर, नेपालले नयाँ गठबन्धनलाई साथ दिने नदिने खुलाएका छैनन् ।
माधव नेपाललाई सत्तामा जानबाट रोक्न काँग्रेस सभापति शेरबहादुर देउवाले सक्रियता बढाएका छन् । उनले बुधबार विहान नेपाललाई कोटेश्वर पुगेर भेटेका छन् ।

२७५ सदस्य संख्या रहेको प्रतिनिधि सभामा नेपाली काँग्रेसको ८८, नेकपा एमालेको ७७, नेकपा माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, स्वतन्त्र २, जनमत पार्टीको ६, लोसपाको ४, नागरिक उन्मुक्ति पार्टीको ४, आम जनता पार्टी, नेमकिपा र राजमोको १ १ सदस्य रहेका छन् । एक सदस्यमा सुभाषचन्द्र नेम्वाङको निधनले रिक्त छ ।

प्रचण्डलाई बहुमत लिन माओवादीसहित एमाले, रास्वपा र जसपाको सदस्य संख्या भए पुग्छ । तर, सत्ता राजनीतिमा कुनैपनि बेला जसपामा गडबड हुनसक्छ । यसकारण पनि उनी माधव नेपाललाई साथमै लिएर बढ्न चाहन्छन् । अर्कोतर्फ, रवि लामिछानेले पनि असन्तुष्टि जनाए माधव नेपालको साथ अनिवार्य रहन्छ । यसकारण पनि प्रचण्ड माधव नेपाललाई साथमा लिएर बढ्न खोजिरहेका छन् ।

वेटिङ प्रधानमन्त्री मानिएका माधव नेपाल पनि प्रचण्डसँग सन्तुष्ट छैनन् । काँग्रेससहितको सत्ता गठबन्धनबाट प्रचण्ड ब्याक हुनुको घाटा सबैभन्दा बढी माधव नेपाललाई छ । यसकारण पनि उनी प्रचण्डसँग सजिलै हात मिलाउने पक्षमा छैनन् ।

माधव नेपालमाथि दबाब बढाउन प्रचण्डले झलनाथ खनाललाई भेटेर राजनीतिक लेनदेन गर्न खोजिरहेका छन् । खनालले बुधबार पनि प्रचण्डलाई भेटेका छन् । शनिार पनि उनले प्रचण्डलाई भेटिसके । खनाल नयाँ गठबन्धनको पक्षमा उभिएका छन् । तर, माधव नेपाल सजिलै गठबन्धनमा सहभागी हुन तयार छैनन् ।

प्रतिक्रिया