३ आश्विन २०८१, बिहिबार | September 20, 2024

रवि लामिछानेको रास्वपा शहरमै खुम्चिदै


2k
Shares

काठमाडौं, २० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले २०७९ को चुनावमा अविश्सनीय सफलता हासिल गर्यो । उसले लामो इतिहास बोकेका दलहरुप्रतिको वितृष्णालाई आफ्नो सफलताको आधार बनाउन सक्यो । तर, रास्वपाले कुनै ठोस सैद्धान्तिक राजनीतिलाई स्थापित गर्ने आधार बनाउन सकेको छैन । न त उसले कुनै दुरदर्शी दृष्टिकोण नै देखाएर जनतामा आशा जगाउन सकेको छ ।

रास्वपामा सक्रिय नेताहरुको इतिहास हेर्दा देशको तल्लो तहलाई बुझेको भन्दा बाह्य जगत नै बुझेका बढी छन् । उनीहरुमध्ये कतिपय त लाभको क्षेत्रमा लागेकाहरु छन् ।

अध्यक्ष रवि लामिछाने लामो समय अमेरिका बसेर टेलिभिजनको पर्दामै बढी सिमित थिए । अर्का नेता स्वर्णिम वाग्ले लामो समय विदेश बसेर आएका हुन् । अनिल शाह पनि बैंकिङ क्षेत्रमै बढी रुमल्लिएका थिए ।

रास्वपाले संगठन विस्तारलाई पनि अभियान चलाएको छ । उसले शहरी क्षेत्रमा आफूलाई प्रभावशाली बनाएको छ । विशेषगरी काठमाडौं उपत्यका र चितवनमा रास्वपा मजबुत देखिन्छ । बुटवल, विराटनगर जस्ता ठाउँहरुमा पनि रास्वपाको प्रभाव केही देखिएको छ । तर, उच्च पहाडी र हिमाली भेगमा रास्वपाको लहरको असर परेको देखिदैन ।

ग्रामीण भेगहरुमा रास्वपा विस्तार हुन सकेको छैन । तराईका २० जिल्लामध्ये केहीबाहेकमा रास्वपा कमजोर छ । मधेश प्रदेश र सुदूरपश्चिममा त उसको स्थिति निकै कमजोर देखियो ।

बाराको उपनिर्वाचनमा रमेश खरेलको मतले पनि मधेश प्रदेशमा रास्वपाको प्रभाव कमजोर रहेको देखिन्छ । ती भेगमा रास्वपाको लहर छिर्न सकेन ।

रास्वपाको सक्रियता र प्रभाव हेर्दा भविष्यमा शहरी क्षेत्रमै खुम्चिने देखिएको छ । भारतमा आम आदमी पार्टी दिल्ली र आसपासका शहरी क्षेत्रमा नै खुम्चियो । रास्वपाको स्थिति नेपालमा पनि त्यस्तै हुने देखिएको छ ।

प्रतिक्रिया