धर्म बेचे स्वाधीनता बेचे अब के बेच्लान् ?
हेमशंकर गिरीः चैत्र १७ गते पत्रकार ऋषि धमलाको रिपोर्टर्स क्लब नेपालको २६ औं बार्षिकोत्सवमा सहभागी भई एभरेष्ट होटलबाट बाहिरिने क्रममा एकजना भद्रभलादमी जस्तो देखिने ब्यक्तिले मलाई बोलाउंदै तपाईं भुतपुर्ब सैनिक होईन भन्दै चिनजान गर्न आउनु भयो । वहाँ पेशाले प्राध्यापक र अमुक थिंगट्याङ्क सेन्टरमा आबद्ध हुनुहुंदो रहेछ । उहाँले मलाई भन्न थाल्नु भयो कि लौन तपाईं भुतपुर्ब सैनिक तथा प्रहरीहरु एकजुट भएर देश जोगाउनतिर लाग्नु पर्यो र यसमा ढिला भईसक्यो जवाफमा मैले वहाँलाई भने यो संभव देख्दिन किन कि कतपिय आफ्नो र छोराछोरीको भविष्य बनाउन तल्लिन छन,कतिपय बृद्धअबश्थामा छन,कतिपय,पेन्सनले जिविका नचलेर स्वदेश तथा बिदेशमा रोजगारी गर्न बाध्य छन,कतिपय राजनितिक दलहरुको शुभेच्छुक तथा भातृसंघ संगठनहरुमा आबद्ध छन त कतिपयमा राष्ट्रियता सम्बन्धि चेतना छैन र कतिपय उच्च तहकाहरुलाई आ आफ्नो संस्था मार्फत यो ब्यवस्थाका ड्राइभरहरुले मुख थुनिरहेको छ ।
हुन त वहाँले यो आशा एवं भरोषा गर्नु स्वभाबिक हो किन कि सबैभन्दा बढि देशको माया सेना र प्रहरीलाई नै हुन्छ नै अर्थात हुनुपर्छ नै । यहाँ त भुतपुर्व सेना प्रहरीको मात्र के कुरा गर्नु संसारका कुनैपनि मुलुकमा केबल शासन ब्यवस्था संचालन,आफ्नो जिउधनको सुरक्षा,अर्थ ब्यबस्था संचालन,बिकास र राज्यको सेवा प्रबाहको लागि मात्र नागरिकले कर तिरेर नीजामति कर्मचारी,सेना र प्रहरीहरु पालिएको हुंदैन । त्यस मुलुकको भौगोलिक सीमा,राष्ट्र,राष्ट्रियता,अखण्डता,स्वाधीनता र स्वतन्त्रताको रक्षा एवं सुरक्षार्थपनि पुर्ण भरोषा र बिश्वास गरिएको हुन्छ । तर हाम्रो मुलुकको सन्दर्भमा यस्तो भरोषा र बिश्वास टुटेको अबस्था छ किनभने यो सुन्दर स्वर्गभुमी नेपाल निर्माणको ऐतिहासिक महत्व,मातृभुमिको माटो र पुर्खाहरुको योगदान,बलिदान र गौरबगाता बिर्षेर जसले बिदेशी एजेण्डाको पछि लागेर राष्ट्रको अस्तित्व समाप्तीको बाटोमा लैजान बैदेशिक अबाञ्छित गतिबिधि भित्राउन र नेपाली राजकीय सत्ताको चाबी बिदेशीको पाउमा चडाउन बिदेशीभुमीमा बिदेशीले नै रचना गरेको दिल्लि १२ बुंदेमा हस्ताक्षर गर्न पुगे अझ भन्नुपर्दा नेपाली दाजुभाइ र नेपालको भौतिक संरचनामाथि आक्रमण गर्न बिदेशीकै सरकारी क्याम्पहरुमा गोला बारुद,हतियार,राशनपानी र तालिम समेत प्राप्त गरे । यति कुरा थाहा हुंदा हुंदैपनि देश र जनताले भरोषा गरेको सैनिक संस्था तथा प्रहरीमा कार्यरत केही उच्च तहका पदाधिकारीहरुले भित्रभित्र सहयोग पुराएको कुरा शान्ती प्रकृयापछि बाहिर आउनु गम्भीर बिषय हो त्यसले हाम्रो देशमापनि कम्बोडियामा जस्तै लोननोलहरुको जन्म भएको आभाश मिलेको थियो । त्यही १२ बुंदेको जगमा टेकेर २०६२र६३ को प्रायोजित जनआन्दोलनलाई मुलुकका राष्ट्रसेवक नीजामतिहरुले साथ दिदै भाग लिनुपनि ठुलो बिडम्बना थियो ।
हरेक राष्ट्रका स्वाभिमानी र देशप्रेमी राष्ट्रसेवकको लागि ब्यक्तिगत फाइदा,पद,पैसा र सुबिधाभन्दा मातृभुमीको माटो प्यारो हुन्छ तर दुर्भाग्य हाम्रो देशका राष्ट्रसेवकहरुमा त्यो चेतना र भावनाको बिकास हुन सकेन । देशघातीहरुको तस्बीर आफ्नो कार्यकक्षमा झुण्ड्याउनेहरुले आफ्नो राष्ट्रनिर्माता तथा राष्ट्र निर्माणको क्रममा बीरगति प्राप्त गरेका बीर सहिदहरुको तस्बीर भने राख्न सकेनन राख्ने मन गरेनन । बिदेशी अभिष्ट पुरा गर्न ल्याईएको ब्यवस्थापछि पनि तिनै राष्ट्रघातीहरुलाई देश र जनता लुटाउन र भ्रष्टाचार गरि अकुत सम्पति कमाएर बिदेशमा पुराउने काममापनि यिनै राष्ट्रसेवकहरुबाट सघाउने काम भयो र आफुले पाउनु पर्ने न्याय आफैले मार्दै भ्रष्टाचार गर्न आदेश दिने तथा तोक लगाउनेहरुमाथि कानुन नलाग्ने तर त्यही आदेश कार्यान्वयन गर्ने कर्मचारीहरु निरीह बन्दै दण्ड संजाय भोग्न तयार भए । आज यो मुलुकको राष्ट्रिय अस्तित्वमा खिया लाग्दै गएकोछ हाम्रो भन्ने सबै चिज गुम्दैछ ।
अर्कोतिर जस जसले नेपाली जनतालाई काबुमा राख्दै आफ्नो राष्ट्रको राष्ट्रिय अस्तित्व नै अस्वीकार गर्नेगरी भाष्य निर्माण गरेर आदिम युगदेखि मर्दाको मलामी जिउंदाको जन्ति एउटै घाम र पानीबाट सेकिएर रुझेर बिबिधताभित्र एकता भई मिलेर बसेको नेपालीलाई फुटाई मुलुक बिखण्डनको अबस्थामा पुराए,आफ्नै राष्ट्रको सबैखाले चिनारी,राष्ट्रिय धरोहर,सभ्यता, तथा धर्म संस्कृतिमाथि सौदाबाजी गरे,मुलुकको स्वतन्त्रता,सार्बभौमिकता र स्वाधीनता बिदेशीलाई बेचे,जनता मारे,मुलुकलाई सम्पुर्ण उपभोग्य बस्तुहरुमा पुर्णरुपमा परनिर्भर बनाउन दशकौं अगाडिदेखि षडयन्त्र गरे,जनतालाई महंगीको मारमा पारे जनता चुसेर ब्यापक भ्रष्टाचार गरे उसैलाई हाम्रो देशको सेना र प्रहरीहरुले कडा सुरक्षा प्रबन्ध गर्ने,लावालस्कर लागेर सलामी दिने,अझ उनिहरुका श्रीमती मर्दा समेत सलामी दिने तर मरिचमानसिंह जस्तो देशभक्त पुर्ब प्रम मर्दा सलामी नदिने काम भयो र भईरहेको छ त्यतिले नपुगेर त्यस्ता राष्ट्रघातीहरु सवार गाडीमा सुरक्षाको लागि संगै सवार सुरक्षाकर्मीहरुले ढोका समेत खोलीदिने,लगाईदिने र ओर्लंदा तथा चड्दा प्रत्येक पटक सलाम गरेको देख्दा म भुपु सैनिकलाई लाज लाग्छ १ अझै त्यतिलेपनि नपुगेर तस्बिर समेत राख्ने काम गरिरहेका छन १ यस्तो सेना तथा प्रहरी संसारको कुन कुन राष्ट्रमा होलान ? यसो भनिरहंदा जनताले निर्बाचित गराएर कुर्सीमा बसाली दिएपछि संविधान र कानुन अनुसार स्वीकार्नै पर्छ भन्ने कुरापनि आउला तर यो संविधान र कानुन कसले अनि किन बनायो ? यो ब्यवस्था र संविधान बचाउंदा मातृभुमिको माटो बांच्छ कि बांच्दैन ? यो राष्ट्रको ईतिहास बांच्छ कि बांच्दैन त्योपनि ख्याल गर्नुपर्ने हो साथै अन्य राष्ट्रहरुको उदाहरणहरुपनि हेर्नु पर्ने हो ?
–सामाजिक अभियन्ता एवं पुर्ब सैनिक