२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

अब हिन्दुराष्ट्र भर्सेस धर्मनीरपेक्ष पक्षधरबीच सिधा टकराव


996
Shares

समाचार विश्लेषण । सत्ता राजनीतिले धेरैलाई अस्थिरतातर्फ देश गइरहेकोमा चिन्तित बनाएको छ । तर, यो घटना निकै प्राकृतिक र स्वाभाविक देखिएको छ । सैद्धान्तिक रुपमा जुन शक्ति जे उद्देश्य र सिद्धान्त बोकेर हिंडेका छन् ती विस्तारै ध्रुवीकृत भएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त आफू रहुञ्जेल उथलपुथल नै भइरहने बताइसकेका छन् । तर, त्यो उथलपुथल तबसम्म उनले ल्याउन सक्छन् जब जुन राजनीतिक शक्तिको जे विचार र उद्देश्य हो त्यही मार्गमा हिंड्दैनन् ।
नेपाली काँग्रेस जस्तोसुकै परिस्थितिमा पनि कम्युनिस्ट र जातिवादी समूहसँग मिलेर सत्ता राजनीतिको लहलहैमा लाग्नु अस्वाभाविक थियो । उसले माओवादी र जातिवादी दलहरुसँग घोषित अघोषित समिकरण गर्यो । तर, परिणाम उसको पक्षमा देखिएन ।

प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवालाई पटक पटक धक्का दिए । प्रचण्डलाई थाहा थियो कि काँग्रेस उनकै पथमा चलिरहेको छ ।

प्रचण्डले फेरि कम्युनिस्ट एकताको मुद्दा सारेका छन् । उनले केपी शर्मा ओलीसँग हात मिलाए फेरि । विगतमा पनि एमालेसँग मिलेर चुनाव लडेर सफलता हासिल गरेका थिए । अब फेरि मिसन ८४ मा उनको ध्येय त्यही देखिन्छ ।
काँग्रेस यतिबेला अलमलमा देखिएको छ । महासमिति बैठकमा काँग्रेसभित्रको हिन्दुराष्ट्रको मुद्दा स्पष्ट जाग्यो । तर, नेतृत्वले त्यसलाई सम्हाल्न नसक्ने ठान्यो ।

काँग्रेसका सामु अब चुनौती र अवसर दुवै आएको छ । कम्युनिस्टसँग मिल्ने कि लोकतान्त्रिक शक्तिबीच सैद्धान्तिक र वैचारिक सहमति खोजेर बढ्ने भन्ने रहेको छ ।

अझै पनि देशमा लोकतान्त्रिक शक्ति बलियो स्थितिमै छन् । उनीहरु एक हुन सकेका छैनन् ।

देशमा अब हिन्दुराष्ट्र पक्षधरको वाध्यात्मक एकताको परिस्थिति विकास भएको छ । काँग्रेस, राप्रपा र मधेश केन्द्रित कतिपय हिन्दुराष्ट्र पक्षधर शक्तिबीच एकता हुने देखिदै गएको छ । त्यो कठिन छ तर असम्भव छैन ।

धर्मनीरपेक्ष पक्षधर माओवादी, एमाले, रवि लामिछाने नेतृत्वको रास्वपा, जसपाको उपेन्द्र यादवको समूह स्पष्ट देखिएका छन् । धर्मनीरपेक्षविरुद्ध राप्रपा त उभिएकै छ । उसको पनि देशभर छरिएको शक्ति छ । काँग्रेसभित्र हिन्दुराष्ट्र पक्षधरको भारी बहुमत छ । काँग्रेसले यो एजेन्डा उठाएमा राप्रपासँग गठबन्धन बन्ने सम्भावना रहन्छ । जसपाको एउटा समूह, लोसपा पनि हिन्दुराष्ट्रको पक्षमा लचिलो छ ।

देशमा राजनीतिक घटनाक्रमले नयाँ ध्रुवीकरणको संकेत गर्दैछ । अब देशमा हिन्दुराष्ट्र भर्सेस धर्मनीरपेक्ष हुने परिस्थिति विकास हुँदैछ । त्यस्तो अवस्थामा काँग्रेसले लय मात्र समात्ने छैन वृहत लोकतान्त्रिक एकताले देशलाई सही गतिमा लानसक्ने परिणाम दिनसक्छ ।

प्रतिक्रिया