११ पुस २०८१, बिहिबार | December 27, 2024

अछामको होरी


581
Shares
केवलानन्द: होलीपर्व साधारणतया पहाडी क्षेत्रमा फागुपूर्णिमाको दिन र त्यसको भोलिपल्ट तराईमा एकदिन एक आपसमा होलीको रङ्ग खेलेर हर्षोल्लासका साथ मनाइन्छ ।
सुदुरपश्चिम नेपालमा भने होली पर्व विशेष महत्वको साथ फाल्गुन महिनाको शिव औँसीका दिन देखि अछामको श्रीवैद्यनाथ शिवका मठबाट सुरूगरी धेरै दिनसम्म मनाउनेकुरा हामी सबैलाई अवगतनै छ । सुदुरपश्चिममा होली पर्वको बेलामा अध्ययन जागीरे वा अन्य काम विशेषले घरदेखी टाढा टाढा गएकाहरू पनि पर्व मनाउन घर घरमा फर्कन्छन् । होलीको दिनमा गाउँ भरीका सबै जम्मा भएर, सामूहिक रूपमा एकबद्धभई सबैको पायक पर्ने स्थान अथवा इष्टकुलदेवताको मन्दिरको प्राङ्गणमा गएर सेतो पगरी पहिरनमा सिङ्गारीएर बाजा बजाउँदै मान्यजनहरू सँग आशिष् लिने आशिष् दिने गर्दै देउडा खेलेर रमाइलो गर्दै होली रङ्ग खेलेर मनाइन्छ ।
महात्मा केवलानन्द ज्यू ले वि.सं. १९८८ सालमा अछाममा सङ्ग्रह गरेका परम्परागत स्वस्थानीय शैवी होरी (होली, होलक, होलाष्ठक, फागु) पर्वका गुणानुसारी नामका १६ छन्दमा साधारण पाठ र होरीगायनका पाण्डुलिपि तयार पार्नुभएको रहेछ । उक्त पाण्डुलिपि अछाम दर्नादरवारमा सुरक्षित रहेकाले दर्नाली राजा श्री देवेन्द्रवहादुरसाहका सौजन्यबाट यो प्रतिलिपि प्राप्त भएर ‘अछामको होरी’ नाममा वि.सं. २०२१ सालमा पुस्तकको रूपमा प्रकाश भएको छ । यस पुसतकले पश्चिम नेपालको होरीका गीतहरू मार्फत यहाँका रीति थिती संस्कार परम्मपराको उच्च चेतना रहेको संज्ञान सबैलाई दिन्छ ।
यस पुस्तको भूमिकामा योगी नरहरी नाथ लेख्नुहुन्छ, “‘…यस पुस्तकको मूल पाण्डुलिपि अछाम दर्नादरवारमा सुरक्षित छ र दर्नाली राजा श्री देवेन्द्रवहादुरसाहका सौजन्यबाट यो प्रतिलिपि प्राप्तभो । प्रति लिपिमा केही भाषान्तरादि पर्न गयेको छ । द्वितीय संस्करणमा मूल पाठ सचित्र दिने विचार छ । त्यस पुस्तकमा अरु इतिहास पनि छ । यस्तै अछामको न्याउल्या साहित्य पनि घतलाग्दो छ, जो यसैका पुछलागी आउँदै छ । यस्ता लोकसाहित्य र लोकभाषा बाट राष्ट्रभाषाको व्याकरण तथा काव्यभण्डार भरिन्छ । भ्रान्तिको भूत भाग्या कूप मण्डूकता हट्छ । साहित्य सङ्गीतकला कोष प्रभृति विभागलाई महान् सहयोग दिन्छ । यस्ताखालका शुभकर्ममा कला नाट्य रेडियो सम्बद्ध विभागका कर्णधारहरुले पनि ध्यान दिनु वाञ्छनीय छ ।
यो अछामको होरी काशीमा नवगठित उदारउद्देश्य आर्यवीर- संघकलाकारसमितिको प्रथम प्रकाशन हो । यस पुष्पमा आर्यवीरसंघका- कर्मठ कार्यकर्ता श्रीरामनारायणसिंह गौतम, श्रीगजेन्द्रवहादुर शाह, श्रीमदनराज रेग्मीहरुको विशेष सहयोग छ । आर्यवीरसंघग्रन्थमालाका यो पहिलो पुष्प विश्वव्यापक उदारचेता कलामर्मज्ञ आर्यहरुका हातमा हालेर सौहार्द प्रकट गर्दै आर्यवीरसंघ माया न मार्नु होला भनेर भविष्यको सान्निध्य माग गर्दछ ।” -योगी नरहरिनाथः

प्रतिक्रिया