३१ भाद्र २०८१, सोमबार | September 17, 2024

संसदको तेस्रो शक्तिले देश हाँक्ने राजनीतिक प्रणाली


1.1k
Shares

काठमाडौं, २१ फागुन । माओवादी सशस्त्र गतिविधि राजनीतिक अस्थिरताकै समयमा सृजना भएको थियो । २०५१ सालको मध्यावधी चुनाव देशका लागि अर्को घातक कदम थियो जसले कसैलाई बहुमत दिएन र अस्थिरतालाई बढावा दियो । ठिक त्यसैबीच २०५२ साल फागुनमा सुरु भयो माओवादी सशस्त्र गतिविधि ।

नेपालको राजनीतिमा तरंग ल्याउने कदम छँदैथियो । यसले नेपाली राजनीतिलाई अस्थिरतातर्फ लान पनि भूमिका खेल्यो । १० वर्षे सशस्त्र गतिविधिपछि माओवादी शान्ति प्रक्रियामा त आयो तर त्यसपछिको निर्वाचन प्रणालीले अस्थिर राजनीतिलाई बढावा दियो ।

समानुपातिक निर्वाचन प्रणालीको नाममा कसैको पनि बहुमत नआउने परिस्थिति सृजना भयो । त्यसपछि भएको २०६४ यताको चारवटा निर्वाचनमा कसैको पनि बहुमत आएन ।

पहिलो र दोस्रो ठूलो दलले भन्दा तेस्रो हुने दल बढी हावी भयो । पहिलो संविधानसभाको चुनावपछि प्रचण्ड नेतृत्वको माओवादी सबैभन्दा ठूलो दल र काँग्रेस दोस्रो दल बनेको थियो । तर, त्यसबीच माओवादीका प्रचण्ड र बाबुराम भट्टराईका अलावा तेस्रो ठूलो दल एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री बनेका थिए ।

त्यसपछि तेस्रो ठूलो दल बन्दै आएको माओवादीले सरकारको नेतृत्व दुई पटक गरिकेको छ । प्रचण्ड त्यसपछि दुईपटक प्रधानमन्त्री भए । रोचक त यो छ कि सबैभन्दा ठूलो दल बन्दा एकपटक प्रधानमन्त्री बनेका प्रचण्ड तेस्रो बन्दा दुईपटक प्रधानमन्त्री भइसकेका छन् । उनी तेस्रो दल बनेरै अस्थिरताबीच सत्ताको सतरञ्ज खेलिरहेका छन् । बाजी प्रचण्डले मारिरहेका छन् ।

देशमा यो राजनीतिक प्रणाली अस्थिरताको मुख्य आधार हो भन्ने प्रमाणित भइसकेको छ । यो प्रणालीमा कसैको बहुमत आउँदैन र संसदमा पहिलो र दोस्रो ठूलो दल बलियो भएपनि सरकारको नेतृत्व गर्न सायदै पाउन सक्छन् ।
२०५१ सालपछिको अस्थिरतामा राप्रपाका नेताहरु सुर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्दले खुबै सत्ताको खेल खेले । दुवै पालैपालो प्रधानमन्त्री बने । यसको फाइदा विभिन्न शक्तिकेन्द्रले लिए । त्यो अस्थिरताले देशलाई निरंकुशतातर्फ पनि धकेल्यो ।

देशमा कमजोर दलको व्यक्ति प्रधानमन्त्री बन्दा फाइदा देशलाई होइन अन्य शक्तिलाई हुन्छ । उनीहरु आफू अनुकूलको निर्णय गराउन सफल हुन्छन् । विदेशी चलखेल बढ्छ यस्तो अस्थिरताबीच ।

अहिले प्रचण्ड प्रधानमन्त्री बन्ने विषय गौण हो तर ठूला दलले भन्दा अर्को दलले रजगज गर्नु शुभ संकेत होइन । यसले अर्को उथलपुथलको मार्ग प्रशस्त गर्दैछ ।

प्रचण्डले गठबन्धन बदलेकै दिन आफू रहुञ्जेल राजनीतिक उथलपुथल भइरहने बताएका छन् । उनले ठिक भनेका छन् कि अब हुने उथलपुथलको कारण उनी हुनसक्लान् तर नेतृत्वकर्ता उनी हुनेछैनन् ।

प्रतिक्रिया