२३ भाद्र २०८१, आइतबार | September 8, 2024

सुन तस्करीमा मुछेर प्रहार गर्न खोजिएको भन्दै सर्वेन्द्र खनालले दिए कडा चुनौती


830
Shares

काठमाडौं, २ चैत्र । नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द खनालले सुन तस्करी छानविनको प्रतिवेदन सार्वजनिक गरेर दोषीमाथि कारबाही गर्न चुनौती दिएका छन् । उनले तस्करहरुलाई समातेर बाटोमा लतार्न चुनौती दिदै आफूलाई योजनावद्ध तरिकाले मुछ्नेहरुलाई प्रमाणत गर्न चुनौती दिए ।

खनालले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी भ्रम फैलाउनेहरु योजनावद्ध प्रहारमा लागेको बताए । आफू प्रहरी सेवामा रहँदा होस् या बाहिर सधै कर्तव्यतिष्ठ भएर काम गरेकोले गलत व्यक्तिहरु प्रहारमा लागेको बताए ।
खनालले सधै देश र जनताप्रति बफादार रही विकृति र विसंगतिविरुद्ध लडिरहने बताएका छन् । आफू सधै अन्याय र अत्याचारविरुद्ध लड्दा पटक पटक प्रहार भएको समेत स्मरण गराए । पछिल्लो समय आफूलाई सुन तस्करीको मामलामा जोडेर भ्रम फैलाउन खोजिएको भन्दै त्यसलाई चिरेर अगाडि बढ्ने समेत बताए । आफूले देश र विदेशका तस्कर र अपराधीलाई कारबाही गरेको स्मरण गराउँदै संगठन बाहिर रहँदा समेत अन्याय र अत्याचारविरुद्ध लागिरहने बताए ।

खनालले चाँडै अझ कडा रुपमा प्रस्तुत हुने समेत बताए । कुनैपनि प्रकारको प्रहारबाट कतिपनि विचलित नहुने भन्दै सत्य, निष्ठापूर्वक देश र जनताको हितमा कटिवद्ध भएर लागिरहने दृढता व्यक्त गरे ।

सुन तस्करीमा मुछिएकासँग आफूलाई जोड्नुलाई हाँस्यापद र कलोकल्पित भन्दै छानविन प्रतिवेदन सार्वजनिक नहुँदै योजनावद्ध तरिकाले आफूलाई मुछिएकोमा आपत्ति व्यक्त गरे । उनले भ्रामक र कपोकल्पित सूचना फैलाउनेहरुको विश्वसनीयता गुम्दै गएको समेत बताए । आफू सधै प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको समेत बताए ।

विगतमा आफूलाई सांसद अपहरणमा मुछेर बद्नाम गर्न खोजिएपनि वास्तविकता उजागर भइसकेको बताए । उनले भने,‘बर्दिवासबाट सांसद अपहरण भयो भनेर कुरा आयो । अपहरित हुने मान्छे यहाँ मन्त्री बन्छ र ? त्यतिबेला अपहरण भएको भनिएका सुरेन्द्र यादव मन्त्री बनाइएका थिए । यादव खुशीको साथ आएको र पछि अपहरणको नाटक गरेको समेत बताए । त्यतिवेला झुठा उजुरी भनेर दर्ता पनि नभएको बताए । उनले भने, बाबुराम भट्टराईहरु निवेदन लिएर ठाउँ ठाउँमा चाहार्नुभयो । अपहरणमा संलग्न भएको भनेर फोटोसहित राखे । सिसिटिभी फुटेज सबै छ । होईन भनेर मैले सार्वजनिक रुपमा राखेको छु । सरकारी वकिलको कार्यालयले पनि अपहरण भनेन । मैले यो कुरा पनि बुझेको छैन् ।’

आफू छोरीहरुको अध्ययनका लागि अमेरिका पुग्दा भागेको भन्दै भ्रम फैलाइएको समेत बताए । उनले भने, ‘सर्वेन्द्र खनाल भाग्दैन ढुक्क हुनुहोस्, यो देशका अत्याचारीविरुद्ध लडिरहन्छ । डाका, तस्कार, फटाहा, चोर अपराधीलाई ठाउँको ठाउँ कारबाही गरेको सर्वेन्द्र यो देश छोडेर भाग्छ ?’

उनले आफू आईजिपी हुँदा तस्करी नियन्त्रण गरेको भनेर पुरस्कृत भएको पनि स्मरण गराए । उनले भने,‘तस्करी नियन्त्रण गरेको भनेर म पुरस्कृति भएको छु । कोही कसैसँग चिया खाएको छैन् । केही लिएको छैन् । अनि मलाई तस्करसँग जोडाउन किन लालायित हुन्छ ?’

 

प्रतिक्रिया